ad ad

कारोबार


किन दशकपिच्छे फेरिरहनु पर्छ गहुँको बीउ?

किन दशकपिच्छे फेरिरहनु पर्छ गहुँको बीउ?

प्रकाश न्यौपाने
कात्तिक ७, २०७७ शुक्रबार १४:५७,

राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवाले ४६ वर्षदेखि गहुँको जातीय विकास, गहुँसँग सम्बन्धित प्रविधिको विकास, गहुँको स्रोत तथा बीउको विकासमा अनुसन्धान गर्दै आएको छ।

यो अवधिमा ४७ जातका गहुँ अनुसन्धान भइसकेको छ। तर, गहुँमा लाग्ने किरा र रोगले भने अनुसन्धान पछि नयाँ विकास गरिएको जात बढीमा एकदशक भन्दा लामो समय नटिक्ने गरेको पाइएको छ।

त्रिवेणी, भाष्कर, लुम्बिनी, सिद्धार्थलगायत गहुँको नयाँ जात विकास पछि किसानले प्रयोग गरे। यो जातको गहुँको उत्पादन र उत्पादकत्व पनि राम्रो भयो। तर १० वर्षमै यी जातको गहुँ विस्थापित गरियो। राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवाले ४६ वर्षमा ४४ जातको गहुँको बीउ अनुसन्धान गरि प्रयोगमा ल्याइसकेको छ।

पछिल्लोपल्ट आर्थिक वर्ष २०७६/०७७ मा तराई क्षेत्रमा प्रयोगका लागि ‘एनएल १३०७’, ‘एनएल १३२७’ र ‘एनएल १३६९’ गरी नयाँ तीन जातको गहुँ अनुसन्धान गरी कार्यन्वयनका लागि कृषि मन्त्रालयमा सिफारिस गरिएको छ।

कृषि बैज्ञानिकहरुका अनुसार गहुँको नयाँ जात ८-१० वर्ष भन्दा लामो समय प्रयोगमा ल्याइए यसले उत्पादन र उत्पादकत्व बढाउन सकिँदैन। त्यसैले नयाँ जातको विकास गरिरहनुपर्छ।

‘निश्चित अवधिपछि गहुँमा रोग र किराको प्रकोप बढ्छ। यसलाई रोक्ने उपया भनेकै नयाँ जातीय विकास नै हो’, राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवाका संयोजक बरिष्ठ बैज्ञानिक रोशन बस्नेतले भने, ‘त्यसैले हामीले हरेक दशकमा रोग, किरा कम लाग्ने नयाँनयाँ जातको विकास गर्छौं, पुरानोलाई विस्थापित गर्दै जान्छौं।’

krishi_news_pic_1_1.jpg

नेपालमा गहुँको जातको विकास गर्दा अन्तर्राष्ट्रिय संस्थाहरुबाट ल्याएर परीक्षण पश्चात् हावापानी सुहाउँदो जातको छनोट गरिन्छ। यस्तै, विभिन्न गहुँको जातको क्रसबाट नयाँ र उपर्युक्त जातको विकास तथा अनुसन्धान हुँदै आएको छ।

गहुँको जात विकास गर्दा पूर्व–पश्चिमसम्म रहेका नार्कका स्टेसनहरुमा जाँचसमेत गरिन्छ। कतिपय किसानलाई खेती गर्न लगाएर उत्पादन र उत्पादकत्वसमेत परीक्षण गरिँदै आएको राष्ट्रिय गहुँबालीका बरिष्ठ वैज्ञानिक बाली प्रजनक दीपक पाण्डेले जानकारी दिए।

‘हामीले जातीय विकासका लागि धेरै शुद्धिकरण गर्छौ। विभिन्न चरणमा छनौट गर्दै गएपछि बल्ल नयाँ जात विकास हुने हो’, उनले भने।

नेपालमा करिब २० वटा अनुसन्धान कार्यालयले गहुँको मूल बीउ उत्पादन गर्दै आएका छन्। गहुँको जात विकास गर्दा उत्पादन र उत्पादकत्व बृद्धि हुनसक्ने एवं जिंक तथा आइरन बढी भएका जातहरु अनुसन्धान र उन्मोचनका लागि सिफारिस गर्ने गरिन्छ। तर गहुँमा लाग्ने रोग र पछिल्लो समय किराको प्रकोपले पनि गहुँबाली नष्ट गर्दै आएको छ।

राष्ट्रिय गहुँबालीकी किट विज्ञ विनिता शर्माले खासगरी पछिल्लो समय गहुँमा पहेंलो र खैरो सिन्दुरे, डढुवा जस्ता रोग र लाइ, सलह, गवाँरो, फौजी, धमिरा जस्ता किराहरुको प्रकोप बढीरहेको बताइन्। यसले गहुँबालीमा ठूलो क्षति हुने गरेको छ।

‘उनी भन्छिन्, ‘सुधारिएको जातहरु लगाउने, खेतबारी वरीपरी सरसफाइ गर्ने, मलजलको सही व्यवस्थापन गर्ने, बाली चक्रलाई ध्यान दिने, माटोलाई असर नगर्ने गरी सामान्य विषादी प्रयोग गर्ने र बेलाबखत प्राङ्गारिक मलको पनि राख्नुपर्छ। यसो गरिएमा धेरै हदसम्म रोग, किराबाट बचाउन सकिन्छ।’

कार्यालयकाअनुसार तराईमा १८, पहाडमा १२ र उच्च पहाडमा २ जातको गहुँको खेती हुन्छ। १२ जातको गहुँमा रोग र किराकोे प्रकोप तथा उत्पादन र उत्पादकत्व समेत राम्रो नभएका कारण विस्थापित गरिएको छ भने अहिले अनुसन्धान गरिएका तीन जात कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ। नेपालमा सन् १९६० बाट गहुँको जातीय विकाससम्बन्धी अनुसन्धान सुरु भएको थियो।

भौगोलिक हिसावले खेती गर्न तराईका लागि एनएल ९७१, बाणगंगा, बीएल ४३४१, भृकुटी, गौतम जातको गहुँ उत्तम मानिन्छ। यस्तै, पहाडका लागि स्वर्गद्वारी, धवलागिरी, डब्लुके १२०४ लोकप्रिय जात हुन् भने उच्च पहाडमा डाँफे, पासाङ ल्यामु लगायतको जात उत्तम मानिन्छ।

नेपालमा ९५ प्रतिशत भन्दा बढी किसानले स्वदेशमै उत्पादित विभिन्न जातको गहुँको बीउ प्रयोग गर्ने गर्छन् भने मुलुकभर ७ लाख ६ हजार ८४३ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ। उत्पादनका हिसाबले धान र मकै पछि गहुँ तेस्रो बाली हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .