विज्ञापनरहित टेलिभिजन कार्यक्रम (क्लिनफिड) लागू हुन दुई दिनमात्र बाँकी छ।
कात्तिक ८ देखि विज्ञापनरहित कार्यक्रम देखाउनुपर्ने कानुनी बाध्यता रहेको अवस्थामा अधिकांश च्यानलका क्लिनफिड कार्यक्रम देखाउन आवश्यक पर्ने ‘सपोर्टिभ बक्स’ आउन बाँकी नै छन्।
कति च्यानलले पठाउन नै बाँकी छन् भने कतिपयका बक्स सरकारी स्वीकृति बाँकी रहँदा अड्किएर बसेको व्यवसायीको भनाइ छ।
क्लिनफिड कार्यक्रम सञ्चालन गर्न सम्बन्धित च्यानलले नेपालको वितरक कम्पनीलाई क्लिनफिड बक्स पठाउनुपर्ने हुन्छ। केही च्यानलहरुले त्यस्ता बक्स पठाइसकेका भए पनि अधिकांशको आउन बाँकी रहेको सम्बन्धित व्यवसायी बताउँछन्।
‘अधिकांश विदेशी च्यानलका क्लिनफिड बक्स आउन बाँकी छन्’, नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्माले भने, ‘अहिलेसम्म केही च्यानलले मात्र बक्स पठाएका छन्।’
अहिलेसम्म सोनी टेलिभिजनअन्तर्गतका सबै च्यानलका क्लिनफिड बक्स आइसकेका छन्। त्यस्तैगरी, डिस्कभरी, एनिमल प्लानेटजस्ता च्यानहरुका बक्स पनि आइसकेको शर्माले बताए।
नेपालमा आधिकारिक बिक्रेता भएका च्यानलहरुमध्ये केहीले पठाइसकेका छन्। त्यसबाहेक अन्य च्यानलहरुका बक्स कतिपय भन्सारमा रोकिएका छन् भने कतिले पठाउनै बाँकी रहेका्े उनको भनाइ छ।
नेपालमा सबैभन्दा धेरै च्यानलहरु प्रसारण हुने स्टार टेलिभिजनका बक्सहरु आउन बाँकी नै छन्। स्टारको नेपालमा आधिकारिक वितरक छैन।
‘स्टार टेलिभिजन नेपालमा देखाइने विदेशी च्यानलहरुमध्ये अग्रस्थानमा पर्छ’, शर्माले भने, ‘उसका क्लिनफिड बक्स नै आउन बाँकी छन्।’
विदेशी च्यानलका क्लिनफिड बक्स नेपालमा ल्याउन सञ्चार मन्त्रालय र वाणिज्यबाट स्वीकृति लिनुपर्ने हुन्छ। ती बक्स ल्याउन स्वीकृतिको लागि पठाइएका धेरै फाइलहरु वाणिज्यमा रोकिएको शर्माले बताए।
‘यही परिस्थिति रहेका कात्तिक ८ गतेका दिन ८० प्रतिशत च्यानल चल्दैनन्’, शर्माले भने।
सबैभन्दा ठूलो समस्या भारतीय न्युज च्यानललाई हुनेछ। आजतक, जिन्युजजस्ता भारतीय समाचार च्यानलहरुले टेलिभिजन स्क्रिनमा विभिन्न तरिकाले विज्ञापन देखाएका हुन्छन्।
भिडियो ग्राफिक्सबाट पनि समाचारसँगै विज्ञापन देखाइएको हुन्छ। यस्तो विज्ञापनलाई हटाएर क्लिनफिड समाचार देखाउने प्रविधिहरु नभएको शर्माको भनाइ छ।
‘समाचारको बीचमा आउने विज्ञापन हटाउन सक्छन् तर यसरी समाचारसँगै देखाउने विज्ञापन हटाउने प्रविधि उनीहरुसँग छैन भन्ने कुरा छ’, शर्माले भने, ‘समाचारसँगै आउने विज्ञापन नबचाउने हो भने भारतका अधिकांश न्युज च्यानल बन्द हुन्छन्।’
क्लिनफिड कार्यक्रम चल्ने भएपछि टेलिभिजन च्यानलको शुल्कमा पनि वृद्धि हुने शर्माको भनाइ छ। नेपालमा क्लिनफिड लागू भएपछि नेपाललाई दिने कार्यक्रम उत्पादन गर्ने मुख्य कार्यक्रम उत्पादक कम्पनीले खर्च बढेको भन्नथालेका छन्।
‘नेपालमा क्लिनफिड प्रोग्राम चलाउने भएपछि आफ्नो खर्च बढेको उनीहरुले सुनाएका छन्’, शर्माले भने, ‘क्लिनफिड कार्यक्रम बनाउँदा लाग्ने थप म्यानपावर, सफ्टवेयर लगायतका खर्च बढ्नेछ।’
मुख्य उत्पादकले खर्च बढेको आधारमा शुल्क बढाएमा नेपालका वितरकले पनि बढाउनेछन्। त्यसको सिधा असर उपभोक्तालाई पर्नेछ।
यता नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले भने क्लिनफिड लागू हुनुभन्दा अघि आफ्ना माग पूरा गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ११ बुँदे ज्ञापनपत्र बुझाइसकेको छ।
कात्तिक ८ गतेअघि ती माग पूरा नभए क्लिनफिडका कार्यक्रम नदेखाउने उनीहरुको चेतावनी छ। ‘हाम्रो मागलाई सम्बोधन भएमा क्लिनफिड लागू गर्न सजिलो हुन्छ’, शर्माले भने, ‘लागू गरिएन भने क्लिनफिड नभएका कार्यक्रम पनि चल्न सक्छन्।’
अहिलेको कानुनी प्रावधानअनुसार एमएसओ, डीटीएच र आईपीटीभीमा फरक व्यवहार भएको भन्दै विभिन्न माग राखेका छन्। आईपीटीभीले हाल प्रयोग गरिरहेको एन्ड्रोइड आईपीटीभी बक्समा लिनियर कन्टेन्ट तथा डाउनलिंक अनुमति प्राप्त विदेशी च्यानलहरुभन्दा बाहेकका अन्य सामग्रीहरुको प्रसारण गर्नसक्ने भएकाले उक्त व्यवस्था तत्काल रोक्न महासंघले सरकारसमक्ष अग्रह गरेको छ।
महासंघले अनुमति नलिई टेलिभिजन च्यानल सञ्चालन गर्ने विभिन्न एप्लिकेसन तथा ओटीटी सेवालाई पनि बन्द गर्न आग्रह गरेको छ।
गत वर्ष पारित भएको विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ६(१) अनुसार नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले कात्तिक ८ गतेदेखि विज्ञापनरहित (क्लिन फिड) कार्यक्रम प्रसारण गर्नुपर्नेछ।
क्लिनफिड लागू भएपछि भने अहिलेको विज्ञापन बजारको ५० प्रतिशत वृद्धि हुने विज्ञापन संघको अनुमान छ। अहिले नेपालको विज्ञापन बजार १२ अर्बको छ। क्लिनफिड लागू भएपछि ६ अर्बको थप बजार विस्तार हुने अनुमान छ।
Shares

प्रतिक्रिया