ad ad

कारोबार


पुतलीसडक कालोपत्रे हुँदै, चाबहिल खण्ड तिहारसम्म सकिने

पुतलीसडक कालोपत्रे हुँदै, चाबहिल खण्ड तिहारसम्म सकिने

नेपालखबर
कात्तिक २, २०७७ आइतबार ७:४२,

सडक डिभिजन कार्यालय काठमाडौंले मनसुन सकिएसंगै सडक निर्माणका काममा तीव्रता दिएको छ।

लकडाउनअघि काठमाडौंमा मुख्य सडक आकर्षक बनाएको कार्यालयले तिहारसम्म चाबहिल खण्डमा पनि कालोपत्रे भइसक्ने बताएको हो।

असारअघि नै कालोपत्रे गर्ने लक्ष्य रहेको पुतलीसडक र गौशाला–चाबहिल–चुच्चेपाटी सडकमा यसअघि काम हुनसकेको थिएन। डिभिजन कार्यलयले हरेक वर्षामा सडक बिग्रिएको भन्दै पुतली सडकमा ढल निकासको काम गर्दा समयमै काम गर्न सकेन भने चाबहिलमा विद्युत् प्राधिकरणले तारलाई भूमिगत बनाउन बढी समय खर्चिँदा गत आर्थिक वर्षमा काम नसकिएको बताएको छ।

उचित ढल निकास नभएको कारण पुतली सडकमा कमलपोखरीदेखिको पानी सडकबाटै बग्ने गरेको थियो। वर्षात्को समयमा पुतली सडक पूरै ढलको रुपमा परिणत हुने गरेको थियो।

‘पुतली सडकको ढल निकाससम्बन्धी राम्रो प्रबन्ध गरेका छौं’, काठमाडौं डिभिजन कार्यलय प्रमुख कुवेर नेपालीले भने, ‘अब वर्षातको समयमा सडक जलमग्न हुँदैन। कालोपत्रे गरेपछि छिट्टै बिग्रिने सम्भावना पनि कम हुन्छ।’

सडक डिभिजन कार्यालयले काठमाडौं महानगरको अधिकार क्षेत्र पर्ने पुतली सडककै स्टर मलदेखि कुमारी हल हुँदै राइजिङ मलसम्मको सडक निर्माण गर्दै छ।

‘स्टर मलदेखि राइजिङ मलसम्मको सडक पनि दशैँअघि नै कालोपत्रे भइसक्छ’, नेपालीले भने, ‘भित्री सकडमा पनि हामीले ठूला ढलको निर्माण गरेकाले कालोपत्रे हामीले नै गर्नलागेका हौँ।’

उनले भित्री सडक निर्माणमा कामपासँग विवाद मिलिसकेको बताएका छन्। कुमारी हलको सडक खण्डमा कामपाले आफूले पहिल्लै ठेक्का लगाएको भन्दै काम सुरु गरेको थियो।

‘मुख्य सडकमा एक लेयरको कालोपत्रे भइसकेको छ। अब केही दिनमा अर्को लेयरको पनि कालोपत्रे हुन्छ’, उनले भने। 

तिहारअघि चाबहिल गौशाला बनिसक्ने
वर्षाैँदेखि हिलाम्मे र धुलाम्मे हुँदै आएको गौशाला–चाबहिल–चुच्चेपाटी सडक कालोपत्रेका लागि काम सुरु भएको छ। वैशाख कालोपत्रे सुरु गर्ने दाबी गरेको सडक लकडाउनका कारण निर्माण सामग्री तथा विद्युत् प्राधिकरणले विद्युतीय तार भूमिगतको काम नसक्दा कालोपत्रे हुनसकेको थिएन।

‘अहिलेसम्म खानेपानीको पाइप निर्माण तथा विद्युतीय तार भूमिगतसम्बन्धी काम भइरहेको थियो’, डिभिजन प्रमुख नेपालीले भने, ‘अब सडक निर्माणको काम सुरु भएको छ। तिहार अघि कालोपत्रे भइसक्छ।’

 

उनले अहिले कालेपत्रे पूर्वको लेबलिङको काम भइरहेको बताए। चाबहिल चोकदेखि गोपीकृष्ण खण्डको सडक निर्माण भने सम्पन्न भइसकेको छ।

चाबहिल सडक खण्डमा पुराना खानेपानीका पाइपलाइनको कारण सडक बन्नसकेको थिएन।

‘खानेपानीको पाइप लिकेजको कारणले त्यहाँ समस्या भएको थियो। खानेपानी मन्त्रालय र भौतिक मन्त्रालयले संयुक्तरुपमा टेन्डर आह्वान गरेको थियो। त्यसअनुसार डिजाइनमा भएको पाइप बिछ्याउने काम सकिएको छ। अब पिचको काम सुरु भयो’, कुवेर नेपालीले भने।

उक्त सडकखण्डमा केही वर्षअघि मेलम्ची पानीको पाइपलाइनको कारण बिग्रिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पन्छिने गरेको थियो। तर मेलम्चीको पाइपलाइन बिछ्याएर एकपटक कालोपत्रे गरे पनि उक्त सडक खण्ड धूलो र हिलोमुक्त हुन भने सकेको छैन।

सडक डिभिजन कार्यालयले अब चाबहिल सकडको समस्या समाधान हुने बताएको छ।

कलंकी–चाबहिल चक्रपथको ‘साइट किलियर’ हुँदै
चिनियाँ सहयोग निर्माण भइरहेको दोस्रो चक्रपथ विस्तारको काम सुरु भएको छ। कलंकी कोटेश्वरको काम सकिएसँगै दोस्रो चरणको काम सुरु भएको थियो। कलंकीदेखि गोपीकृष्णसम्मको सडकमा पर्ने रुख कटानको काम सकिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्वयम्भूमा सडकमा पर्ने संरचना एक महिनाभित्र हटाउन काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको छ। नयाँ बसपार्कमा रहेको आकाशे पुल भत्काउने काम भइरहेको छ।

सडक विस्तार क्षेत्रमा पर्ने नारायण गोपालचोकका भौतिक संरचना हटाउने तथा मुआब्जा वितरणमा तीव्रता दिन पूर्वाधारमन्त्री वसन्त नेम्वाङले निर्देशन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .