ad ad

समाज


गैँडा मर्ने क्रम बढेपछि मृत्युको कारण खोज्न थालियो

गैँडा मर्ने क्रम बढेपछि मृत्युको कारण खोज्न थालियो

नेपालखबर
कात्तिक २, २०७७ आइतबार ७:५५,

प्राकृतिक कारणबाट गैँडा मर्ने क्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले मृत्युको कारण खोज्न समिति गठन गरेको छ।

निकुञ्जले सहायक संरक्षण अधिकृत ऋषि रानाभाटको संयोजकत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछाने र त्यहीँका भेटेरिनरी डा अमिर सडौला सदस्य रहेको समिति बनाएको छ। संयोजक रानाभाटका अनुसार समितिको बैठक बसेर अध्ययनका विषयबारे छलफल अघि बढाइएको छ।

गैँडा मरेका क्षेत्रहरुमा केही दिनमा स्थलगत अध्ययन गरिने तथा बृहत् छलफल र विगतका तथ्यांकहरुको अध्ययन गरी कारण पहिचान गरिने रानाभाटले जानकारी दिए।

चालु आर्थिक वर्षमा हालसम्ममा एउटा गैँडा चोरी सिकारीका कारण तथा आठ गैँडा प्राकृतिक कारणले मरेका छन्। अधिकांश गैँडा कसरादेखि पश्चिमतर्फको क्षेत्रमा मरेका थिए। रानाभाटका अनुसार गैँडा मरेका ठाउँको स्थलगत अध्ययनसँगै हरेक गैँडाको मृत्युका कारणको खोजी, बासस्थानको अवस्थालगायत बारेमा अध्ययन गरिने छ।

यसअघि पनि निकुञ्ज विभागका उपमहानिर्देशकको संयोजकत्वमा गठित टोलीले प्राकृतिक कारणबाट गैँडा मर्नुको कारणको अध्ययन गरेको थियो। निकुञ्जमा प्राकृतिक कारणबाट गैँडा मर्ने क्रम बढेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक प्रेमनारायण कँडेलको उपस्थितिमा भएको बैठकले स्थानीय स्तरमा समिति गठन गरी गैँडा मृत्युका कारण खोजी गर्ने निर्णय गरेको थियो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि त्यसको न्यूनीकरणका लागि उपायहरुको खोजी गर्न लागिएको हो।

मुख्य रुपमा गैँडा बाढीले बगाएर, दलदलमा फसेर तथा एक अर्कोसँग जुधेर मर्ने गरेका छन्। बाढीले बगाएका गैँडाको फोक्सोमा पानी जमेको भेटिने गरेको छ। नदी किनारका मानव निर्मित तटबन्ध पनि बाधक बन्ने गरेका छन्। नदीले बगाएका गैँडा तटबन्धका कारण सबै ठाउँबाट सहज नदी बाहिर आउन नसक्दा समस्या हुने गरेको उनले बताए। नदीले बगाएर गण्डक बाँध पार गरेपछि गैँडा बाहिर आउन कठिन हुने गरेको छ।

गत वर्ष प्राकृतिक कारणले निकुञ्जमा २६ गैँडा मरेका थिए। अघिल्लो आर्थिक वर्षमा यो संख्या ४३ थियो। सन् २०१५ मा निकुञ्जमा गरिएको गणनाअनुसार यहाँ ६०५ गैँडा रहेका छन्। त्यसयता गैँडा स्थानान्तरण र बाढीका कारण केही घटेका छन् भने प्रजनन भएर केही बढेको अनुमान छ। हरेक चार–चार वर्षमा गैँडा गणना गरिन्छ। गत आर्थिक वर्षमा गैँडा गणना कोरोनाका कारण रोकिएको थियो। यस वर्ष गैँडा गणना गर्ने कार्यक्रम रहेको निकुञ्जले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .