कारोबार


क्लिनफिड राम्रो तर सबै प्रविधिमा यो नियम लागू हुनुपर्छ : केवल टेलिभिजन व्यवसायी महासंघ

क्लिनफिड राम्रो तर सबै प्रविधिमा यो नियम लागू हुनुपर्छ : केवल टेलिभिजन व्यवसायी महासंघ

नेपालखबर
असोज २९, २०७७ बिहिबार ८:२९,

तोकिएको समयभित्रै विज्ञापनरहित कार्यक्रम (क्लिनफिड) लागू गर्ने सकारको प्रतिबद्धतालाई सम्बन्धित व्यवसायीहरुले स्वागत गरेका छन्।

नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ, मिडिया एलाइन्स नेपाल र नेपाल विज्ञापन संघ (आन)ले संयुक्तरुपमा सरकारको सूचनाका स्वागत गरेका हुन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार सूचना जारी गर्दै सम्बन्धित संघ/संस्थालाई विज्ञापन (नियमन गर्ने) ऐनकै प्रावधानअनुसार कात्तिक ७ गतेभित्र विदेशी च्यानलहरुमा विज्ञापनरहित (क्लिनफिड) कार्यक्रम प्रसारण गर्न आग्रह गरेको थियो।

विज्ञापन (नियमन गर्ने) ऐन २०७६ ले नै उक्त मिति तोकेकाले त्यसबाट पछाडि हट्न नसकिने भन्दै यसको पालना नभएका कानुन बमोजिम च्यानल बन्द हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको थियो।

सरकारको उक्त प्रतिवद्धताप्रति यि तीन संस्थवाले स्वागत गरेका हुन्। नेपाल केवल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्माले क्लिन फिड लागु गर्ने नीति प्रति आफू र आफ्नो संस्थाले सधै स्वागत गरेको बताए।

‘हामी यस नीतिको सधै स्वागत गरेका छौं,’ शर्माले भने, ‘यो राष्ट्रिय स्वार्थसँग जोडिएको विषय हो।’

‘सबै प्रविधिमा एउटै नीति हुनुपर्छ’
सरकारको नीति राम्रो हुँदाहुँदै पनि हरेक प्रविधिलाई समान नियम लागू हुनुपर्ने आफ्नो संस्थाको धारणा रहेको बताए।

‘केबल र डीटीएचलाई जुन नियम लगाइएकोे छ, त्यो आईपीटिभीको हकमा पनि त्यही हुनुपर्छ’, शर्माले भने, ‘आईपीटिभीको एप्लिकेसन र भिडियो कन्टेन्टमा पनि यो नियम लागू हुनुपर्छ।’

केबल र डीटीएचले लिनियर कन्टेन्टमा डाउनलोडिङ कन्टेन्टमात्र प्रसारण गर्न पाउँछन्। आईपीटिभीमा भने लिनियर कन्टेन्टबाहेक एन्ड्रोइड एप्लिकेसन र भिडियो कन्टेन्टको सुविधा छ। यसमा पनि क्लिनफिडको नियम लागू हुनुपर्ने उनले बताए।

‘क्लिनफिड लागू भएपछि धेरै आधा च्यानल केवल वा डीटीएचमा आउँदैनन्’, शर्माले भने, ‘ती च्यानल भने आईपीटिभीको एप्लिकेसन र भीओडीमार्फत हेर्न सकिन्छ।’ क्लिनफिडकै कारण एउटा प्रविधिमा नआउने र अर्को प्रविधिमा भने हेर्न सकिने दोहोरो नीति हुन नहुने महासंघको धारणा भएको उनले बताए।

क्लिनफिड लागू हुने समय नजिकिँदै गर्दा इन्डियन ब्रोडकास्टर फोरुम, डिस्कोभरी नेटवर्क, बीबीसी न्युज, नेपाल केवल टेलिभिजन महासंघ लगायका संघ÷संस्थाहरुबाट विज्ञापनरहित (क्लिन फिड) प्रसारणको म्याद थप गर्न सरकारसँग माग गरेका थिए।

मन्त्रालयले भने मिति २०७७ कात्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने व्यवस्था ऐनद्वारा नै गरिएको र ऐनद्वारा नै एक वर्षको तयारी अवधि समेतको व्यवस्था भएकाले ऐनको मर्म र भावनाअनुरुप तोकिएको मितिदेखि विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्न गराउन सम्बन्धित सबै संघ÷संस्थाहरुलाई अनुरोध गरिएको छ।

साथै, मन्त्रालयले कात्तिक ७ गतेभित्रै क्लिन फिड प्रसारण नभएमा प्रचलित कानुनबमोजिम हुने समेत जनाएको छ। गत वर्ष पारित भएको विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ६(१) अनुसार नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित –क्लिन फिड) कार्यक्रम प्रसारण गर्नुपर्नेछ।

ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउलिङग गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्र अर्थात अर्को महिनाको ७ गतेभित्र विज्ञापनरहित प्रसारण गर्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .