विज्ञापन (नियमन गर्ने) ऐनकै प्रावधानअनुसार कात्तिक ७ गतेभित्र विदेशी च्यानलहरुमा विज्ञापनरहित (क्लिनफिड) कार्यक्रम प्रसारण गर्न सम्पुर्ण च्यानल तथा सम्बन्धित वितरक कम्पनीहरुलाई सरकारले आग्रह गरेको छ।
विज्ञापन (नियमन गर्ने) ऐन २०७६ ले नै उक्त मिति तोकेकाले त्यसबाट पछाडि हट्न नसकिने भन्दै यसको पालना नभएका कानुनबमोजिम च्यानल बन्द हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।
बुधबार मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै उक्त समयावधिभित्रै क्लिनफिड लागू गर्न सम्बन्धित सम्पूर्ण संघ÷संस्थालाई आग्रह गरेको छ। केही संघ÷संस्थाहरुले क्लिन फिड प्रसारणको समय थप गर्न सरकारलाई भनिरहेको बेला मन्त्रालयले उक्त जानकारी गराएको हो।
‘यस मन्त्रालय तथा मन्त्रालयका सचिवज्यूलाई सम्बोधन गरी विभिन्न माध्यमबाट इन्डियन ब्रोडकास्टर फोरुम, डिस्कोभरी नेटवर्क, बिबिसी न्युज, नेपाल केवल टेलिभिजन महासंघ लगायका संघ÷संस्थाहरुबाट विज्ञापनरहित (क्लिन फिड) प्रसारणको म्याद थप गर्न माग गरिएको विषयमा यस मन्त्रालयको ध्यानाकर्षण भएको छ’, मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘मिति २०७७ कात्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने व्यवस्था ऐनद्वारा नै गरिएको र ऐनद्वारा नै एक वर्षको तयारी अवधि समेतको व्यवस्था भएकाले ऐनको मर्म र भावनाअनुरुप तोकिएको मितिदेखि विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्न गराउन सम्बन्धित सबै संघसंस्थाहरुलाई अनुरोध गरिएको छ।’
साथै, मन्त्रालयले कात्तिक ७ गतेभित्रै क्लिन फिड प्रसारण नभ०मा प्रचलित कानुन बमोजिम हुने समेत जनाएको छ।

गत वर्ष पारित भएको विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ६(१) अनुसार नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित –क्लिन फिड) कार्यक्रम प्रसारण गर्नुपर्ने छ।
ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउलिङग गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्र अर्थात अर्को महिनाको ७ गतेभित्र विज्ञापनरहित प्रसारण गर्नुपर्नेछ।
Shares

प्रतिक्रिया