दुगड स्पाइसेस एण्ड फुड प्रोडक्टस प्रालिले बजारमा परीक्षणको लागि पठाएको टेबुल साल्टको बारेमा टीकाटिप्पणी आएपछि कम्पनीले भने त्यसमा कुनै अनुचित कार्य नगरिएको स्पष्ट पारेको छ।
नेपाल सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनलाई नुन बिक्रीको लागि एकाधिकार दिएकोमा साल्ट ट्रेडिङको सहकार्यमा अझ स्तरीय बनाएर उत्पादन सुरु गरेको बताएको हो।
साल्ट ट्रेडिङको सहकार्यमा वर्षौँदेखि नुन मिसावट भएको मसला उत्पादन गर्दै आएको र हाल नयाँ प्रविधिको पुनः प्रयोग गर्न मिल्ने वर्षौँसम्म नबिग्रिने, नुनको सेल्फ लाइफ वर्षौँसम्म कायम रहने अत्याधुनिक बट्टामा राखिएको बताएको छ।
कम्पनीका अनुसार यो बट्टाको मूल्य नै भारतीय रुपैयाँ १० देखि १२ पर्न जान्छ। भारत वा तेस्रो मुलुकबाट यो बट्टा मगाउनुपर्ने भएकोले महंगो परेको कम्पनीको दाबी छ।
खरिद गरेको मूल्यमा २० प्रतिशतसम्म नाफा लिन सकिने व्यवस्था नेपालको कानुनले नै गरेको छ तर १२ प्रतिशत मात्रै कुल नाफा लिइएको कम्पनीको भनाइ छ।
कम्पनीका एक प्रतिनिधिले नेपालखबरसँग भने, ‘जसरी नुनको अनधिकृत कारोबार र कालोबजारीको प्रश्न उठाइएको छ। त्यो गलत हो। यसमा नुनभन्दा पनि बट्टाको मूल्य अधिक रहेको छ।’
उनले भने, ‘जहाँसम्म कालोबजारीको सवाल छ, कालोबजारी भनेको त वस्तुको अभाव गराएर अस्वाभाविक मूल्यवृद्धि गर्नुलाई कालोबजारी भनिन्छ। टेबुल साल्टको उत्पादन र बजार परीक्षणको क्रममा त्यो कुनै कार्य भएको छैन।’
उनका अनुसार उपभोक्तालाई एउटै छनौटको सुविधा मात्रै दिने गरी यो उत्पादन ल्याइएको हो, न कि अत्यावश्यकीय वस्तुमा कालोबजारी गर्ने उद्देश्यले यसको उत्पादन थालिएको हो।
यस उद्योगले आफ्ना १५ देशमा निर्यात गर्दै आएको छ र नुनलगायत अन्य कुनै पनि वस्तुको अवैध कारोबार र कालोबजारी नगरेको कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया