कारोबार


सात हजार पार्टी प्यालेस बन्द हुँदा ५० हजार बढीको रोजगारी संकटमा

सात हजार पार्टी प्यालेस बन्द हुँदा ५० हजार बढीको रोजगारी संकटमा

नेपालखबर
असोज १८, २०७७ आइतबार ८:४७,

पार्टी प्यालेस व्यवसायीहरुले तत्काल व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन सरकारसँग माग गरेका छन्।

देशभर रहेका ७ हजार पार्टी प्यालेस व्यवसाय बन्द हुँदा ५० हजार भन्दा बढीको रोजगारी गुमेको र लाखौंको संख्यामा जनजीवन प्रभावित भएको भन्दै व्यवसायीहरुले तत्काल व्यवसाय सञ्चालन गर्ने वातावरण बनाईदिन सरकारसँग माग गरेका हुन्।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष लिलाबहादुर जिसिले राज्यले तत्काल निर्वाध रुपमा पार्टीप्यालेस तथा क्याटरिङ व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन माग गरे। अध्यक्ष जिसिले होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न दिने तर पार्टी प्यालेस व्यवसाय सञ्चालन गर्न नदिने कुरा नमिल्दो भएको बताए।

भौतिक दूरी कायम गर्दै सरकारले तोकेको मापदण्ड पुरा गरेर व्यवसाय सञ्चालन गर्न माग गर्दा समेत व्यवसाय बन्द गरिनुको कारण सरकारले स्पस्ट पार्नुपर्ने बताए। उनले पार्टी प्यालेस खोल्दा संक्रमण फैलिन्छ भन्ने भ्रममा सरकार रहेको बताए। ठूला होटल तथा रेष्टुरेन्टका पार्टीहलहरु सञ्चालन हुँदा कोरोना नसर्ने तर पार्टी प्यालेसका हल सञ्चालन गर्दा कोरोना सर्ने कुरा आफूहरुले नमान्ने पनि अध्यक्ष जिसिले बताए।

नेपाल राष्ट्रिय पार्टीप्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका प्रवक्ता कृष्णप्रसाद पाण्डेले करिब ७ महिना यता पार्टी प्यालेस बन्द हुँदा व्यवसायबाट नै पलायन हुने स्थितिमा आफूहरु पुगेको बताए। अहिले देशभर २ सय भन्दा बढी व्यवसायीहरु पलायन भइसकेको बताउँदै अझबढी क्षति हुने देखिएको बताए।

५० हजार भन्दा बढीको रोजगारी गुम्ने मात्र नभएर सरकारले वार्षिक २ अर्ब भन्दा बढी राजश्व समेत गुमाएको उनको भनाई छ। त्यस्तै पछिल्लो समय आफूहरुसँग कर्मचारीका लागि तलब खुवाउन समेत पूँजीको अभाव भएको उनले बताए।

त्यसबाहेक पार्टी प्यालेस व्यवसाय सञ्चालन नहुँदा कृषि उत्पादनको खपत घटेको र बजारमा महंगी बढेको उनले दावी गरे। प्रवक्ता पाण्डेका अनुसार कुल कृषि उत्पादनको २५ प्रतिशत पार्टी प्यालेस व्यवसायमा खपत हुँदै आएको छ। यसबाट अप्रत्यक्ष रुपमा लाखौंको रोजगारी प्रभावित भएको उनले बताए। बैंकबाट ऋण लिएर व्यवसाय सञ्चालन गरेकाहरु सबैभन्दा बढी समस्यामा परेको पनि उनले बताए।

अन्य उद्योग व्यवसाय सरह यो व्यवसायलाई लिन पनि प्रवक्ता पाण्डेले सरकारसँग आग्रह गरे। संकटको बेला पार्टी प्यालेस व्यवसायीहरुले सरकारबाट कुनैपनि राहत पाउन नसकेको उनको गुनासो छ।

व्यवसायीहरुले आफूहरु कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले तोकेको मापदण्ड सहित उच्च सतर्कता अपनाएर व्यवसाय सञ्चालन गर्न सक्षम रहेको पनि बताएका छन्। सरकारले आर्थिक कारोबारलाई चलायमान गराउन र व्यवसायबाट पलायन हुने स्थिति आउन नदिन पनि व्यवसाय सञ्चालन गर्न दिनुपर्ने व्यवसायीहरुले बताएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad