कारोबार


गुणस्तरहीन सेनिटाइजर बेच्नेलाई जेल सजाय, उत्पादक कम्पनीलाई भने दर्ता खारेज मात्र!

गुणस्तरहीन सेनिटाइजर बेच्नेलाई जेल सजाय, उत्पादक कम्पनीलाई भने दर्ता खारेज मात्र!

सन्तोष न्यौपाने
असोज १२, २०७७ सोमबार १२:२,

कोरोना भाइरस (कोभिड १९) संक्रमणको महामारीमा मौलाएको सेनिटाइजर उद्योगमा एकपछि अर्को गर्दै गुणस्तरहीन उत्पादन भेटिन थालेका छन्।

सरकारले बजारमा रहेका सेनिटाइजरको नमूना परीक्षण गर्दा मानव शरीरलाई गम्भीर असर गर्ने मिथानोल मिश्रित सेनिटाइजर भेटिएका छन्। नमूना परीक्षणबाट त्यस्ता गुणस्तरहीन सेनिटाइजर भेटिए पनि उनीहरुलाई के कारबाही गर्ने भन्ने विषयमा नियामक निकाय औषधि व्यवस्था विभाग नै अलमलमा छ।

अहिलेसम्म विभागले गरेको परीक्षणमा १८ वटा सेनिटाइजर उत्पादनहरु मिथानोल मिश्रित अर्थात् विषाक्त भेटिएका छन्। उनीहरुको दर्ता खारेज गर्ने र बिक्रीवितरण पनि रोक्ने काम गरे पनि मानव स्वास्थ्यमा असर गर्ने त्यस्ता उत्पादन गर्ने कम्पनी र उत्पादनकर्तालाई थप के कारबाही हुन्छ भन्ने स्पष्ट हुनसकेको छैन।

‘गुणस्तरहीन सेनिटाइजर उत्पादन गर्नेलाई थप के कारबाही हुन्छ, अहिले भन्न सकिँदैन’, विभागका महानिर्देशक नारायण प्रसाद ढकालले भने, ‘यस सम्बन्धमा अनुसन्धान भइरहेको छ।’

ती कम्पनीलाई मुद्दा दर्ता गर्ने नगर्नेबारे पनि विभाग स्पष्ट छैन।

गुणस्तरहीन सेनिटाइजर उत्पादन गरेका कम्पनीको अनुसन्धान भइरहेको उनले बताए। उनीहरुले कुन मनसायले त्यस्ता उत्पादन गरेका हुन् भन्ने खुलेपछि के कारबाही गर्ने भन्ने थाहा हुने ढकालले बताए।

विभागले अहिलेसम्म कुन कानुनअनुसार के कारबाही गर्ने र मुद्दा दायर गर्ने कि नगर्ने भन्ने अहिलेसम्म स्पष्ट हुनसकेको छैन। त्यही गुणस्तरहीन वस्तु बिक्रीवितरण गर्नेलाई भने जेलसम्मको सजाय तोकिएको छ।

सरकारले त्यस्ता गुणस्तरहीन वस्तु बिक्रीवितरण गर्ने पसल तथा व्यापारीलाई तत्कालै पाँच लाखसम्म जरिवाना गर्दै मुद्दा दायर गरेर जेल सजायसम्मको कारबाही गर्दै आएको छ। सरकारका विभिन्न निकायले यस्तो कारबाही गर्दै आएका छन्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गर्दै गुणस्तरहीन वस्तु बिक्रीवितरण गर्ने व्यापारीलाई पाँच लाखसम्म जरिवाना, पाँच वर्ष जेल वा दुवै सजाय हुने व्यवस्थाअनुसार कारबाही गर्दै आएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ मा उक्त कुरा उल्लेख छ।

विभागले दशैँ अनुगमन गुणस्तरहीन वस्तु बेच्नेलाई तत्कालै नियन्त्रणमा लिएर कारबाही गर्नेसम्मको योजना बनाइरहेको छ।

यस ऐनअनुसार गुणस्तरहीन सेनिटाइजर बिक्रीवितरण गर्ने व्यापारीलाई जेल सजायसम्म हुनसक्छ। तर, उत्पादन गर्ने उद्योगलाई भने नियामक निकायको रुपमा रहेको स्वास्थ्य सेवा विभागले स्पष्ट नीति लिनसकेको छैन।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि गुणस्तरहीन खाद्य वस्तु उत्पादन गर्ने कम्पनी, होटल सञ्चालकलाई मुद्दा दायर गरेर कारबाही गर्छ।

औषधि व्यवस्था विभागले औषधि उत्पादन गर्नेबाहेक अरुलाई पनि सेनिटाइजर उत्पादन गर्ने अनुमति दिँदा गुणस्तरहीन सेनिटाइजर उत्पादन भइरहेको नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपक प्रसाद दाहालले बताए।

‘प्रयोगशाला नै नभएका साबुन उद्योगहरुले पनि सेनिटाइज उत्पादन गर्दा गुणस्तरहीन भइरहेका छन्’, दाहालले भने, ‘उनीहरुसँग इथानोल र मिथानोल छुट्याउने प्रयोगशाला नै छैनन्।’

विदेशबाट करोडौँ रुपैयाँका सेनिटाइजर आइरहेको भए पनि उनीहरु नियामक निकायमा दर्ता भएका छैनन्। विदेशबाट आएको त्यस्ता सेनिटाइजर कुन स्तरका छन् भनेर थाहा समेत नहुने औषधि व्यवसायी बताउँछन्।

पछिल्लो समय भारत, चीनबाट आएका सेनिटाइजर र स्वदेशी उत्पादनमा पनि स्वास्थ्यलाई हानिकारक मानिने मिथानोल मिसिएको भेटिएका छन्।

विभागले विदेशबाट आउनेलाई पनि दर्ता भएरमात्र बेचबिखन गर्न भनेको छ। दर्ता नभईकन बेचबिखन भइरहेका त्यस्ता सेनिटाइजरको गुणस्तरमा भने शंका हुन्छ। विदेशीबाट आयात हुने सेनिटाइजर पनि दर्ता हुनुपर्ने र अहिले उनीहरुलाई समय दिइएको विभागले जनाएको छ।

यी हुन् गुणस्तरहीन सेनिटाइजर
विभागले अहिलेसम्म १८ वटा उद्योगका सेनिटाजरलाई विषाक्त भन्दै बिक्रीवितरण रोकेको छ।
१ स्ट्यान्ट हेन्ड सेनिटाइजर, नेपाल कायाकल्प उद्योग
२ स्ट्यान्ट हेन्ड सेनिटाइजर ओरिजिनल, हाइजिन सप एण्ड केमिकल्स प्रालि
३ एड्भान्स हेन्ट सेनिटाइजर, अधर केमिकल्स एण्ड फुड इन्ड्रष्ट्रिज
४ स्ट्यान्ट हेन्ड सेनिटाइजर रिफ्रेसिङ जेल, सर्च जेम कम हर्बल प्रोटक्ट
५ सूर्यमुखी हेन्डसेनिटाइजर, सूर्यमुखी हर्बल्स प्रोडक्सन्
६ ओपेकल नन वासिङ एन्टिब्याक्टेरियल सोलुसन १२० एमल
७ सासा स्ट्यान्ट हेन्ड सेनिटाइजर ५० एमएल, सम्पदा हेल्थकेयर
८पामा केयर स्ट्यान्ट हेन्डसेनिटाइजर ६० एमएल, आरएल कर्प इन्डिया
९ युनकेयर स्ट्यान्ट हेन्ड सेनिटाइजर, श्रीनाथ हर्बल एण्ड कस्मेटिक इन्ड्रष्ट्रिज
१० हर्बलट्री हेन्ड रब ५०० एमएल, शिभिका कस्मेच्युटिकल्स, भारत
११ कुम हेन्ड सेनिटाइजर ५ लि.
१२ क्लिन हेन्ड सेनिटाइजर,
१३ कुमकुम स्टान्ड हेन्ड सेनिटाइजर
१४ स्ट्यान्ट हेन्ड सेनिटाइजर
१५ स्टान्ड हेन्ड सेनिटाइजर ओरिजिनल
१६ साधना स्टान्ड हेन्डसेनिटाइजर
१७ ड्रोन हेन्ड सेनिटाइजर, ५०० एमएल, यसो कलर्स
१८ ड्रोन हेन्डसेनिटाइज, ५०० एमएल, कलरलेस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad