रेडिमिक्स व्यवसायी संघ नेपाल, प्रदेश नम्बर ५ ले सहजरुपमा कच्चापदार्थ उपलब्ध गराउन सरकारलाई माग गरेकाे छ।
शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरि संघले उधाेगलाई आवश्यक कच्चापदार्थ सहज नपाउँदा व्यवसाय सञ्चालनमा समस्या आएकाे जनाएको छ।
`हामीले गिट्टी-बालुवा सहजरुपमा पाउनुपर्छ। सहज नपाउँदा कठिनाई भएकाे छ´, संघका अध्यक्ष भरतकुमार पाेखरेलले भने।
उनले क्रसर व्यवसायीलाई गुणस्तरीय गिट्टी बालुवा उपलब्ध गराउनसमेत आग्रह गरे।
`उहाँहरुका आफ्नै समस्या हाेलान् तर निर्माणमा प्रयोग हुने कच्चापदार्थ भने हामीलाई गुणस्तरीय दिनुपर्छ। उहाँहरुका समस्या समाधान गर्न हामी पनि हातेमालो गर्छाै´, उनले भने।
उनले प्रत्येक सरकारी आयाेजनामा अनिवार्य रेडिमिक्स (आरएमसी) प्रयोग गर्ने वातावरण मिलाउन पनि सरकारसँग माग गरे छ।
`म्यानुअली प्रयोग गरिएका संरचना त्यत्ति बलियो हुँदैनन्, त्यसैले ल्याव टेस्ट गरिएकाे र भरपर्दाे आरएमसी प्रयोग गर्नुपर्छ। याे छिटाेछरिताे समेत हुन्छ´, पाेखरेलले भने।
आफूहरुले गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने जनाउँदै बनाइएका संरचनाकाे गुणस्तरकाे ग्यारेन्टी गर्ने जनाए। अध्यक्ष पोखरेलले ल्याब टेष्ट गरेरमात्रै ढलानमा आरएमसी प्रयोग हुने जनाउँदै यसको प्रयोग गर्न आम उपभोक्तालाई आग्रह गरे।
व्यवसायीले जथाभावी आरएमसी दर्ता दिन नहुने जनाउँदै सरकारले निश्चित दूरीका आधारमा जनसंख्याको अध्ययन गरेर मात्र दर्ता गर्नु पर्ने माग गरे।
उपाध्यक्ष माेहन भुसालले प्रविधिको प्रयोग गरेर मात्रै ढलान गरिने भएकाले यसको उपभोग बढाउनु आग्रह गरे।
संघले रेडिमिक्स व्यवसायीले पनि निर्धारित मापदण्ड र गुणस्तरको पालना गरे/नगरेकाे अनुगमन गर्ने र सरकारी मापदण्ड पालनामा कडाई गर्ने जनाएकाे छ।
प्रदेश पाँचको रुपन्देहीमा ७, नवलपरासीमा २, कपिलवस्तुमा १, दाङमा २ र बाँकेमा २ गरी १४ ओटा रेडिमिक्स उद्योग रहेको संघले जनाएको छ। यी उद्योगमा करिब १ सय ५० करोड लगानी रहेको जनाइएको छ।
१० सदस्यीय समिति गठन
यसैबीच रेडिमिक्स व्यवसायीले प्रदेश ५ स्तरीय १० सदस्यीय रेडिमिक्स व्यवसायी संघ गठन गरेका छन्। जसकाे अध्यक्षमा पाेखरेल, उपाध्यक्षमा भुसाल, सचिवमा बाबुराम चौधरी र कोषाध्यक्षमा बलराम उपाध्याय छन्। यस्तै सदस्यहरुमा अस्मित पोखरेल, देवेन्द्र शाहु, संजय अधिकारी, मित्रलाल न्यौपाने, दीपक काफ्ले, दिनेश भुसाल र कमल ढकाल छन्।

प्रतिक्रिया