राजनीति


कांग्रेसले भन्यो : नेपाल-चीन सीमाबाट फर्किएको टोलीको अध्ययन विवरण सार्वजनिक गर

कांग्रेसले भन्यो : नेपाल-चीन सीमाबाट फर्किएको टोलीको अध्ययन विवरण सार्वजनिक गर

नेपालखबर
असोज ९, २०७७ शुक्रबार १३:५३,

नेपाली कांग्रेसले हुम्लाको नाम्खामा चीनद्वारा नेपाली सीमा मिचिएको भन्ने विषय अध्ययन गर्न स्थलगत भ्रमणमा गएको सरकारी टोलीले ल्याएको विवरण तत्काल सार्वजनिक गर्न माग गरेको छ।

हुम्लाको सदरमुकाम सिमिकोट फर्किएको २४ घण्टा पुग्दै गर्दा पनि अध्ययनको वास्तविक विवरण सार्वजनिक नगरिएको प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्।

‘हुम्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका सेनानी, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षकलगायत दुई दर्जन बढीको अध्ययन टोलीले स्थलगत अध्ययन गरिरहँदा नै सीमा मिचिएको छैन भनेर परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको धारणालाई हामीले स्थलगत अध्ययन विवरणको प्रतिक्षा नगरी सार्वजनिक गरिएको हतारोको टिप्पणीका रुपमा लिएको थियौँ,’ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थलगत भ्रमणमा गएको टोली सदरमुकाम फर्के पश्चात वास्तविकता बाहिर आउने हुँदा धैर्यताको अपेक्षा र अपिल पनि हामीले गरेका थियौँ।’

तर स्थलगत भ्रमणको अध्ययन टोली सदरमुकाम सिमिकोट फर्किएपछि पनि स्थानीय प्रशासनमार्फत् अथवा स्थानीय प्रशासनले दिएको विवरणको आधारमा संघीय सरकारले सीमासम्बन्धी वास्तविक विवरण सार्वजनिक नगरिनुलाई कांग्रेसले रहस्यमय भनेको छ।

‘एकातर्फ परराष्ट्र मन्त्रालयको हतारोको टिप्पणी, सहायक प्रजिअलाई स्पष्टिकरण र अर्कातर्फ स्थलगत अध्ययनको विवरण समेत सार्वजनिक गर्न गरिएको ढिलाईले सीमा मिचिएको छैन भन्ने सरकारको धारणामाथि आशंका उब्जिएको छ, जुन स्वाभाविक हो,’ कांग्रेसको भनाइ छ, ‘नेपालको सार्वभौमिकता र सीमा सम्बन्धी अत्यन्त संवेदनशील र गम्भीर विषयमा वास्तविकता सार्वजनिक गर्न गरिएको विलम्वले सरकारको नियतमाथि गम्भीर प्रश्न खडा भएको छ, अविलम्व वास्तविक विवरण सार्वजनिक गरेर नेपाली जनतालाई सुसूचित गर्न नेपाली कांग्रेस सरकारसंग जोडदार माग गर्दछ।’

याे पनि: 
सीमा क्षेत्रमा निर्मित भवन चिनियाँ भूभागमै बनेकाे हाे: परराष्ट्रमन्त्री ज्ञवाली (भिडियाे)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad