सामाजिक सुरक्षा योजना कार्यान्वयनको विषयले गति लिन नसकिरहेको अवस्थामा अर्थमन्त्री डा. युवराज खतिवडाले त्यसको कार्यान्वयनमा प्रतिबद्ध जनाएका छन्। सोमबार काठमाडौंमा आयोजना गरिएको ‘विश्वव्यापी सामाजिक सुरक्षाको मार्गमा नेपाल’ विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. खतिवडाले सामाजिक सुरक्षालाई संविधानले नै मौलिक हकका रुपमा स्थापित गरेकाले कार्यान्वयन गर्न प्रतिबद्ध रहेको जनाए।
‘गरिब, पछाडि परेका समुदाय र वृद्ध, अशक्त, एकल महिलाहरुलाई सरकारले सामाजिक सुरक्षाअन्तर्गत भत्ताको समेत व्यवस्था गरेको छ’, उनले कार्यक्रममा भने, ‘नेपाली समाजले परम्परागत रूपमै कुनै न कुनै रूपमा सामाजिक सुरक्षालाइ अँगाल्दै आएको हो। अहिले यसलाई आधुनिक स्वरूपमा अंगाल्नु पर्ने अवस्था छ।’
कार्यक्रमका सहभागी
कार्यक्रममा बोल्दै उनले गुठीहरुलाई नेपालको सामाजिक सुरक्षाको महत्वपूर्ण स्रोतको रुपमा व्याख्या गरे।
अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षालाई महत्व दिएर नेपाली समाजले विपद् व्यवस्थापनमा पनि उल्लेख्य योगदान दिन सफल हुँदै आएको पनि स्मरण गरे। नेपाली समाजमा ठूलाले सानालाई माया गर्ने र वृद्धवृद्धाहरुलाई सम्मान गर्ने परम्पराले पनि सामाजिक सुरक्षाको क्षेत्रमा थप योगदान पुगेको उनको भनाइ थियो।
प्यानल छलफलका सहभागी
अर्थमन्त्रालय र जर्मन सहयोग नियोग (जीआइजेड) को संयुक्त आयोजनामा सोमबार भएको सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षा कल्याणकारी राज्यको अवधारणासँग सम्बन्धित रहेकाले सरकारले यो विषयलाई स्थापित गरेरै छोड्ने बताए।
सरकारले २०७५ मंसिर १२ मा सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको थियो। सो कार्यक्रम कार्यान्वयनमा रोजगारदाता आकर्षित हुन नसक्दा कार्यान्वनको विषय सन्देहमा पर्दै गएकाे छ।
Shares

प्रतिक्रिया