लकडाउनले सहरी उपभोक्ताको किनमेल ‘ट्रेन्ड’ नै परिवर्तन गरिदिएको छ। अनलाइन सपिङमा रुचि नराख्नेहरु पनि विस्तारै यसतर्फ आकर्षित हुनथालेका छन्।
अग्रणी अनलाइन सपिङ कम्पनीण् दराजले लकडाउन अवधिमा गरेको व्यवसायको विवरणले यही देखाउँछ। देशभर १ सय २० दिनसम्म लागू भएको लकडाउनमा दराजबाट हुने ‘अर्डर’ शतप्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ।
दराजकी मार्केटिङ मेनेजर सलिना नकर्मीले लकडाउनमा नयाँ ग्राहकहरुको संख्या उल्लेख्य बढेको जानकारी दिइन्।
‘यस अवधिमा उपभोक्ताबाट हुने माग (अर्डर) दुई गुणाले बढेका थियो’, नेपालखबरसँग कुरा गर्दै सलिनाले भनिन्, ‘विशेषगरी अत्यावश्यक वस्तुहरुको डेलिभरी धेरै भइरहेको छ।’
साथै, यस अवधिमा वृद्धि भएको मागले सामानको बिक्री पनि बढेको छ। नकर्मीका अनुसार उपभोक्ताले अधिकांश खाद्यान्न र दैनिक उपभोग्य सामानहरुको ‘अर्डर’ गरेका छन्। त्यस्ता वस्तुहरूको ‘अर्डर’को परिमाण पहिलेभन्दा ८ सय गुणाले बढेको उनको भनाइ छ।
लकडाउन लम्बिँदै जाँदा ‘अर्डर’ पनि तीव्र बढेको थियो।
‘लकडाउनमा अत्यावश्यक सामानको अर्डर पूरा गर्न हामीलाई हम्मेहम्मे प¥यो’, उनले नेपालखबरसँग भनिन्, ‘बिगमार्टको सहकार्यमा सामान वितरणमा सहज बनायौँ।’
दराजले सुरुमा बिगमार्टको गोदामबाट २ सय आवश्यक उत्पादनहरु लिएर सुरु गरेको थियो। त्यसपछि बिगमार्टको सहकार्यमा विस्तारै उत्पादनहरु बढाउँदै गयो। अत्यावश्यक सामानको मागमा तीव्र बढेपछि दराजले तरकारी र बेकरी उत्पादनहरुको डेलिभरी सुरु गरेको थियो।
गत डिसेम्बरदेखि नै बिगमार्टसँग सहकार्यको पहल सुरु भए पनि लकडाउन सुरु हुनुभन्दा १० दिनअघि मात्र सुरु भएको नकर्मी बताउँछिन्। लकडाउन सुरु भएपछि भने केही अन्योल पनि देखिएको थियो। एकातिर कर्मचारीहरुलाई घरबाट काम गर्ने बानी थिएन भने उपभोक्ताले सामान अर्डर गर्न हिच्किचाएका थिए।
विस्तारै केही कर्मचारीबाहेक धेरैले घरबाट काम गरेको उनको भनाइ छ। लकडाउन लम्बिँदै जाँदा उपभोक्ताबाट हुने अर्डर पनि वृद्धि हुँदै गएको थियो।
‘हामी विस्तारै परिस्थितिअनुकूल काम गर्न थाल्यौँ’, उनले भनिन्, ‘समस्या र अन्योल समाधान हुँदै गए।’
वितरणकर्मीहरूलाई सुरक्षात्मक मास्क, ह्यान्ड सेनिटाइजर र सफा डिस्पोजेबल र पोलिथिन ग्लोभहरू प्रयोग गर्नथाले। दराजको ‘डेलिभरी हिरोहरु’अनुसार ग्राहकहरुबाट प्रशंसा गरेको उनले सुनाइन्। ग्राहकको प्रतिक्रियाबाट समस्याहरु पहिचान गर्न मद्दत गर्ने उनको भनाइ छ।
दराजबाट हुने डेलिभरीमा आउने गुनासोलाई उचित सम्बोधन गरेको उनले बताइन्। बेला–बेलामा त्यस्तो गुनासो आएको तर ग्राहकले कमी कमजोरीलाई बताइदिएर समस्या समाधान गर्न सहयोग पुगेको उनको तर्क छ।
‘यस्ता गुनासोले हामीलाई सुध्रिन र कमजोरी समाधान गर्न मद्दत गर्छ’, उनले भनिन्, ‘दराजले कुनै पनि सामान डेलिभर गर्नुअघि एसएमएस, नोटिफिकेसन, इमेल र फोनबाट उपभोक्तालाई सूचित गर्छौं।’
यदि ग्राहकहरु कुनै कारण अर्डर लिन नसक्ने अवस्था भएमा दराजका वितरणकर्मीहरूले अर्डरलाई अर्को दिन डेलिभर गर्ने उनको भनाइ छ। तीन पटकसम्म पनि ग्राहकले सामान नलिएमा अर्डर रद्द हुन्छ।
नेपालमा इ–कमर्स भर्खर फस्टाउँदै गरेकाले इ–कमर्सबारे गलत बुझाइ र पूर्वाग्रह हटाएर अनलाइन सपिङप्रति विश्वास बढाउनुपर्ने उनको भनाइ छ।
‘यसको लागि हामीले ग्राहक र विक्रेता दुवैलाई इ–कमर्स कसरी प्रयोग गर्न सकिन्छ भनेर सामाजिक सञ्जाल र दराज युनिभर्सिटीको माध्यमबाट जनचेतना बढाउँदै आइरहेका छौँ’, उनले भनिन्।
सरकारले इ–कमर्सलाई एउटा बेग्लै उद्योगको रुपमा व्यवहार गर्नुपर्ने उनको सुझाव छ। उद्योगको रुपमा सम्बोधन गर्दै नीति बनाउन आवश्यक छ।
सरकारले इ–कमर्सको लागि राष्ट्रिय रणनीति तयार परेको छ। यस क्षेत्रको विकासमा सहयोग गर्ने र नेपालमा इ–कमर्स व्यवसायको दर्ता र सञ्चालनलाई सुव्यवस्थित गर्न प्रावधानको आवश्यक रहेको नकर्मी बताइन्।
साथै, मुलुकको इ–कमर्सलाई विकास गर्न यससम्बन्धी पूर्वाधार निर्माण गर्न आवश्यक छ। जस्तो कि बाटो, बिजुली, र इन्टरनेट पहुँचको पूर्वाधार बनाउन आवश्यक रहेको उनले बताइन्।
Shares

प्रतिक्रिया