कारोबार


व्यापारघाटा चुलिँदै, ११ महिनामा १२ खर्ब ११ अर्ब ९६ करोड पुग्यो

व्यापारघाटा चुलिँदै, ११ महिनामा १२ खर्ब ११ अर्ब ९६ करोड पुग्यो

नेपालखबर
साउन ३, २०७६ शुक्रबार ९:४५,

नेपालको गत आर्थिक वर्षको ११ महिनामा व्यापारघाटा १७ दशमलव २ प्रतिशतले बढेको छ। राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार व्यापारघाटा १२ खर्ब ११ अर्ब ९६ करोड पुगेको हो।
आर्थिक वर्ष २०७५÷७६ को ११ महिनामा कुल वस्तु निर्यात १८.७ प्रतिशतले वृद्धि भई रु.८७ अर्ब ८३ करोड पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १० प्रतिशतले वृद्धि भएको थियो। त्यस्तै, कुल वस्तु आयात १७.३ प्रतिशतले बढेर १२ खर्ब ९९ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २३.६ प्रतिशतले बढेको थियो ।

भारततर्फ निर्यात बढ्दा चीनतर्फ घट्यो
गत आवको ११ महिनामा गन्तव्यका आधारमा भारततर्फ ३३.३ प्रतिशत र अन्य मुलुकतर्फ १.५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा २७.१ प्रतिशतले कमी आएको छ। तथ्यांकअनुसार वस्तुगत आधारमा पोलिष्टर यार्न, जुटका सामान, चाउचाउ, दाल, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, तयारी पोशाक, जुत्ता तथा चप्पल, छाला, पश्मिना लगायतका वस्तुहरुको निर्यात घटेको छ।

आयात अझै बढ्दै
वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १५.१ प्रतिशत, चीनबाट भएको आयात ३०.७ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १६.१ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, तयारी पोशाक, एम.एस. बिलेट, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार, कच्चा भटमासको तेल लगायतका वस्तुहरुको आयात घटेको छ । भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, सुख्खा बन्दरगाह भन्सार कार्यालय र नेपालगन्ज भन्सार कार्यालय बाहेक अन्य मुख्य भन्सार नाकाहरुबाट गरिएको निर्यातमा वृद्धि भएको छ । आयाततर्फ भने कृष्णनगर भन्सार कार्यालय बाहेक अन्य मुख्य भन्सार नाकाहरुबाट भएको आयातमा वृद्धि भएको छ ।

आयात–निर्यात अनुपात ६.८ प्रतिशत
समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६.७ प्रतिशत रहेको थियो । निर्यात आयात मूल्य सूचकाङ्क २०७६ जेठ महिनामा भन्सार तथ्याङ्कमा आधारित वार्षिक बिन्दुगत आधारमा निर्यातको एकाइ मूल्य सूचकाङ्क २.४ प्रतिशत र आयात मूल्य सूचकाङ्क १.९ प्रतिशतले बढेको छ। २०७५ जेठ महिनामा वार्षिक बिन्दुगत आधारमा ४.४ प्रतिशतले घटेको व्यापारको शर्त २०७६ जेठ महिनामा ०.५ प्रतिशतले बढेको छ ।

याे पनि पढ्नुहाेस्: १० महिनामा ११ खर्बको व्यापारघाटा

खुद सेवा आय १० अर्बले घाटामा
सेवा समीक्षा अवधिमा खुद सेवा आय १० अर्ब ५६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १ अर्ब ४४ करोडले बचतमा रहेको थियो । सेवा खाता अन्तर्गत भ्रमण आय समीक्षा अवधिमा ९.७ प्रतिशतले वृद्धि भई ६८ अर्ब ६३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ६२ अर्ब ५७ करोड रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय १२ प्रतिशतले वृद्धि भई रु.८० अर्ब ४५ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको खर्च ४० अर्ब ९९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ७१ अर्ब ८६ करोड रहेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad