कारोबार


मोबाइल बजारमा ‘दशैँ तिहार’ : अभावले माग धानिएन, मूल्य चर्को

मोबाइल बजारमा ‘दशैँ तिहार’ : अभावले माग धानिएन, मूल्य चर्को

सन्तोष न्यौपाने
साउन ११, २०७७ आइतबार १७:१९,

लकडाउन खुकुलिएसँगै मोबाइल बजारमा चहलपहल बढेको छ। खासगरी अनलाइन कक्षा लकडाउनमा पनि जारी हुँदा खुकुलो हुनासाथ मोबाइल बजारमा दशैँ र तिहारजस्ता ठूला पर्वमा झैँ चहलपहल बढेको हो।

सामान्यतया दशैँ र तिहारजस्ता चाडबाडमा अन्य व्यवसायजस्तै मोबाइल, ल्यापटपजस्ता ग्याजेटको माग पनि उच्च हुन्छ।

यसपालि भने चाडपर्व लाग्न तीन महिना बाँकी नै छ तर मोबाइल बजारमा भने दशैँ तिहारकै झैँ चहलपहल छ। मोबाइल र ल्यापटप खोज्ने ग्राहकको संख्या बजारमा बाक्लिएको छ।

mobile fela 16

व्यवसायीले लकडाउनको उल्लंघन गर्दै बजार खुलाउन थालेदेखि नै बजारमा मोबाइलको माग उच्च भएको थियो।

बजारमा मोबाइल व्यवसाय हेर्दा चाडपर्वको अनुभव भएको मोबाइल बिक्री गर्ने व्यवसायी बताउँछन्।  ‘यो समय चाडपर्वजस्तै भएको छ’, ताम्राकार मोबाइल व्यापार संघका सचिव गुरुदत्त शर्माले भने, ‘त्यही स्तरको व्यापार भएको छ।’

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि अनलाइन कक्षा र अनलाइन मिटिङ चल्दा मोबाइल बजार पनि चलायमान बनेको हो। यही कारण मोबाइल तथा ल्यापटपको माग बढाएको व्यवसायीको भनाइ छ।

तर मागअनुरुप बजारबाट आपूर्ति हुन भने सकेको छैन। ‘मोबाइलको आपूर्ति फाट्टफुट्ट भइरहेको छ’, शर्माले नेपालखबरसँग भने, ‘ग्राहकले खोजेको मोबाइल पाउनसकेका छैनन्।’

mobile kinneko bhid 3

लकडाउन खुकुलो भएसँगै अनलाइन कक्षाकै लागि पनि धेरै उपभोक्ता मोबाइल किन्न बजार पुगे। माग ह्वात्तै बढेपछि स्टकमा रहेको सामान बिक्री भयो तर नयाँ नआउँदा समस्या भयो। फलतः क्रेताले चाहेको मोबाइल पाएनन्।

अहिले पनि मोबाइल आयात गर्ने व्यवसायीहरुले पर्याप्त मात्रामा मोबाइल नेपाल ल्याउन सकेका छैनन्। पछिल्लो २० दिनदेखि नयाँ मोबाइल आउन नसकेको व्यवसायी स्वयं बताउँछन्।

अहिले सबै कम्पनी तथा ब्रान्डका मोबाइलको अभाव छ। चलेका मोबाइल ब्रान्डहरु ओप्पो, सामसङ, हुवावे र भिभोका मोबाइल अभाव रहेको न्युरोडका एक व्यवसायीले बताए। त्यसमध्ये पनि एमआई मोबाइलको अभाव सबैभन्दा धेरै छ।

मोबाइल फोन इम्पोर्टर्स एसोसियसन (एमपीआईए)का अध्यक्ष दिपक मल्होत्राले चार्टर्ड फ्लाइटबाट सामान ल्याउनु परेकाले बजारमा अभाव भएको बताए।

‘अहिले व्यवसायिक उडान भएको छैन,’ मल्होत्राले भने, ‘मोबाइल चार्टर्ड फ्लाइटमा ल्याउनु पर्छ। त्यो कहिलेकाहीँ मात्र हुन्छ।’

त्यस्तै, पहिरोको कारण बाटोहरु बन्द भएकाले केही दिनदेखि सामान पनि आउन नसकेको उनको भनाइ छ।

व्यवसायिक उडान सुरु भएपछि मोबाइल उपलब्धता सहज हुने उनले बताए।

मूल्य पनि बढ्यो !
बजारमा मोबाइलको माग बढेसँगै हरेक मोबाइलको मूल्यवृद्धि भएको छ। खुद्रा व्यवसायीहरुका अनुसार हरेक ब्रान्डको मोबाइलमा कम्तीमा १० प्रतिशत मूल्यवृद्धि भएको छ। कतिपयले यही अभावको मौकामा चर्को मूल्य लिनथालेका छन्।

‘हरेक मोबाइलमा २ हजारभन्दा धेरै मूल्य वृद्धि गरिएको छ’, शर्माले भने, ‘उपत्यकाबाहिर त आफूखुसी मूल्य लिन थालिएको छ।’

उपत्यकाबाहिर खुद्रा व्यवसायीले एउटा मोबाइलमै पाँच-सात हजार मूल्य बढाएको गुनासो आउनथालेको छ।

बजारमा सामान नभएको र त्यही मौकामा भएको सामान पनि एक-दुई व्यवसायीले धेरै उठाइदिने गरेर मूल्य बढाएको व्यवसायी नै बताउँछन्।

खास गरी डलरको भाउ महंगिएको र सामान आयात गर्दा धेरै लागत परेकोले मोबाइलको मूल्यवृद्धि भएको हो। अहिले मोबाइल तथा ल्यापटपलाई कार्गोबाट आयात गरिन्छ।

लकडाउनले भारत हुँदै आउने उक्त सामानलाई कार्गो गरेर विमानबाट ल्याउँदा महंगो परेको आयातकर्ताको दाबी छ।

डलरकै दर बढेका कारण पनि मोबाइलको मूल्य वृद्धि भएको मल्होत्राले बताए।

नेपाली बजारमा सामसङ, आइफोन, ओप्पो, हुवावे एमआई, भिभो, रेडमीजस्ता ब्रान्ड धेरै चलेका छन्। त्यसबाहेक लाभा, कलर्स, माइक्रोम्याक्सलगायतका ब्रान्ड पनि छन्।

बजारमा मोबाइलको बजारमा ४० प्रतिशत चोरीपैठारीबाट आएको भन्दै केही समयअघि मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन –एमपीआईए) र नेपाल मोबाइल वितरक संघले संयुक्त रुपमा विज्ञप्ति नै जारी गरी वैधानिक तरिकाबाट आयात गर्न सबैलाई आग्रह गरेका थिए।

mobile kinneko bhid 2

व्यवसायीका अनुसार अहिले बजारमा मध्यमस्तरका मोबाइलको माग धेरै छ । १० हजारदेखि २५ हजारसम्मका मोबाइलमा उपभोक्ताको माग धेरै भएको व्यवसायी बताउँछन्। अधिकांश यही मूल्य तहका मोबाइल बिक्री भइरहेका छन् ।

बजारमा एक हजार रुपैयाँआसपासका स्मार्ट फोन समेत उपलब्ध छन्। त्यस्तै, लाख रुपैयाँभन्दा धेरै पर्ने मोबाइल पनि फाट्टफुट्ट बिक्री भइरहेका छन्।

अहिले बजारमा सामसङ, सोनी, नोकिया, कलर्स, हुवावे, जियोनी, एप्पल, इन्टेक्स, डीटीसी, माइक्रोम्याक्स, माइक्रोसफ्ट, एचटीसी, ब्ल्याकबेरी, पानासोनिक, लेनोभो, सेलकोन, लाभा, बिक्यु, जोलो, विनकम, फ्लाई, भिडियोकन, बर्डलगायत मोबाइल ब्रान्ड नेपाली बजारमा उपलब्ध छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad