नेपाल टेलिकमले तारवाला टेलिफाेनबाट अरु कुनै पनि फोनमा कल ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ। टेलिकमले तारवाला टेलिफोनमा आउने फोन कलहरु अर्को मोबाइल नम्बर, सिडिएमए नम्बर वा तारवाला टेलिफोनमा ट्रान्सफर गर्न सकिन्छ।
सबै आगमन कललाई सिधै वा फोन व्यस्त भएमा मात्र वा फोन नउठेको अवस्थामा नेपाल टेलिकमकै अर्को नम्बरमा ग्राहक आफैंले कल ट्रान्सफर गर्न सकिने टेलिकमले जनाएको छ।
यो सुविधाको प्रयोगले कार्यालयमा कोही नभएका समयमा आउने टेलिफोन कलहरु नछुटाई अर्को फोनमा उठाउन सकिन्छ ।
यो सेवा ग्राहकले नजिकैको नेपाल टेलिकमको कार्यालयमा गई निःशुल्क रुपमा सुचारु गराउन सकिन्छ।
सेवा प्राप्त भएपश्चात ग्राहक स्वयंले नै चार अंकको लक कोड नम्बर आवश्यकता बमोजिम प्रयोग गरी डाइरेक्ट कल ट्रान्सफर अर्थात् एउटा नम्बरमा आउने कल सिधै अर्को नम्बरमा ट्रान्सफर हुने व्यवस्था मिलाउन सकिन्छ।
कल गरिएको नम्बर व्यस्त भएमा बिजी ट्रान्सफर अर्थात् व्यस्त हुँदा तत्काल अर्को नम्बरमा ट्रान्सफर हुने तथा नो एन्सर ट्रान्सफरमा चार पटकसम्म घण्टी बज्दा पनि फोन नउठेमा सो कल अर्को नम्बरमा ट्रान्सफर हुने सुविधा आवश्यकता बमोजिम उपयोग गर्न सकिने टेलिकमले जनाएको छ।

प्रतिक्रिया