कारोबार


ईयूको ७ वर्षे सहायता चक्रमा नेपाल ‘प्राथमिकतामा’, हवाइ उडानलाई कालोसूचीबाट हटाउन आग्रह

ईयूको ७ वर्षे सहायता चक्रमा नेपाल ‘प्राथमिकतामा’, हवाइ उडानलाई कालोसूचीबाट हटाउन आग्रह

नेपालखबर
साउन ५, २०७७ सोमबार १२:३६,

युरोपेली युनियनले नेपाललाई आफ्नो सात वर्षे सहायता चक्रमा प्राथमिकतामा राख्ने भएको छ।

सोमबार अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिका कोडीबीच अर्थ मन्त्रालयमा भएको शिष्टाचार भेटमा कोडीले उक्त जानकारी दिएकी हुन्।

उनी आफ्नो ३ वर्षे कार्यकाल पूरा गरी ब्रसेल्स फर्किन लागेकी छिन्।

विदा हुनुअघि भएको उक्त भेटमा कोडीले युरोपियन युनियनको ७ वर्षे सहायता चक्र यसै वर्ष समापन भई अर्को चरणको ७ वर्षे चक्र थालनी हुने हुँदा त्यसमा समेत नेपाललाई प्राथमिकतामा राखी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन्।

राजदूत कोडीले नेपालमा आफूले ३ वर्षको सफल कार्यकाल समापनपछि केन्द्रीय कार्यालयमा फर्किन लागेको र यस अवधिमा नेपालले आफ्नो कार्यसम्पादनमा पुर्याएको महत्वपूर्ण सहयोग र हार्दिकतापूर्ण समन्वयका लागि धन्यवाद दिइन्।

नेपालले युरोपियन युनियनसँगको सहकार्यमा राम्रो कार्य गरिरहेको आफ्नो धारणा व्यक्त गर्दै युनियनले नेपालको विकासका लागि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र बजेट सहयोग लगायत कोभिड—१९ सम्बन्धी सहयोग समेत आगामी दिनमा निरन्तर रहने कुरा जानकारी गराइन्।

पहिलो चरणमा ३६० मिलियन युरो बराबरको सहायताबाट शिक्षा, स्वास्थ्य, पोषण, पूर्वाधार, कृषि, मानव स्रोत विकास, लगानी, जलवायु परिवर्तन लगायतका क्षेत्रमा सहयोग गरिएको र आगामी सहायतामा यी क्षेत्रको अतिरिक्त स्थानीय विकास, श्रम बजार, डिजिटलाइजेशन लगानी समिश्रण, बजेट सहायता र हरित विकास जस्ता क्षेत्रमा सहायता केन्द्रीत गरी नेपालसंग सहकार्य गर्ने धारणा व्यक्त गरिन्।

 

उक्त भेटमा माननीय अर्थमन्त्रीले युरोपियन युनियनले नेपालको आर्थिक विकासमा पुर्याएको महत्वपूर्ण सहयोगका लागि धन्यवाद दिँदै निरन्तर सहयोगका लागि अनुरोध गरे। अर्थमन्त्रीले बहुधु्रवीय विश्व निर्माणमा युरोपियन युनियनले महत्वपूर्ण वैकल्पिक राजनीतिक शक्तिको भूमिका निर्वाह गरेको, नेपाल युरोपियन युनियनसँगको सहकार्यलाई थप उचाईमा लैजान इच्छुक रहेको र सवल युरोपको पक्षमा रहेको धारणा व्यक्त गरे।

उनले युरोपियन युनियनले नेपालको व्यापार, रोजगारी, लगानी, पर्यटन र आर्थिक पुनरुत्थानमा योगदान बढाउन सक्ने विश्वास व्यक्त गर्दै नेपालले पाउने बजेट सहायताले नेपालप्रतिको विकास साझेदारको विश्वासलाई प्रतिविम्बित गरेको उल्लेख गरे।

आर्थिक÷वित्तीय÷श्रमलगायत हवाइ यातायात, पर्यटन क्षेत्रमा नेपालले आफ्नो प्राथमिकता बढाएको र आर्थिक तथा वित्तीय उत्तरदायित्वसम्बन्धी कानुनी व्यवस्था गरी सुशासन, पारदर्शिता र सुधारप्रति प्रतिबद्धता सुदृढ गरेको कुरा जानकारी दिए। उनले बजेट सहयोग, सार्वजनिक वित्तीय व्यवस्थापनका क्षेत्रमा गरिने कार्यलाई नतिजासंग आवद्ध गर्ने प्रयास गरिएको जानकारी दिए।

अर्थमन्त्रीले अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति लगायत हवाई सुरक्षा सम्बन्धी कार्यमा नेपाल सरकारले उच्च प्राथमिकता दिएको र युरोपियन पर्यटकहरुको गन्तव्य नेपाललाई बनाउने प्रयास रहेको सन्दर्भमा युरोपियन युनियनले नेपालको युरोपका देशहरुमा हुने उडानलाई अनुमति दिन आग्रह गरे।

उनले धेरै किसिमका विश्वव्यापी एजेण्डामा नेपाल र युरोपियन युनियन सहकार्यमा रहेको बताउँदै साझा हितका सवालमा संगसंगै प्रगति गर्दै जानुपर्ने धारणा राखे। उनले महामहिम राजदूतको नेपालको कार्यकाल सफल रहेको र आगामी कार्यक्षेत्रमा समेत नेपाललाई सक्दो सहयोगको अपेक्षा सहित सफल यात्राको कामना व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad