समाज


कानुन कार्यान्वयमा नचुक्न र नझुक्न महानिरीक्षक थापाको निर्देशन

कानुन कार्यान्वयमा नचुक्न र नझुक्न महानिरीक्षक थापाको निर्देशन

नेपालखबर
साउन ५, २०७७ सोमबार १२:४१,

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कानुनको कार्यान्वयनमा कहिल्यै नचुक्न र नझुक्न निर्देशन दिएका छन्। उच्च नैतिक आचरण र व्यवहार प्रदर्शन गरी आफ्नो पेशागत कर्तव्य पूरा गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका हुन्।

नेपाल पुलिस क्लव भृकुटीमण्डपमा सोमबार महानगरीय प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले प्रहरी कार्यालयमा आउने हरेक सेवाग्राही समक्ष प्रहरीले उच्च आचरण र व्यवहार सहित प्रस्तुत हुन निर्देशन दिए। प्रहरीले आफ्नो आचरण सुधार गरे प्रहरीप्रति आम नागरिकको दृष्टिकोण सकारात्मक रुपमा परिवर्तन हुने उनको भनाई छ।

साधन स्रोतको उचित प्रयोग गरेर प्रहरीले काम कारवाही सञ्चालन गर्न सकेमा आगामी दिनमा संगठनले राम्रो प्रतिफल प्राप्त गर्न सक्ने उल्लेख गर्दै थापाले छिटोछरितो सेवा प्रवाह गर्नेतर्फ सदैव अग्रसर हुनुपर्नेमा जोड दिए।

अपराध अनुसन्धान तथा नियन्त्रणलाई थप प्रभावकारी, मजबुद तथा प्रमाणमुखी बनाउनुपर्नेमा महानिरीक्षक थापाले जोड दिए।

उनले भने, ‘अपराध कार्य नयाँ चरणमा प्रवेश गरेको सन्दर्भमा प्रहरीले समेत समयानुसार आफूलाई परिवर्तन गर्दै पुलिसिङका नयाँ तरिका र पेशा सम्बन्धी अध्ययन गरी अगाडि बढ्नुपर्छ।’

प्रहरी अधिकृतहरुले समस्याको पहिचान पश्चात त्यसको समाधानतर्फ अग्रसर भएमा राज्यले अख्तियार गरेको नीति तथा निर्देशनलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न सकिने उनले विश्वास व्यक्त गरे।

कोरोना भाइरसको संक्रमणको अवस्थामा प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै लकडाउन खुलेपछि हुन सक्ने अपराधजन्य घटनाप्रति प्रहरी कर्मचारी थप चनाखो हुनुपर्ने आवश्यकता रहेको महानिरीक्षक थापाले बताए।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले महानिरीक्षकबाट प्राप्त निर्देशन अक्षरस पालन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad