कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गए पनि मुलुकमा मास्कको माग बढ्दै गएको छ। सामान्यदेखि एन९५ मास्कको खपत बढिरहेको बेला मुलुकको व्यावसायिक घराना जगदम्बाले मास्क उत्पादन सुरु गरेको छ।
जगदम्बाले लकडाउनकै अवधिमा मास्क उत्पादन गर्ने भनेर उद्योग विभागमा दर्ता भएको थियो।
उद्योग विभागका निर्देशक प्रेम लुइँटेलका अनुसार लकडाउनको अवधिमा ठूला लगानीको जगदम्बा मास्कसहित अरु तीनवटा सेनिटाइजर उत्पादन गर्ने उद्योग दर्ता भएका छन्।
‘लकडाउनको अवधिमा जगदम्बा ग्रुपले मास्क उद्योग दर्ता गरेको थियो’, लुइँटेलले नेपालखबरसँग भने, ‘उसले २० करोडको लागतमा एन९५ मास्क बनाउने भनेर स्वीकृति लिएको हो।’
जगदम्बाले एन९५ मास्क उत्पादन सुरु गरिसकेको छ। उसले दुई हप्ता अघिदेखि मास्क उत्पादन सुरु गरेको हो।
त्यस्तै, यस अवधिमा उद्योग विभागबाट ३ वटा सेनिटाइजर उत्पादन गर्ने स्वीकृति लिएका छन्।
लुइँटेलका अनुसार लकडाउनको अवधिमा एउटा स्वदेश साबुन उद्योगले सेनिटाइजर उत्पादन पनि गर्ने भनेर दर्ता गरेको छ।
त्यस्तै, हिमालयन हाइजिनले पनि आफ्नो उद्योगमा सेनिटाइजर पनि थप गर्ने भनेर निवेदन दिएको छ।
विभागमा दर्ता भएको संख्या कम भए पनि लकडाउनको अवधिमा मुलुकभर मास्क र सेनिटाइजर उत्पादन गर्ने उद्योगहरुको अझ धेरै भएको व्यवसायीहरुको भनाइ छ।
व्यवसायीहरुको अनुसार पछिल्लो समय मुलुकमा कम्तीमा १० वटा मास्क उत्पादन गर्ने उद्योग आएका छन्।
ती उद्योग काठमाडौं उपत्यकासहित विराटनगरमा पनि सुरु भएका छन्। उद्योग विभागमा १० करोडभन्दा धेरै स्थिर पुँजी भएको उद्योग दर्ता हुन्छन्। त्यसभन्दा कम स्थिर पुँजी भएका उद्योगहरु भने घरेलु उद्योगमा दर्ता हुन्छन्।
‘घरेलु उद्योगहरु प्रदेशमातहतमा रहेका छन्’, लुइँटेलले भने, ‘मास्क र सेनिटाइजर उद्योग १० करोडभन्दा सानो पुँजी हुने भएकाले विभिन्न घरेलु उद्योग कार्यालयमा दर्ता भएका होलान्।’
मास्क तथा सोनिटाइजरजस्ता उद्योगहरु १० करोडभन्दा तलका पुँजीमा सञ्चालन हुने भएकाले त्यस्ता उद्योग प्रदेश प्रदेशका घरेलु कार्यालयमा दर्ता भएका छन्।

प्रतिक्रिया