मुलुकभित्र प्रयोग हुने कुल इन्टरनेट ब्यान्डविथमध्ये अधिकांश फेसबुक र गुगल प्रयोगमा खर्च भएको पाइएको छ।
नेपालमा प्रयोग हुने इन्टरनेट प्रयोगको ट्रेन्ड विश्लेषण गर्दा सामाजिक सञ्जाल फेसबुक र सर्च इन्जिन गुगलमा ८२ प्रतिशत इन्टरनेट खपत भएको पाइएको हो। नेपाल नेटवर्क सेवाप्रदायक समूहका अध्यक्ष समित जंग थिङले गुगल र फेसबुकमा मात्रै धेरैजसो इन्टरनेट खपत भएको बताए।
यी दुई प्लेटफर्ममा नेपालभित्र हुने खपतको ८२ प्रतिशत र बाह्य खपतको ५६ प्रतिशत इन्टरनेट प्रयोग भइरहेको छ। प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले मंगलबार आयोजना गरेको डिजिटल सम्मेलनमा उक्त आँकडा प्रस्तुत गरिएको हो।
त्यस्तै, नेपालमा अहिले करिब २१ सय गिगाबाइट प्रतिसेकेण्ड इण्टरनेटमध्ये ७३ प्रतिशत खपत हुने गरेको इन्टरनेट सेवा प्रदायक बताउँछन्।
प्रयोगकर्ताको संख्याको आधारमा मोबाइलमा इन्टरनेट चलाउनेहरु बढी भए पनि ताररहित इन्टरनेट प्रयोगकर्ताले कुल खपतको ११ प्रतिशतमात्रै उपभोग गरिरहेका छन्। तारमार्फत जोडिने फिक्स्ड इण्टरनेट (वाइफाइ)मा भने ८९ प्रतिशत ब्याण्डविथ खपत हुने गरेको थिङले जानकारी दिए।
लकडाउनमा ३३ प्रतिशत बढ्यो इन्टरनेट खपत
त्यस्तै, लकडाउनका कारण नेपालमा इन्टरनेटको खपत ३३ प्रतिशत बढेको पाइएको छ।
थिङले मुलुकभित्रको इन्टरनेट खपत ३५ प्रतिशत र बाह्य खपत २५ प्रतिशत बढेको बताए। उनले लकडाउन सुरु हुनुअघि १४८६ गिगाबाइट प्रतिसेकेण्ड खपत हुँदै आएको इन्टरनेट लकडाउनपछि १९७१ गिगाबाइट प्रतिसेकेण्ड पुगेको जानकारी दिए। इण्टरनेट सेवाप्रदायकहरुले आफैँ गर्ने खपतसमेत जोड्दा २१ सय गिगाबाइट प्रतिसेकेण्ड खपत हुने गरेको उनको भनाइ छ।
सामान्य अवस्थामा हरेक वर्ष औसत २३ प्रतिशतको वृद्धि हुने इन्टरनेट बजारमा लकडाउनले छोटो समयमै उच्च वृद्धि हासिल गर्न सघाउ पु¥याएको छ। लकडाउनले नेटफ्लिक्समा सिनेमा हेर्ने र घरमै बसेर टिकटक चलाउनेको संख्या बढेको छ। मोबाइल गेमिङमा पनि इण्टरनेटको खपत दोब्बर बढेको छ भने गुगल, फेसबुक र अमेजनमा पनि इण्टरनेटको प्रयोग उच्च दरले बढेको तथ्यांक थिङले प्रस्तुत गरे।
नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजय कुमार रोयले पनि लकडाउनअघिका १० दिनको तुलनामा लकडाउनपछिका १० दिनमै इण्टरनेटको प्रयोग ३६ प्रतिशतसम्म बढेको जानकारी दिए । उनले अन्तर्राष्ट्रिय ब्याण्डविथ खपत पनि १० प्रतिशत हाराहारीमा बढेको जानकारी दिए । लकडाउनले इन्टरनेटको मागमा पनि स्थिरता ल्याएको रोयले बताए।
‘पहिले दिनभरीमा कुनै समय अत्यधिक माग आउने र कुनै समय माग निकै घट्ने गरेको थियो। तर अहिले त्यस्तो उतारचढाव देखिएको छैन’, उनले भने, ‘तर साँझ ८–१० बजेको समयमा अहिले पनि इन्टरनेटको खपत उच्च विन्दुमा पुग्छ।’
नेपालमा इन्टरनेट भित्रिने नाका
नेपालमा इन्टरनेटको ब्याण्डविथ भित्र्याउने मूलबाटो भैरहवा र वीरगन्ज नाका रहेको छ। त्यसैगरी ढल्केबर, दुहबी र टनकपुरबाट पनि इन्टरनेट भित्रिन्छ। रसुवागढी नाका भएर ब्याण्डविथ किन्ने चीनसँग सम्झौता भए पनि त्यहाँबाट खासै ठूलोमात्रामा ब्याण्डविथ आयात हुन नसकेको थिङले बताए।
रसुवागढी नाकाबाट इन्टरनेट ल्याउँदा हिमाली बाटो भएकाले प्राकृतिक प्रकोपको जोखिम धेरै छ। ‘हिमपहिरो र हिमपातले पनि बेलाबेला फाइबरमा समस्या आउने हुन्छ’, थिङले भने, ‘सिन्धुपाल्चोकको तातोपानी नाकाबाट पनि ल्याउने गरी पूर्वाधार निर्माणको काम हुँदै छ। त्यो नाका खुलेपछि चाहिँ चीनसँगको कारोबार बढ्नसक्छ।’
एउटा नाकामा समस्या हुँदा अर्को नाकाबाट ब्याण्डविथ ल्याउनसक्ने सुविधा भएमा चिनियाँ ब्याण्डविथ आयात गर्न इन्टरनेट सेवाप्रदायकहरु तयार हुनसक्ने उनले बताए। भारतको तुलनामा चिनियाँ इण्टरनेट महँगो पर्ने भएकाले पनि नेपाली सेवा प्रदायक आकर्षित हुन नसकेको उनको भनाइ छ।
नेपालले अहिले भारतको एयरटेल र टाटा कम्पनीसँग ठूलो मात्रामा इन्टरनेट खरिद गरिरहेको छ। त्यसपछि सिफी र अरु थुप्रै कम्पनीको इण्टरनेट ब्याण्डविथ पनि नेपालले आयात गर्छ।
चीनबाट भने नेपाल टेलिकमले चाइना टेलिकमसँग इण्टरनेट किनिरहेको छ। अलिबाबा र बाइडुजस्ता कम्पनीबाट पनि मर्कण्टायल र वल्ड लिंकले कमै मात्र भए पनि इण्टरनेट खपत गरेको थिङले जानकारी दिए।

प्रतिक्रिया