ad ad

कारोबार


मेगा बैंकद्वारा गण्डकी विकास बैंकलाई प्राप्ति

मेगा बैंकद्वारा गण्डकी विकास बैंकलाई प्राप्ति

नेपालखबर
असार २१, २०७७ आइतबार १३:३३,

पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकलाई प्राप्ति गरी मेगा बैंक नेपाल लिमिटेडले आजबाट विधिवत रुपमा संयुक्त कारोबार शुभारम्भ गरेको छ।

आइतबार पोखरामा एक समारोहका बीच गण्डकी विकास बैंकलाई मेगा बैंकमा प्राप्तिको घोषणा गरियो। कार्यक्रममा गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नारालाई सार्थक बनाउँदै मध्यमवर्गीय नेपालीको बैंक बन्न मेगा बैंकलाई सुझाव दिए। छोटो समयमै मेगा बैंक देशकै अग्रणी बनेकोमा आफूलाई खुसी लागेको भन्दै उनले आगामी दिनमा पनि व्यावसायिक सफलताका लागि शुभकामना दिए।

कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य बिन्दुकुमार थापा र पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जि.सी.ले गण्डकी विकास बैंकलाई प्राप्ति गरेकोमा मेगा बैंकलाई बधाई तथा शुभकामना दिए। समारोहमा साबिक गण्डकी विकास बैंक सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरुलाई बैंकको श्रीबृद्धिका लागि पु-याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।

कार्यक्रममा मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहले गण्डकी विकास बैंकलाई प्राप्ति गरी आजबाट संयुक्त कारोबार शुभारम्भ गर्न पाउँदा अत्यन्तै उत्साहित भएको बताए। पोखरामा केन्द्रीय कार्यालय रहेको र ९५ वटा शाखा कार्यालय रहेको गण्डकी विकास बैंक मेगा परिवारमा समाहित भएको घोषणा गर्दै उनले पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत वृद्धि भई मेगा बैंक देशकै ठूलो मध्येको एक ‘क’ वर्गको वाणिज्य बैंकको रुपमा स्थापित भएको बताए। अध्यक्ष शाहका अनुसार, मेगा बैंक र गण्डकी विकास बैंकको शेयर आदान प्रदान अनुपात १ः१ रहेको छ।

कार्यक्रममा बोल्दै साबिक गण्डकी विकास बैंक सञ्चालक समितिका अध्यक्ष सुशील गौचनले मेगा बैंकमा समाहित हुन पाउँदा आफूहरु अत्यन्तै हर्षित भएको बताए। गण्डकी विकास बैंकले स्थापनाको छोटो सयममै गण्डकी प्रदेशसहित विभिन्न प्रदेशका ग्राहकहरुको मन जित्न सफल भएको स्मरण गर्दै उनले अब त्यो विश्वास र माया मेगा बैंकमा सरेको बताए।

मेगा बैंक सञ्चालक समितिका सदस्य एवं मर्जर समितिका संयोजक मदनकुमार आचार्यले लकडाउनको कठिन परिस्थितिमा पनि गण्डकी विकास बैंक प्राप्ति प्रक्रियालाई सफल बनाउन पाउँदा खुसी लागेको बताए। प्राप्ति प्रक्रियामा सहयोग गर्नेे सम्पूर्ण सरोकारवाला, नेपाल राष्ट्र बैंक, मेगा बैंक तथा गण्डकी विकास बैंकका सञ्चालक समिति र शेयरधनीहरुलाई आभार व्यक्त गरे।

कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले गण्डकी प्रदेशका ११ वटै जिल्लामा शाखा कार्यालय विस्तार भएको गण्डकी विकास बैंकलाई प्राप्ति गरेपछि गण्डकी प्रदेशमा मात्रै मेगा बैंकको शाखा सञ्जाल ४८ वटा भएको बताइन्। अब मेगा बैंकको शाखा सञ्जालका हिसाबले वागमती प्रदेशपछि गण्डकी प्रदेश दोस्रो नम्बरमा रहेको उनले बताइन्। उत्कृष्ट व्यवसाय गरिरहेको गण्डकीलाई प्राप्ति गरेपछि मेगा बैंकको ओज बढेको उल्लेख गर्दै उनले मेगा बैंकको शाखा सञ्जाल अब ५८ वटा जिल्लामा फैलिएको जानकारी दिइन्।

सिइओ खुञ्जेलीका अनुसार, देशका २७ वटा ‘क’ वर्गका वाणिज्य बैंकमध्ये मेगा बैंक निक्षेपका आधारमा ११औं स्थान, कर्जाका आधारमा १२ औं र मुनाफाका आधारमा ११औं स्थानमा रहेको छ। यसैगरी, मेगा बैंकको कर्मचारी संख्या पनि १२ सयबाट १८ सय पुगेको छ। 

९५ वटा शाखा सञ्जाल रहेको गण्डकी विकास बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड रहेको थियो। २०७७ चैत्र मसान्तको एकीकृत तथ्यांकका आधारमा मेगा बैंकको निक्षेप १ खर्ब २५ अर्ब भन्दा बढी र कर्जा १ खर्ब ९ अर्ब भन्दा बढी रहेको छ। ग्राहकको विश्वास जित्दै प्रतिष्ठित ‘बैंक अफ दि एयर २०१९’ पुरस्कारबाट समेत सम्मानित भएको मेगा बैंकको ग्राहक संख्या अब ११ लाख भन्दा बढी भएको छ भने शाखा संख्या २ सय ६ वटा, एक्सटेन्सन काउन्टर ३० वटा र एटीएम १ सय ४२ वटा भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .