ad ad

कारोबार


१८ लाख सेटअप बक्समा डिशहोमको निःशुल्क कक्षा

१८ लाख सेटअप बक्समा डिशहोमको निःशुल्क कक्षा

नेपालखबर
असार १२, २०७७ शुक्रबार ८:३८,

टेलिभिजन सेवा प्रदायक डिशहोमले मुलुकभरका लाखौं विद्यार्थीको पठनपाठनमा सहज होस् भनेर निःशुल्क कक्षा सञ्चालन सुरु गरेको छ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणले लकडाउनका कारण मुलुकभरका विद्यालयहरु बन्द छन्।

घरमा बसेका लाखौं विद्यार्थीको पठनपाठन निरन्तर होस् भनेर सरकारले विभिन्न सञ्चारमाध्यमबाट कक्षा सञ्चालन गर्न अनुरोध गरेको थियो।

शिक्षा मन्त्रालयले डिशहोमलाई आधिकारिक टिभी च्यानलको रुपमा छनोट गर्दै असार १ देखि कक्षा ९ र १० का विद्यार्थीलाई कक्षा सञ्चालन गर्न अनुरोध गरेको थियो।

‘सरकारको अनुरोधमा हामीले दुई च्यानलमा कक्षा सञ्चालन सुरु गरेका छौं’, डिशहोमका जीएम (सेल्स एण्ड आफ्टर सेल्स) रमेश सापकोटाले भने, ‘हामीले लाखौं विद्यार्थीलाई थप सहयोग होस् भनेर उक्त च्यानल निःशुल्क बनाइदिएका छौं।’

उनका अनुसार डिशहोमले १०० र १०१ नम्बरका च्यानलमा दिनमा चार विषय चार घण्टाका दरले कक्षा सञ्चालन भइरहेका छन्। यी च्यानलको लागि शुल्क तिर्नुपर्दैन अर्थात् कुनै पनि सेटअप बक्स रिचार्ज गरेको छैन भने पनि हेर्न सकिन्छ।

‘सबैलाई सहयोग होस् भनेर यो च्यानल रिचार्ज नगरीकन पनि चलाउन सकिने बनाएका छौं’, सापकोटाले भने, ‘पहिला यी च्यानल खुल्नलाई रिचार्ज गर्नुपथ्र्यो भने अब शुल्क नतिरेकाले पनि यी च्यानल हेर्न पाउँछन्।’

डिशहोमको निःशुल्क च्यानल हेर्न पाउने सुविधाबाट मुलुकभर वितरण भएका १८ लाख सेटअप बक्स प्रयोगकर्ता लाभान्वित हुनेछन्।

मुलुकभरका विद्यालय बन्द छन्। जसले गर्दा अभिभावक र विद्यार्थी घरमा पीडित भएर बसेको अवस्थमा रिचार्ज नगरीकन हेर्न सकिने व्यवस्था गरेको उनको भनाइ छ।

मासिक शुल्क नतिरेकाले पनि असार ७ गतेबाट यी दुई च्यानल हेर्न सक्ने भएका छन्। यी च्यानल नेपाल सरकारले जहिलेसम्म भन्छ र स्कुल जहिलेसम्म चल्दैनन् तबसम्म सञ्चालन हुने सापकोटाले बताए।

यस्तै, डिशहोमले यसअघि पनि विभिन्न च्यानलमार्फत शिक्षा र मनोरञ्जनका च्यानल चलाइरहेको छ। जुन लकडाउनको अवधिमा निःशुल्क हेर्न सकिने व्यवस्था समेत छ।

डियरवाक लर्निङ सेन्टरको सहकार्यमा डिशहोमले एजुकेसन च्यानल सञ्चालन गरिरहेको छ। लकडाउनमा घरमा बसेका विद्यार्थीहरुलाई ध्यानमा राखेर डिशहोमले कक्षा समेत सञ्चालन गरिरहेको हो। चार कक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई गणित, विज्ञान, अंग्रेजी र नेपाली विषयका कक्षा सञ्चालन गरिरहेको छ।

‘वैशाख २० देखि १५ लाख सेटअप बक्समा यो कक्षा सञ्चालन भइरहेको छ’, सापकोटाले भने, ‘डियर वाक लर्निङ सेन्टरसँगको सहकार्यमा उक्त कक्षा सञ्चालन गरिरहेका छौं।’

बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म एउटा विषय एक घण्टासम्म कक्षा सञ्चालन भइरहेको छ। उक्त कक्षा च्यानल नम्बर ११४, ११५ र ११६ मा उक्त कक्षा सञ्चालन भइरहेको छ।

दूरशिक्षा चलाउने गरी पाठ्यक्रम तयार गरेको र ग्रामीण क्षेत्रका शिक्षकले समेत यसको कक्षा लिइरहेको सापकोटाको भनाइ छ। लकडाउनभर यस कक्षालाई निरन्तरता दिने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .