नेपाल पत्रकार महासंघले कोभिड–१९ को असरपछि विभिन्न सञ्चारगृहमा श्रमजीवी पत्रकारले व्यहोर्नु परिरहेको समस्या समाधानका लागि सरोकारवाला संगठनहरुसँग छलफल गरेको छ।
महासंघ केन्द्रीय कार्यालयमा भएको छलफलमा नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार संगठन नेपाल, आदिवासी जनजाति पत्रकार महासंघ, सञ्चारिका समूह, प्रेस नेपाल, मिडिया नेपाल लगायतको सहभागिता रहेको महासंघले जनाएको छ।
छलफलमा सहभागीहरुले विभिन्न सञ्चारमाध्यमले कोभिड–१९ को बहानामा पत्रकारलाई निष्काशन गर्ने, बिदामा बस्न बाध्य बनाउने, पारिश्रमिक लगायत सुविधा कटौती गरी काम गर्न नसक्ने वातावरण बनाउने क्रम चलिरहेकाले पत्रकारको पेशागत अधिकार रक्षाको लागि महासंघको नेतृत्वमा कडा आन्दोलन गर्न सुझाव दिएका छन्।
कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघले श्रमजीवी पत्रकारका विषयमा कोहीकसैसँग सम्झौता नगर्ने र अहिलेको संकटपूर्ण समयको बहानामा पत्रकारमाथि भइरहेको अमानवीय व्यवहारको डटेर सामना गर्ने बताए। यसका लागि सञ्चारमाध्यम मात्र नभएर सञ्चालकका घरमै पुगेर धर्ना दिने तयारी पनि गरिएको उनले जानकारी दिए।
नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले अहिले वर्षौदेखि नेपालका पत्रकारले व्यहोर्नु परिरहेको समस्या समाधान गरि यो क्षेत्रलाई व्यवस्थित, पारदर्शी र आकर्षणको थलो बनाउने अवसर आएकाले सबै संगठनले मिलेर काम गर्नुपर्ने बताए। उनले मिडिया सञ्चालकले गैरजिम्मेवार काम गरिरहेको र सरकारले पनि पत्रकारका लागि कुनै राहतको कार्यक्रम नल्याएकाले पत्रकारहरु निरीह बनेकाले यसको समाधानका लागि पत्रकार महासंघले अगुवाई गर्नुपर्ने बताए।
यस्तै प्रेस संगठन नेपालका अध्यक्ष महेश्वर दाहालले वर्षौं मिडिया चलाएर ठूलो रकम कमाएका सञ्चालकले कोभिडको बहानामा पहिलो महिनादेखि नै पत्रकारलाई निष्काशन गर्नु, बिदामा राख्नु वा दिइरहेको सुविधा कटौती गर्नु बहानाबाजी मात्र भएको बताए।
आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङले सरकारले संकटमा परेका पत्रकारका लागि कुनैपनि राहतका कार्यक्रम नल्याएको बताए। यस्तै सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले अहिलेको समयमा पत्रकार महिला अझ समस्यामा रहेकोतर्फ ध्यानाकर्षण गराए।
छलफलमा प्रेस नेपालका अध्यक्ष केशव राज अर्याल, मिडिया नेपालका अध्यक्ष गोपाल पौड्याल, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, लोकतान्त्रिक छापामाध्यम सञ्जालका अध्यक्ष दामोदरप्रसाद दवाडी, क्रान्तिकारी पत्रकार संगठन नेपालका धनञ्जय बुढा लगायतले संकटको घडीमा श्रमजीवी पत्रकारहरुको पेशागत अधिकार रक्षाका लागि महासंघले गर्ने आन्दोलनमा आफ्नो संगठनको ऐक्यवद्धता रहने जनाएका थिए।

प्रतिक्रिया