ad ad

कारोबार


पर्यटन व्यवसाय कसरी सञ्चालन गर्ने? सरकारले सार्वजनिक गर्‍यो सुरक्षा कार्यविधि

पर्यटन व्यवसाय कसरी सञ्चालन गर्ने? सरकारले सार्वजनिक गर्‍यो सुरक्षा कार्यविधि

वसन्त अर्याल
असार ८, २०७७ सोमबार ९:२४,

सरकारले कोभिड १९ सँगसँगै पर्यटन व्यवसाय सञ्चालनसम्बन्धी सुरक्षा प्रोटोकल (कार्यविधि) सार्वजनिक गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले प्रोटोकल सार्वजनिक गरेका हुन्।

मन्त्री भट्टराईले कोभिड १९ को सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेको भन्दै अब पर्यटन क्षेत्रलाई कसरी अगाडि बढाउने अझै अन्योलमा रहेको बताए।

उनले यस्तो अवस्थामा पर्यटन व्यवसाय सञ्चालन गर्न प्रोटोकल सार्वजनिक गरिएको जानकारी दिए।

चैत ११ को लकडाउको केही समयलगत्तै प्रोटोकल बनाउन सुरू गरेको पर्यटन बोर्डले १ महिनाअघि पर्यटन मन्त्रालयमा बुझाएको थियो।

पर्यटन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले कोरोनापछि कसरी सुरक्षित रूपमा व्यवसाय सञ्चालन गर्ने भन्ने विषयमा प्रोटोकल बनेको जानकारी दिए।

‘होटल, रेस्टुरेन्टसँगै पर्यटनसम्बन्धी व्यवसाय कसरी सञ्चालन गर्ने भन्ने गाइडलाइन हो’, सचिव अधिकारीले भने, ‘प्रोटोकल सबैलाई पालना गर्न आग्रह गर्छु। प्रोटोकलमा कुनै सच्याउनुपर्ने विषय भएमा सबैको सुझावको आधारमा सच्याउनेछौँ।’

उनले कोभिड १९ को समयमा मात्रै नभई अब सधैँ पर्यटक स्वास्थ्य सुरक्षासम्बन्धी गाइडलाइन आवश्यक भएको बताए।

‘हामी विश्वलाई पर्यटकको सुरक्षा, सेवा र अप्ठ्यारोमा परेको अवस्थामा उद्धारमा तत्पर रहेको सन्देश दिनुपर्छ’, उनले भने।

नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मीले व्यवसाय सञ्चालन गर्ने सबैले अक्षरश पालना गर्ने विश्वास व्यक्त गरे।

पर्यटन व्यवसायी कर्ण शाक्यले कोभिड १९ पछि पर्यटन अब सेवा र सुरक्षा सँगसँगै जानुपर्ने अवस्था आएको बताए। उनले निजी क्षेत्र एक्लै अघि बढ्न नसक्ने भन्दै राज्य र समाज सँगै अगाडि बढ्नुपर्ने बताए।

उनले अन्तर्राष्ट्रिय हवाई उडान खुलेसँगै छिमेकी मुलुक भारत र चीनका पर्यटक आउनेमा विश्वास व्यक्त गरे।

‘अन्तर्राष्ट्रिय उडान खुलेसँगै छिमेकी मुलुकबाट पर्यटक आउनेमा पूर्ण विश्वास छ’, कर्ण शाक्यले भने, ‘अन्तर्राष्ट्रिय पर्यटनको जग आन्तरिक पर्यटक भएकाले अब आन्तरिक पर्यटनलाई जोड दिनुपर्छ।’

लामो समय घरभित्र बस्न बाध्य मानिस घुम्न निस्किने भन्दै सबै पर्यटन व्यवसायीले प्रोटोकल पालना गर्दै अघि बढ्ने बताए।

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य दिपक महतले कोभिड १९ को समयमा ६० देशका ५ हजार पर्यटकको उद्धार गरिएको जानकारी दिए।

‘पर्यटन बोर्डले लकडाउनको कारण ३३ जिल्लामा अलपत्र परेका करिब ५ हजार विदेशी पर्यटकलाई उद्धार गरेको छ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .