ad ad

कारोबार


चार महिनापछि विज्ञापनरहित च्यानल, यस्ता छन् क्लिनफिडका फाइदा

चार महिनापछि विज्ञापनरहित च्यानल, यस्ता छन् क्लिनफिडका फाइदा

नेपालखबर
असार १, २०७७ सोमबार १३:२,

विज्ञापनरहित (क्लिनफिड) च्यानल लागू गर्ने समय नजिकिँदै गर्दा पुनः यसको चर्चा बढ्दै गएको छ।

नेपालमा क्लिनफिड लागू गर्ने लामो समयदेखिको प्रयासबीच सरकारले गत वर्ष विज्ञापन (नियमन गर्ने) ऐन–२०७६ मै एक वर्षमा लागू गर्ने प्रावधान ल्याएको थियो।

विज्ञापन ऐन–२०७६ अनुसार आगामी कात्तिक ८ देखि क्लिनफिड लागू गर्नुपर्ने हुन्छ।

विज्ञापन संघले मुलुकको विज्ञापन उद्योगमा अर्बौं रुपैयाँ थपिने हुँदा यसलाई छिटो लागू गर्न तारन्तार माग गर्दै आएको छ।

अहिले ऐनमा क्लिनफिड लागू गर्ने समय तोकिएकाले यसको कार्यान्वयन हुनेमा केही विश्वास बढेको छ। सरकारले केवल टेलिभिजनहरुलाई कार्यान्वयनको लागि पत्राचार गरिसकेको, क्लिनफिड मेसिन ल्याइसकेको र अनुगमन समेत गर्न सुरु गर्ने बताइसकेको अवस्थामा यसको कार्यान्वयन हुने सरकारी अधिकारीहरुको भनाइ छ।

क्लिनफिड लागू गर्न तयारी गर्नुपर्ने र विदेशी च्यानलसँगको सम्झौता नवीकरण गर्ने समय लाग्ने भएकाले ऐनमै तोकेर वर्ष दिनको समयावधि दिइएको थियो।

उक्त ऐन पारित भएको कात्तिक ७ गते एक वर्ष पुग्दै छ।

क्लिनफिड लागू हुन अब झण्डै ४ महिना बाँकी रहेको अवस्थामा विदेशी च्यानल खरिद गरेका कम्पनीहरुलाई क्लिनफिड लागू गर्न तयारी अवस्थामा बस्न पत्राचार गरेको सूचना तथा प्रसारण विभागका महानिर्देशक लेखनाथ शर्माले बताए।

‘विदेशी च्यानलसँग के कस्तो सम्झौता गरेका छन् र प्राविधिक कुरा मिलाउनुपर्ने भए त्यो तयारी अवस्थामा रहन हामीले सम्बन्धित च्यानललाई पत्राचार गरिसकेका छौं’, शर्माले नेपालखबरसँग भने, ‘कात्तिक ८ गतेदेखि विज्ञापनसहितको च्यानल चलाउन पाइँदैन।’

विभागले च्यानल सञ्चालकले आफ्नो विवरण बुझाउन समेत निर्देशन दिएको छ।

साथै विभागले सञ्चालित च्यानलहरुको अनुगमनको तयारी समेत गरेको छ। त्यसको लागि विभागका क्लिनफिड सम्बन्धित ‘इक्विपमेन्ट’ तयारी अवस्थामा रहेको उनले बताए।

उक्त मेसिनले इजाजतपत्र लिए÷नलिएको, नवीकरण गरे÷नगरेको वा एक नाममा लिएको इजाजत अर्कैैमा प्रयोग भएको छ कि भन्ने कुराको पनि अनुगमन गर्ने उनले बताए।

‘अब उक्त मेसिनमा लिंक भएका च्यानल मात्र सञ्चालन हुनेछन्’, शर्माले भने, ‘असारभित्र सबै च्यानल अनुगमन गरिसक्छौँ।’

नेपाल विज्ञापन संघका निवर्तमान अध्यक्ष सन्तोष श्रेष्ठले भने क्लिनफिड लागू हुने समय नजिकिँदै गर्दा यसको तयारी भने नपुगेको बताए।

सरकारले एक वर्षको समय दिएर जसरी तयारी गर्नुपथ्र्यो त्यो अनुसार नभएको उनले बताए।

‘यसबीचमा सबै सरोकार निकाय, स्वदेशी र विदेशी च्यानलसँग व्यापक छलफल गर्नुपथ्र्यो, त्यो हुनसकेको छैन’, श्रेष्ठले भने, ‘उनीहरु के कस्तो तयारीमा छन् र के समस्या छन् भन्नेबारे छलफल हुन सकेको छैन।’

साथै, विज्ञापन ऐनमा उल्लेख भएअनुसार विज्ञापन बोर्डको गठन समेत हुनसकेको छैन। विज्ञापन बोर्डको गठन भएको भए त्यसले क्लिनफिड लागू गर्न सघाउन र प्राविधिक समस्यालाई सम्बोधन गर्नसक्ने उनको भनाइ छ।

विगतका सरकारले क्लिनफिड लागू गर्ने प्रयासमा विभिन्न अवरोध समेत आएका थिए। सरकार २०७४ असार १ देखि क्लिनफिड लागू गर्ने भनेर घोषणा गरे पनि पछि हटेको थियो।

त्यो बेला मुलुकमा सञ्चालनमा रहेका केबल टेलिभिजन महासंघहरूले समेत विरोध जनाएका थिए। साथै, भारतीय संस्था इन्डियन ब्रोडकास्टिङ फाउन्डेसनले क्लिनफिड नीति लागू नगर्न सरकारलाई दबाब समेत दिएको थियो।

उसले सञ्चार मन्त्रालयमै पुगेर यो नीति लागू नगर्न ‘लबिङ’ नै गरेको थियो।

भारतसँग सम्बन्ध चिसिएका बेला पुनः क्लिनफिड लागू गर्ने समय आएको छ। क्लिनफिड लागू गर्ने/नगर्ने विषयले भारतीय च्यानलसँग ठूलो सम्बन्ध राख्छ। उनीहरुले नेपालको क्लिनफिडअनुसार च्यानल दिन्छन् कि दिँदैनन् भन्ने कुरा उठिरहन्छ।

त्यो बेला क्लिनफिड नीतिबाट उपभोक्तालाई शुल्क महँगो पर्ने र भारतीय च्यानलले नेपालको लागि भनेर क्लिनफिड कार्यक्रम नबनाउने भन्दै केवल टेलिभिजन महासंघलगायतले क्लिनफिड नीतिको विरोध गरेको थियो।

क्लिनफिड लागू भए अहिले निःशुल्क हेरिएका च्यानलको शुल्क तिर्नुपर्ने हुन्छ। यस कारणले च्यानलको शुल्क केही महंगो पर्नसक्ने आँकलन गरिएको छ तर कति महंगो पर्ने एकीन गरिएको छैन।

के हो क्लिनफिड?
सामान्य अर्थमा क्लिनफिड भनेको विज्ञापन नभएको टेलिभिजन कार्यक्रम हो ।

संसारभर दुई किसिमका टेलिभिजन कार्यक्रम (च्यानल) हुन्छन् । पहिलो हो क्लिनफिड र अर्को हो एड्भरटाइजिङ फिड। निःशुल्क च्यानल (फ्रि एयर) पनि प्रचनलमा छ।

हामीले अहिले लागू गर्न खोजेको क्लिनफिड च्यानल हो। यो हेरेबापत शुल्क तिर्नुपर्छ। यसमा विज्ञापन आउँदैन।

अर्को, एड्भरटाइजिङ फिडमा च्यानल हेरेबापत शुल्क तिर्नुपर्दैन तर विज्ञापन बज्छन् । अहिले हामीले हेरिरहेको च्यानल भनेको एड्भरटाइजिङ फिड हो जसमा विज्ञापन आउँछन्।

तर, हामी अहिले दोहोरो मारमा छौं। विज्ञापनसहितको च्यानल हेरेबापत पैसा नतिर्नुपर्ने हो तर हामीले यसको शुल्क समेत तिर्नुपरेको छ।

त्यसैले नेपाली उपभोक्ता दोहोरो मारमा परेका छन्। हामीले एकातिर विदेशी च्यानल हेरेबापत पैसा पनि तिर्नुपरेको छ र अर्कोतिर विज्ञापन पनि हेरिरहनुपरेको छ।

यदि ती विदेशी च्यानल निःशुल्क हेर्न पाइने हो भने विज्ञापन राख्न पाउने अधिकार पनि हुन्छ।

हामीले हेरिरहेका नपाली च्यानलहरू निःशुल्क छन्। हामीले ती च्यानल हेर्न शुल्क तिर्नुपरेको छैन। यसैकारणले उनीहरुले विज्ञापन बजाउन पाउँछन्।

विज्ञापन व्यवसायीहरुका अनुसार चलेका र ठूला च्यानलले विज्ञापनसहितका निःशुल्क र सशुल्क विज्ञापनरहित दुवै कार्यक्रम बनाउने गरेका छन्।

कानुनको प्रावधानअनुसार कात्तिक ८ देखि क्लिनफिड लागू भयो भने विज्ञापनरहित च्यानल हेर्न पाइनेछ। अहिले तिरिरहेको शुल्क निरन्तर हुनेछ।

क्लिनफिड लागू भएको अवस्थामा कुनै पनि विदेशी कम्पनीले नेपाली उपभोक्तामाझ विज्ञापन बुझाउन चाहेमा नेपालका सञ्चार माध्यमलाई सिधै उक्त विज्ञापन उपलब्ध गराउनुपर्नेछ।

यस्तो परिपाटी बसेमा विदेशी ठूला कम्पनी, बहुराष्ट्रिय कम्पनीले नेपालमै आएर नेपाली विज्ञापन एजेन्सी, कलाकार र यहीको भूमि प्रयोग गरेर विज्ञापन बनाउने विश्वास छ। जसले गर्दा नेपाली मिडिया, कलाकार, एजेन्सी, लेखकदेखि विज्ञापनसम्बन्धी सबै पक्षलाई फाइदा पुग्ने आशा गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .