सरकारले २० गतेसम्मको लकडाउनलाई जेठ मसान्तसम्म पुर्याएपछि धेरैले शंका गर्न थालेका छन्, कतै सरकार अन्य समस्यासँग डराएर लकडाउन बढाइरहेको त छैन?
रोगभन्दा भोकले मानिसहरुको मृत्यु हुनथालेपछि लकडाउन समाधान होइन भन्ने सबैले भनिरहेको बेला सरकार हटाउने पक्षमा देखिँदैन।
लकडाउनलाई कसरी हटाउने भन्ने कुनै पनि योजना सरकारले हालसम्म बनाएकै छैन। ख्यालख्यालमै २ महिनाको समय लकडाउनले लगिसकेको छ। यस्तो स्थितिमा छिमेकी देशहरुले गरेको कामलाई सिको गर्न व्यवसायीहरुले अनुरोध गरेका छन्।
तीव्ररुपमा कोरोना भाइरस (कोभिड–१९) बढिरहेको भारतमा पनि जनजीवनलाई सुचारु गर्न भारत सरकारले योजनाबद्ध रुपमा लकडाउन हटाउँदै छ।
‘भारतले कसरी लकडाउनलाई हटाउँदै छ, त्यो हाम्रो लागि उदाहरण बन्न सक्छ’, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भने, ‘भारतजस्तै कोरोना संक्रमित देशले लकडाउन हटाउँदै आर्थिक गतिविधि सुरु गरिसकेका छन्।’
नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणाले स्वास्थ्यलाई ख्याल गर्दै लकडाउन खुकुलो बनाउनुपर्ने बताइन्। भारत लकडाउन खुलाउन गरेको प्रयासलाई पनि उदाहरणको रुपमा लिन सकिने उनको भनाइ छ।
त्यस्तै, व्यवसायी विष्णु प्रसाद न्यौपाने भारतले जुन ८ देखि धार्मिकस्थलदेखि होटल रेष्टुरेन्ट खोल्न लागिरहेको बेला नेपालमा भने लकडाउनलाई अझ कडा बनाइएको बताए।
भारतको लकडाउन खुलाउने ‘अनलक १.०’ योजना
भारतले लकडाउन लगाएको ६८ दिनमा जनजीवनलाई सामान्य बनाउँदै उद्योग व्यवसाय सञ्चालन गर्ने चरणबद्ध योजना सार्वजनिक गरेको छ। भारतको गृह मन्त्रालयले ‘अनलक १.०’ योजनाअन्तर्गत तीन चरणमा लकडाउनलाई खुकुलो बनाउँदै छ।
पहिलो चरण
पहिलो चरण जुन १ देखि लागू हुँदैछ। जसअन्तर्गत जुन ८ तारिखदेखि होटल, रेष्टुरेन्ट, क्याफे, सैलुनदेखि सबै किसिमका ‘हस्पिटालिटी सर्भिसेस’ सञ्चालन गर्ने निर्णय गरिसकेको छ।
त्यस्तै, पहिलो चरणमै सम्पूर्ण सपिङ मलहरु पनि खुल्दै छन्। मठमन्दिर, चर्च, मस्जिदलगायतका सबै धार्मिक स्थलहरु पनि जुन ८ देखि खुला हुँदै छन्।
दोस्रो चरणमा लकडाउन थप खुकुलो बनाउने योजनालाई जुलाई महिनामा लागू हुनेछ। जुलाई महिनाको कुन गते भन्ने एकीन हुन बाँकी छ।
दोस्रो चरण
दोस्रो चरणको योजनामा जुलाई महिनादेखि सम्पूर्ण शैक्षिक संस्था खुलाउने योजना भारतको छ। भारतले जुलाईबाट विद्यालय, कलेज, शैक्षिक तालिम केन्द्र, ट्युसन कोचिङ सेन्टर खुलाउन सक्ने योजना सार्वजनिक गरेको छ।
यो निर्णयको लागि थप अध्ययन र लेखाजोखा गरिरहेको भारत सरकारले जनाएको छ।
तेस्रो चरण
त्यस्तै, तेस्रो चरणमा भारतले अन्तर्राष्ट्रिय उडानदेखि सामाजिक गतिविधिसम्म गर्न दिने योजना सार्वजनिक गरेको छ। उसले केही ठाउँबाहेक अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै छ। त्यस्तै मेट्रो रेल पनि जुलाई महिनादेखि सुरु गर्ने जनाएको छ। यसअघि भारतमा रेल पुनः सुचारु भइसकेका छन्।
सिनेमा हल, जिम, स्विमिङ पुल, मनोरञ्जन पार्क, नाटक घर, बार, सभाकक्ष, सेमिनार हललगायतका ठाउँ खुलाउने योजना भारतको छ।
त्यसपछि सामाजिक, राजनीतिक, खेलकुद, मनोरञ्जन, सांस्कृतिक लगायतका गतिविधि गर्न दिने योजना अगाडि सारिएको छ।
यी योजनालाई सावधानीपूर्वक लागू गर्न अत्यावश्यक ठाउँबाहेक भारतभर राति ९ बजेदेखि बिहान ५ बजेसम्म कफ्र्यु लाग्नेछ।
जोखिम ठाउँमा लकडाउन जारी
संक्रमित ठाउँमा भने भारतले लकडाउनलाई यथावत् राख्ने भनेको छ। उसले सार्वजनिक गरेको योजनाअनुसार जुन ३० तारिखसम्म त्यस्ता जोखिम ठाउँमा लकडाउन जारी रहनेछ।
यस्ता जोखिम ठाउँमा अत्यावश्यक सेवाहरु सञ्चालन हुनेछन् भने मध्यवर्ती (बफर जोन) पनि तोकिनेछ।
भारतले अन्तर्राज्य वस्तु ओसारपसार र मान्छेको आवतजावतको लागि खुला गर्ने र अनुमति पत्र पनि आवश्यक नपर्ने भनिसकेको छ।
भारतले आर्थिक, सामाजिक गतिविधिलाई विस्तारै खुकुलो बनाउँदै जाने योजना अगाडि सारिरहेको बेला बढी जोखिम भएका व्यक्तिहरुलाई भने बाहिर निस्किन प्रतिबन्ध लगाएको छ।
६५ वर्षभन्दा माथि उमेरका व्यक्ति, गर्भवती, दश वर्षभन्दा कम उमेरका बालबालिकालगायतका दीर्घरोगीहरुलाई बाहिर निस्किन अनुमति दिइएको छैन।
जुन र जुलाईमा अन्तर्राष्ट्रिय उडान सुचारु
कोरोना भाइरसबाट अतिप्रभावित देशहरु समेत आगामी जुन र जुलाई महिनामा आफ्ना अन्तर्राष्ट्रिय उडान सुरु गरिसक्ने सुचना जारी गरेका छन्। युरोप, खाडी, अफ्रिकी, पूर्वी देशहरुले जुन र जुलाई महिना उडान सुरु गर्ने भनेर मिति समेत तोकिसकेका छन्।
बहराइन, बुल्गेरिया, कतार, ग्रिस देशले जुनको १० ताखिरदेखि उडान सुरु गर्ने भएका छन्। त्यस्तै, जर्मनी, अष्ट्रिया, स्विट्जरल्याण्ड, जापान, पोल्याण्ड, नेदरल्याण्डलगायतका कैयौँ देशले जुन १५ देखि अन्तर्राष्ट्रिय उडान भर्ने भनेर मिति तोकेका विभिन्न एजेन्सीहरुले जनाएका छन्।
चीनले जुलाई १ देखि बेइजिङमा अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने भनेको छ।
भारत र पाकिस्तानले जुलाई १० देखि र अमेरिकाले भने सेप्टेम्बर १ देखिमात्र अन्तर्राष्ट्रिय उडान सुरु हुने जनाएका छन्।
Shares

प्रतिक्रिया