ad ad

कारोबार


भरतपुर विमानस्थल विस्तारको प्रक्रिया सेलायो

भरतपुर विमानस्थल विस्तारको प्रक्रिया सेलायो

नेपालखबर
असार २७, २०७६ शुक्रबार १०:१५,

तराईको लुक्ला भनेर चिनिने निकै जोखिमपूर्ण मानिएको भरतपुर विमानस्थल विस्तारको प्रक्रिया तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनसँग सेलाएको छ। अधिकारी आफैँ भरतपुर आएर सरोकारवालासँग छलफल गरी तत्काल विमानस्थल विस्तारका लागि गृहकार्य अघि बढाउन निर्देशन दिएका थिए।

अधिकारीले प्रक्रिया अगाडि बढाइरहेको बेला फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परी उनको निधनसँगै विमानस्थल विस्तार प्रक्रिया सेलाएको हो। नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमका अनुसार मन्त्री अधिकारीले विमानस्थललाई विस्तार गर्न आवश्यक पर्ने सम्पूर्ण विवरण स्थानीय तहमार्फत पठाउन निर्देशन दिएका थिए।

सोहीअनुरुप कार्यालयले भरतपुर महानगरपालिकालाई आवश्यक धावनमार्गका बारेमा खुलाएर पठाइएको थियो। सोही पत्रका आधारमा महानगरपालिकाले पर्यटन मन्त्रालयमा कार्यपालिकाको बैठकले निर्णय गराई पठाएको थियो । भरतपुर महानगरपालिकाले विमानस्थल विस्तारका क्रममा नेपाली सेनालाई अन्यत्र स्थान दिन सकिने जनाएको छ ।

महानगरपालिका प्रमुख रेणु दाहालले विमानस्थल विस्तारको प्रक्रियामा सोझै मन्त्री अधिकारीसँग छलफल गरी काम अघि बढाएको जनाएका थिए। भरतपुर विमानस्थलको अहिलेको धावनमार्ग एक हजार २०० मिटर लामो छ । जहाज अवतरण गर्ने क्षेत्रमा अग्ला घर र बिजुलीका पोल÷तार भएकाले पूरै क्षेत्र जहाजले लिन पाउने अवस्था छैन । जसका कारण लुक्लामा झैँ छोटो ठाउँमा एक्कासि अवतरण गर्नुपर्ने बाध्यता छ । जसका कारण जहाजभरि यात्रु राख्नसमेत नसकिएको विमान कम्पनीले जनाउँदै आएका छन्।

धावनमार्गसँग जोडिएको नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेमा ६०० मिटर धावनमार्ग थप गर्न सकिने गौतमले बताए। जसले गर्दा सुरक्षित तवरबाट ७२ सिटका जहाज अवतरण गर्न सकिने गौतमको भनाइ छ । महानगर प्रमुख दाहालले अब मन्त्री नियुक्त भएसँगै अघि बढेको प्रक्रियालाई गति दिने बताए। भरतपुरबाट काठमाडौँ र पोखरा हवाई सेवा रहेको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .