नेपालगञ्जलाई प्लाष्टिकमुक्त सहर बनाउने अभियान सुरु भएपछि प्लाष्टिक झोला उत्पादक उद्योगले विकल्प खोज्दै झोला उत्पादन बन्द गरेका छन्।
प्लाष्टिक झोलाको विकल्पमा बिरुवा उत्पादन गर्न प्रयोग हुने ‘क्यारी ब्याग’ र ढलानमा प्रयोग हुने ‘ढलान सिटी’ उत्पादन सुरु गरिएको छ। नेपालगञ्ज औद्योगिक क्षेत्रभित्र रहेको होली प्लाष्टिक उद्योगका सञ्चालक निसार अहमद अन्सारीले भने, “क्यारी ब्याग’ र ‘ढलान सिटी’ जहाँ पायो त्यही फाल्न मिल्दैन । फेरि झोलाजस्तो कहिल्यै नसड्ने पनि होइन । प्लाष्टिकजस्तो नकारात्मक असर नपर्ने भएकाले नयाँ उत्पादन सुरु गरेका छौँ।”
क्यारी ब्याग र ढलान सिटीको बाँकेमै राम्रो बजार रहेको छ। स्थानीय बजारमै खपत हुने भएकाले होली प्लाष्टिकले उत्पादन सुरु गरिएको उद्योगले जनाएको छ। अन्सारीले हालकै मेसिनबाट सड्ने खालको झोला उत्पादन गर्ने तयारी गरेको जनाउँदै भने, “अहिलेको मेशिनलाई केही परिवर्तन गरेर नयाँ झोला उत्पादन गर्न सकिन्छ ।”
बाँकेमा होली प्लाष्टिक उद्योगबाहेक कोहलपुरमा अर्को झोला उत्पादक उद्योग रहेको छ। चार वर्षदेखि सञ्चालित होली प्लाष्टिक उद्योगमा छ जना कर्मचारी कार्यरत छन्। यहाँ उत्पादन गरेका झोला स्थानीय बजारमा खपत हुन्छन्। नेपालगञ्ज उपमहानगरपालिका लगायतका स्थानीय तहले प्लाष्टिकमुक्त अभियान शुरु गरेपछि उद्योगी विकल्प खोज्न थालेका हुन् ।
उद्योगी अन्सारीले भने, “हामी पनि यही समाजको मान्छे हो। राम्रो काम हुन्छ भने त्यसका लागि बाधक बन्दैनौँ। नाफा, घाटा हेर्दैनौ।” अन्सारीले प्लाष्टिकमुक्त अभियानकोे स्वागत गर्दै यसको पूर्ण कार्यान्वयनका लागि प्लाष्टिकको झोलामा प्रतिबन्ध लगाएर मात्रै नहुने बताए। “यो सुरुवात हो तर सबै थोक होइन”, अन्सारीले भने, “हामीजस्ता उद्योगले त बुझेर उत्पादन गर्छौं तर बाहिरबाट आयो भने त्यसको के अर्थ भयो र?”
अन्सारीले विभिन्न ‘ड्राइफुड’ प्याक गरेर भित्रिने प्लाष्टिक नियन्त्रणमा समस्या हुने भन्दै त्यसप्रति गम्भीर बन्न सरोकारवाला निकायलाई आग्रह गरे। उनले भने, “प्लाष्टिकमुक्त अभियान सफल बनाउन धेरै काम गर्न बाँकी छ। त्यसमा हाम्रो साथ रहन्छ।” नेपालगञ्ज उपमहानगरपालिकाले चौथो नगरसभाबाट प्लास्टिकमुक्त सहर बनाउने निर्णय गरेसँगै प्लास्टिकमुक्त अभियानलाई तीव्र पारिएको छ ।
कागज तथा कपडाको झोला प्रयोगमा जोड दिँदै प्लाष्टिकको झोला प्रयोगमा अटेर गर्नेलाई कारबाहीको दायरामा ल्याइने उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत हरि प्याकुरेलले बताए। “सुरुमा व्यापक प्रचारप्रसार गरेका छौँ । अब अटेर गरे कारवाही हुन्छ”, उनले भने। जथाभावी प्लाष्टिकका झोला बिक्री वितरण गर्नेलाई ५० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
व्यवसायीको साथ
प्लाष्टिक झोला प्रयोग बन्द गर्न प्लाष्टिक झोलामुक्त बनाउने अभियानलाई नेपालगञ्जका उद्योगी व्यवसायीले पनि साथ दिएका छन्। व्यवसायीले प्लाष्टिकको झोला प्रयोग नगरी त्यसको सट्टामा कागज वा कपडाको झोला प्रयोगमा ल्याउन आफ्ना ग्राहकलाई अनुरोध गर्ने गरेका छन् । व्यवसायीले पनि साना आकारका प्लाष्टिकका झोला राख्न छाडेका छन्।
केही महिनाअघि सुरु गरेको अभियानमा अहिले उपभोक्ताले पनि साथ दिन थालेका छन्। केही पसलले प्लाष्टिकका झोला प्रयोगलाई पूर्णरुपमा रोक लगाएका छन्। कतिपयले प्रयोगको अनुपात घटाउँदै कागजका झोलाको प्रयोग बढाएको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं कपडा व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बताए।
“सुरुसुरुमा उपभोक्ताले कपडाको झोला महँगो भन्दै प्रयोग गर्न आनाकानी गर्ने गरेका थिए”, उनले भने, “कागज र कपडाको झोला पुनः प्रयोग गर्न सकिने भएकाले पछिल्लो समय उपभोक्ता आफैँले झोला लिएर आउने गरेका छन् ।” सरकारले पनि यसअघि २० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिक झोलाको आयात, भण्डारण, बिक्री वितरण र प्रयोग गर्न निषेध गर्न निर्देशिका जारी गरेको थियो।
निर्देशिका अनुसार व्यवसायी मात्रै होइनन् उपभोक्ता पनि कारवाहीमा पर्नेछन् । प्लाष्टिकका झोला बिक्री वितरण र प्रयोग गर्ने कार्यलाई नियन्त्रण गर्न जिल्लामा संयन्त्र पनि गठन गरिएको थियो। यसअघि आएको वातावरण संरक्षण ऐन, २०५३ को दफा १८ (२) ले सरकारले तोकेको कम माइक्रोनको प्लाष्टिक झोलाको प्रयोग गर्नेलाई ५० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था छ। एक माइक्रोन भनेको एक मिटरको १० लाख भागमध्येको हो । रासस
प्रतिक्रिया