पर्यटन व्यवसायीहरुले बजेट कार्यान्वयन हुन सके सकारात्मक नै रहेको बताएका छन्। अर्थमन्त्री युवराज खतिवडाले बिहीबार प्रस्तुत गरेको बजेटको कार्यान्वयन कसरी हुन्छ त्यसमा भर पर्ने व्यवसायीले बताएका छन्।
ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान)का अध्यक्ष खुम बहादुर सुवेदीले बजेट भाषण निराशाजनक नभएको बताए।
‘पर्यटनलाई छुट्टाएको बजेट पूर्वधार विकास, पर्यटक मजदुरको बैकल्पिक रोजगारी, तालिम र राहतको कुरा राम्रो छ,’ सुवेदीले भने ‘कर्जाको सुविधा र ब्याजदर, कर छुट, नविन सूचना प्रणाली लागू गर्ने कुरा सकारात्मक छन्।’
उनले मुख्य कुरो बजेट भाषण भन्दा पनि कार्यविधि कसरी बन्छ र त्यो कार्यन्वय कसरी हुन्छ भन्ने मुख्य कुरा रहेका बताए।
नेपाल टुर एण्ड ट्राभल एजेन्सी (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईले आफूहरुले भनेजस्तो नभएपनि पुरै निराशा जनक नभएको बताएका छन्।
‘हामीले २ प्रतिशतमा सहुलियत ऋण माग गरेका थियौं,’ गुरागाईंले भने ‘५ प्रतिशतमा ऋण दिने बजेटमा उल्लेख छ। यो पनि सहजै कार्यन्वय भए रामै्र हुन्छ। व्यवसायीलाई अनुकुल हुनेगरी कसरी कार्यान्वय हुन्छ त्यसको पर्खाईमा छौं।’
‘हवाई उद्योगको लागि राम्रो छ’
बुद्ध एयरका प्रवन्ध निर्देशक विरेन्द्र बस्नेतले हवाई तेल घटाउने कुराले हवाई उद्योगलाई राम्रो प्रतिफल दिने बताएका छन्।
‘वक्तब्य सुन्दा हवाई इन्धिनको पूर्वधार कर १० प्रतिशत हटाउने बुझेको छु। फाइनल प्रिट हेरेपछि थाहा हुन्छ’, बस्नेतले भने ‘यदि यो कर हटाएको रहेछ भने आयल निगमले पनि तेलमा अहिले ३३ रुपैयाँ बढी लिएको छ। त्यसमा ३० रुपैयाँ घटाउने नैतिक दवाव हुन्छ।’
हवाई इन्धनको मुल्य घटे हवाई भाडा घट्ने र मध्यमवर्गका मानिस पनि हवाई यातायात प्रयोग गर्दा आन्तिरिक हवाई कम्पनी सजिलै बाँच सक्छन्।
‘पार्किङ शुल्क घटाउनुले पनि एयरलाइन्सहरुलाई धेरै फाईदा हुन्छ। लकडाउन खुलेपछि पनि ५० प्रतिशत विमान पार्किङमै हुन्छन्। यसले पनि ठुलै राहात हुन्छ,’ बस्नेतले नेपालखबरसँग भने।
पर्यटन क्षेत्र पूर्वधार विकासको लागि १ अर्व २६ करोड
सरकारले पर्यटन क्षेत्र पूर्वधार विकासको लागि १ अर्व २६ करोड विनियोजन गरेको छ। कोरोनाका कारण जोखिममा परेको पर्यटन क्षेत्रलाई पुनरुत्थानको लागि कर र ब्याजमा सुविधा उपलब्ध गराइने भएको छ।
कोभिड १९ का कारण पर्यटन श्रमिकसहितलाई ५ प्रतिशत व्याजमा कर्जा उपलब्ध गराउन ५० अर्वको कोष निमार्ण गरिने भएको छ। कोभिड १९ को प्रभावमा परेका व्यवसायीहरुलाई ५ प्रतिशतसम्म सहुलियत कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको अर्थमन्त्रीले बताएका छन्। त्यसको लागि १ खर्बको पुनर्कर्जाकोष स्थापना हुने बताएका छन्।
वायु सेवा कम्पनीहरुलाई पार्किङ, ह्यांगर लगाएतमा छुट दिने बजेटमा उल्लेख रहेको छ।
लकडाउन अवधिभरको सामाजिक सुरक्षा कोषमा रोजगारदाता तथा श्रमिकले तिर्ने रकम सरकारले तिर्ने छ। रोजगारदाताले श्रमिकलाई पारिश्रमिक दिनको लागि सामाजिक सुरक्षा कोषबाट सापटी लिन सक्ने बताइएको छ।
कोभिड १९ पछि पर्यटकीय चहलपहलको लागि राष्ट्रसेवक कर्मचारीलाई अन्तरिक पर्यटन प्रवद्र्धन गर्न देश दर्शनका लागि प्रोत्साहित गरिने छ।

प्रतिक्रिया