बंगलादेश सरकारले अमेरिकी स्याटेलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिंकलाई पहिलोपटक आफ्नै मुलुकबाट अनफिल्टर्ड अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथ छिमेकी देशहरूमा निर्यात गर्न अनुमति दिएको छ।
यो निर्णयसँगै बंगलादेशले आफूलाई दक्षिण एसियाको क्षेत्रीय डिजिटल कनेक्टिभिटी हबका रूपमा स्थापित गर्ने रणनीति अघि बढाएको छ।
बंगलादेशको पोस्ट्स तथा दूरसञ्चार विभाग (पीटीडी) को स्वीकृतिपछि बंगलादेश टेलिकम्युनिकेसन रेगुलेटरी कमिसन (बीटीआरसी) ले स्टारलिंकलाई आवश्यक नियामकीय स्वीकृति दिएको छ।
बंगलादेशी समाचार संस्था द डेली स्टारले प्राप्त गरेको आधिकारिक दस्तावेजअनुसार यो अनुमति प्राप्त गर्नुअघि महिनौंसम्म प्राविधिक अध्ययन, आन्तरिक छलफल तथा स्टारलिंक र अन्तर्राष्ट्रिय स्थलीय केबल (आईटीसी) कम्पनीहरूसँग परामर्श गरिएको थियो।
बंगलादेश सरकारको निर्णयअनुसार सरकारी स्वामित्वको बंगलादेश सबमरिन केबल कम्पनी लिमिटेड (बीएससीसीएल) ले स्टारलिंकलाई आवश्यक अन्तर्राष्ट्रिय ब्यान्डविथ उपलब्ध गराउनेछ। बीएससीसीएल र स्टारलिंकबीच तीन वर्षे इन्टरनेसनल प्राइभेट लिज्ड सर्किट (आईपीएलसी) सम्झौता भइसकेको छ। जसअन्तर्गत स्टारलिंकले छिमेकी मुलुकका ग्राहकलाई सेवा दिन बंगलादेशबाट ब्यान्डविथ प्रयोग गर्न पाउनेछ।
यदि बीएससीसीएलले आवश्यक क्षमताको ब्यान्डविथ उपलब्ध गराउन नसकेमा स्टारलिंकले निजी कम्पनी समिट कम्युनिकेसन लिमिटेड र फाइबर एट होम लिमिटेडबाटबाट पनि ब्यान्डविथ लिन सक्ने व्यवस्था गरिएको छ।
सरकारी स्वीकृतिपछि बीटीआरसीले स्टारलिंककी ग्लोबल लाइसेन्सिङ तथा मार्केट एक्टिभेसन निर्देशक रेबिका हन्टरलाई इमेलमार्फत नियामकीय स्वीकृतिपत्र पठाएको छ।
'अनफिल्टर्ड' इन्टरनेट के हो?
हाल बंगलादेशले दुईवटा सामुद्री केबल र भारतसँग जोडिएका सात अन्तर्राष्ट्रिय स्थलमार्ग केबल अपरेटरमार्फत इन्टरनेट ब्यान्डविथ आयात गर्छ। यो ब्यान्डविथ इन्टरनेट सेवा प्रदायक र मोबाइल कम्पनीसम्म पुग्नुअघि सरकारी निगरानी प्रणालीबाट फिल्टर गरिन्छ।
तर, अनफिल्टर्ड ब्यान्डविथ भने सरकार वा अपरेटरले प्रयोग गर्ने फायरवाल, डीप प्याकेट इन्स्पेक्सन (डीपीआई) र एप्लिकेसन ब्लकिङजस्ता नियन्त्रण प्रणालीबाट नगई सिधैं अन्तर्राष्ट्रिय नेटवर्कमा प्रवाह हुन्छ। प्राविधिक विज्ञहरूका अनुसार सीमापार इन्टरनेट ट्राफिक प्रभावकारी रूपमा सञ्चालन गर्न यस्तो अनफिल्टर्ड इन्टरनेट प्रोटोकल (आईपी) ट्रान्जिट अत्यावश्यक हुन्छ।
बीटीआरसीका अध्यक्ष एमडी इम्दाद उल बारीले यो ब्यान्डविथ बंगलादेशभित्र प्रयोग नहुने स्पष्ट पारेका छन्।
उनले भने, 'अनफिल्टर्ड ब्यान्डविथ बंगलादेशको आन्तरिक प्रयोगका लागि होइन। यो अन्य देशमा सेवा उपलब्ध गराउन प्रयोग हुनेछ।'
नेपाल र भुटानलाई हुन सक्छ प्रत्यक्ष लाभ
बंगलादेशी प्रविधि विज्ञ सुमोन अहमद साबिरका अनुसार यस निर्णयले बंगलादेशलाई क्षेत्रीय डेटा कनेक्टिभिटी हब बनाउन सहयोग पुग्नेछ भने स्थानीय दूरसञ्चार कम्पनीहरूले अन्तर्राष्ट्रिय ब्यान्डविथ निर्यातबाट विदेशी मुद्रा आर्जन गर्न सक्ने जानकारी दिए।
उनका अनुसार बंगलादेशका छिमेकी मुलुकहरू नेपाल र भुटानजस्ता देशलाई उच्च गुणस्तर र भरपर्दो इन्टरनेट सेवाका लागि अनफिल्टर्ड अन्तर्राष्ट्रिय कनेक्टिभिटी आवश्यक छ।
'पहिले नै अर्को देशले फिल्टर गरेको ब्यान्डविथ प्रयोग गर्न कुनै पनि देश इच्छुक हुँदैन,' उनले बंगलादेशी समाचार संस्था द डेली स्टारसँग भने।
स्टारलिंकले सन् २०२५ अप्रिल २९ मा बंगलादेशमा नन-जियोस्टेसनरी स्याटेलाइट सेवा सञ्चालनको लाइसेन्स पाएको थियो।
कम्पनीले सोही वर्षको मे महिनादेखि व्यावसायिक सेवा सुरु गरेको थियो भने अगस्ट ८ देखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। हाल कम्पनीले घरेलु सेवाका लागि दुई अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे अपरेटरबाट ८० जीबीपीएस ब्यान्डविथ प्रयोग गरिरहेको छ।
स्टारलिंकले छिमेकी देशका ग्राहकलाई सेवा दिन बंगलादेशबाट आईपीएलसी र अनफिल्टर्ड आईपी ट्रान्जिट प्रयोग गर्ने अनुमति माग्दै गत वर्षको अगस्टमा आवेदन दिएको थियो।
अनुमति प्रक्रियाका क्रममा बीटीआरसीले बंगलादेशका कुनै पनि ग्राहक-विदेशी पर्यटकले यो अनफिल्टर्ड नेटवर्क प्रयोग गर्न नपाउने सुनिश्चित गर्न निर्देशन दिएको थियो।
यसका साथै घरेलु र अन्तर्राष्ट्रिय डेटा ट्राफिक पूर्णरूपमा अलग राख्ने प्राविधिक प्रणाली विकास गर्न, विस्तृत नेटवर्क नक्सा बुझाउन र वास्तविक समयमै ट्राफिक अनुगमन गर्न सकिने प्रणाली स्थापना गर्न पनि स्टारलिंकलाई निर्देशन दिइएको थियो।
स्टारलिंकले जवाफमा बंगलादेशका ग्राहकको डेटा यस प्रणालीमार्फत नबग्ने र विदेशी ग्राहकको ट्राफिक मात्र बंगलादेशस्थित प्वाइन्ट अफ प्रेजेन्स (पीओपी) हुँदै सिंगापुर र ओमानलगायतका अन्तर्राष्ट्रिय केन्द्रसम्म पुग्ने जानकारी दिएको थियो।
यस विषयमा सन् २०२५ डिसेम्बर १५ मा बीटीआरसी, नेसनल टेलिकम्युनिकेसन मनिटरिङ सेन्टर (एनटीएमसी), स्टारलिंक र अन्य सरकारी निकायबीच उच्चस्तरीय प्राविधिक बैठकसमेत बसेको थियो। बैठकमा कालीआकोइरस्थित स्टारलिंकको पीओपीमा निगरानी, प्रतिवेदन र निरीक्षण प्रणालीको समीक्षा गरिएको थियो।
पछि जनवरी १३ मा स्टारलिंकले नियामकलाई अद्यावधिक नेटवर्क डिजाइन, नियामकीय जिज्ञासाको जवाफ, निजी अपरेटरहरूसँग अनफिल्टर्ड आईपी ट्रान्जिटका लागि आवेदन तथा एनटीएमसीले तोकेका कानुनी अवरोध (लफूल इन्टरसेप्सन) सम्बन्धी सबै सर्त पूरा गरेको जानकारी दिएको थियो। कम्पनीले बंगलादेशी ग्राहकसम्बन्धी विवरण नियामकले प्रत्यक्ष हेर्न मिल्ने एपीआई समेत उपलब्ध गराएको छ।
बीटीआरसीले सरकारलाई प्रस्ताव पठाउँदा बंगलादेशबाट यसअघि पनि सीमापार अनफिल्टर्ड ब्यान्डविथ निर्यात भएको उदाहरण प्रस्तुत गरेको थियो।
आयोगका अनुसार सन् २०२० देखि २०२५ बीच बीएससीसीएलले विभिन्न सम्झौताअन्तर्गत भारतको सरकारी दूरसञ्चार कम्पनी बीएसएनएललाई २० जीबीपीएससम्मको अनफिल्टर्ड आईपी ट्रान्जिट उपलब्ध गराएको थियो। यसले बंगलादेशबाट अनफिल्टर्ड ब्यान्डविथ निर्यात गर्ने अभ्यास पूर्णरूपमा नयाँ नभएको नियामकको निष्कर्ष छ।
Shares

प्रतिक्रिया