एनसेलले आफ्नो नाम र लोगो दुरुपयोग गरी सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रामक प्रचारप्रति सचेत रहन ग्राहक तथा सर्वसाधारणलाई आग्रह गरेको छ।
कम्पनीका अनुसार एनसेलको वार्षिकोत्सवको अवसरमा नगद पुरस्कार जित्न सकिने भन्दै विभिन्न फेसबुक पेज, लिंक, पोस्ट, स्क्रिनसट, कमेन्ट तथा सन्देशमार्फत प्रयोगकर्तालाई प्रलोभनमा पार्ने प्रयास भइरहेको पाइएको छ।
यस्ता प्रचार पूर्णरूपमा भ्रामक र अनधिकृत भएको कम्पनीले सोमबार एक सूचना प्रकाशित गर्दै स्पष्ट पारेको छ। एनसेलले त्यस्ता पेज वा लिङ्कमा क्लिक नगर्न, व्यक्तिगत विवरण नदिन तथा कुनै पनि प्रकारको संवेदनशील जानकारी उपलब्ध नगराउन आग्रह गरेको छ।
यस्ता अनाधिकृत पेज, लिङ्क वा वेबसाइटका झुटा प्रचारमा विश्वास गर्दा व्यक्तिगत विवरण चोरी हुने, बैंक खाताबाट रकम चोरी हुने, सामाजिक सञ्जाल अकाउन्ट ह्याक हुने तथा साइबर ठगीको जोखिम बढ्न सक्ने खतरा रहन्छ।
कम्पनीले आफूले यस्तो कुनै नगद रकम सम्बन्धी योजना सञ्चालन नगरेको स्पष्ट गर्दै ग्राहक तथा सर्वसाधारणलाई आधिकारिकरूपमा जारी गरिएका सूचना, कम्पनीको आधिकारिक वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जाल पेजमा प्रकाशित जानकारीलाई मात्र विश्वास गर्न अनुरोध गरेको छ।
एनसेलले ग्राहक सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै यस्ता शंकास्पद पेज, लिङ्क वा सन्देशबाट सचेत रहन र कुनै पनि जानकारीको सत्यता आधिकारिक माध्यमबाट मात्र पुष्टि गर्न आग्रह गरेको छ।
Shares

प्रतिक्रिया