ad ad

कारोबार


चीनबाट नेपालतर्फ नियमित मालबाहक रेल चलाउने तयारी छः लम्साल

चीनबाट नेपालतर्फ नियमित मालबाहक रेल चलाउने तयारी छः लम्साल

नेपालखबर
जेठ ११, २०७७ आइतबार ७:२९,

चीनको लान्झोउ र सिआनबाट एकैदिन दुई वटा मालबाहक रेल नेपालतर्फ छुटेका छन्।

शुक्रबार छुटेका दुवै रेलले नेपाल आउने सामान बोकेका छन्, जुन रेलमार्गको सुविधा रहेको तिब्बतको सिगात्सेसम्म ढुवानी हुनेछ। सिगात्सेबाट चिनियाँ ट्रकले ती सामान तिब्बतकै केरुङसम्म ल्याउने छन् र, नेपाली ट्रकमा लोड गरेर रसुवागढी हुँदै काठमाडौं ल्याउने तयारी छ।

सिआनबाट आउने रेलले ल्याउने सामान ८ दिन र लान्झोउबाट आउने रेलबाट आउने सामान १० दिनमा काठमाडौं आइपुग्ने छ।

नेपाल र चीनबीच अघिल्लो वर्ष हिमालयपार व्यापार तथा पारबहन सम्झौता भएपछि परिक्षणका रुपमा लान्झोउ र सिआनबाट मालबाहक रेल नेपालतर्फ चलाइएको हो। मध्य चीनको गान्सु प्रान्तस्थित लान्झोउ सुख्खा बन्दरगाह नेपालले प्रयोग गर्न पाउने गरी सम्झौता गरिएका चीनका सात समुद्री र सुख्खा बन्दरगाहमध्ये एक हो।

बेइजिङस्थित नेपाली दूतावासका कार्यबाहक राजदूत सुशील लम्सालका अनुसार शुक्रबार सिआन र लान्झोउबाट एकैदिन छुट्टाछुट्टै रेल नेपालतर्फ हिंडेका हुन्। लम्सालले यो परिक्षण मात्र भएपनि चीनबाट सकेसम्म नियमित रुपमा नेपालतर्फ मालबाहक रेल चलाउने तयारी भइरहेको बताए। 

‘लान्झोउबाट २०१६ को मे महिनामा पनि मालबाहक रेलले नेपालको सामान सिगात्से पुर्याएको रहेछ, सिआनबाट नेपालतर्फ मालबाहक रेल छुटेको चाहिँ यो पहिलो पटक हो’, लम्सालले बेइजिङबाट भने, ‘लान्झोउ र सिआन दुवै ठाउँबाट अहिलेलाई सातामा एउटा मालबाहक रेल नेपालतर्फ नियमित गर्ने भन्ने छ तर, त्यो व्यापारीको माग अनुसार हुन्छ होला।’

२०१६ मा लान्झोउ र ग्वान्झाउबाट पनि नेपालको सामान बोकेर मालबाहक रेल सिगात्सेसम्म आएका थिए। ग्वान्झाउस्थित नेपाली व्यवसायी सञ्जय चेतानीका अनुसार चार महिना जति त्यसरी मालबाहक रेल सिगात्से आएपछि त्यो रोकिएको थियो, जुन अहिलेसम्म सुचारु भएको छैन। लान्झोउबाट भने त्यसबेला एक खेप मात्र मालबाहक रेल सिगात्सेसम्म आएको थियो, जुन अहिले फेरि सुरु भएको हो।

सिआनबाट काठमाडौं आउने सामान बोकेर सिगात्सेतर्फ हिंडेको रेल, भिडियोः

‘यसअघि ट्रकबाट सिगात्सेसम्म सामान ढुवानी हुन्थ्यो भने अब मालबाहक रेल पनि चलाउन थालिएको हो’, लम्सालले भने, ‘हुन त यसमा चीन सरकारको पनि सहयोग होला तर, यो कसरी नियमित होला भन्ने कुरा मुख्यतः व्यवसायीको मागमा भर पर्छ।’

लान्झोउबाट हिंडेको मालबाहक रेलले २६ व्यापारिक समूहका १३ लाख अमेरिकी डलर (करिब १६ करोड रुपैयाँ) बराबरको ३९० टनभन्दा बढी सामग्री बोकेको चाइना न्यूजले जनाएको छ। जसमा कपडा, जुत्ता, अटो पार्टस् र निर्माण सामग्री छन्। सिआनबाट हिंडेको रेलमा भने काठमाडौंको सिभिल अस्पताल, सिनो हाइड्रोका सामान पनि लोड गरिएको छ।

‘दुवै रेलका सामान नेपालसम्म नै पुर्याउने टुंगो लागिसकेकाले सिगात्सेबाट काठमाडौं ल्याउन अप्ठेरो छैन’, लम्सालले थपे, ‘अहिलेका लागि यो परिक्षण मात्र हो, नेपालका लागि नियमित मालबाहक रेल चलाउन पाए हुन्थ्यो भन्ने चाहना व्यवसायीहरूमा पनि बढेको छ।’

कलकत्ता भएर पानी जहाज वा सिगात्सेको बाटो भएर ट्रकमा सामान ढुवानी गर्नभन्दा सिगात्सेसम्म रेलमा ल्याउँदा सस्तो र समय पनि थोरै लाग्छ। कलकत्ताको समुद्री मार्गबाट भन्दा रेलबाट सिगात्से ल्याएर सामान काठमाडौं ल्याउँदा ३५ दिन समय बचत हुने व्यवसायीहरू बताउँछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .