भुक्तानी सेवा दिइरहेका कम्पनीहरुले अबदेखि विभिन्न जानकारी तथा विवरण नेपाल राष्ट्र बैंकलाई बुझाउनुपर्ने भएको छ।
भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाहेकका संस्थाहरूलाई यस्तो निर्देशन दिएको हो।
केन्द्रीय बैंकको यो व्यवस्थाअनुसार अबदेखि कुनै पनि संस्थाको सञ्चालन, व्यवस्थापन वा काम कारबाहीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वामित्व हुने, नियन्त्रण गर्ने वा सहभागी हुने वा सोको वास्तविक धनी वा हिताधिकारीका वित्तीय गैरकानुनी आर्जन वा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आपराधिक संलग्नता सम्बन्धमा सबैको जानकारी राष्ट्र बैंकमा पठाउनुपर्नेछ ।
यसअन्तर्गत सम्बन्धित व्यवसायसम्बन्धी प्रचलित कानुनबमोजिमको मापदण्ड पालनाको स्वघोषणा, सम्बन्धित व्यक्तिको नाम, थर, ठेगाना, पारिवारिक विवरण, वास्तविक उनी तथा हिताधिकारीको विवरण, नेपाल वा विदेशमा कुनै कसुरमा संलग्न भए वा नभएको घोषणा र भएको भए सोको विस्तृत विवरण र वर्तमान अवस्था, कुनै प्रकारको मुद्दा मामिला, अनुसन्धान, वैकल्पिक विवाद समाधानको प्रक्रिया वा न्यायिक वा प्रशासनिक कारबाहीको प्रक्रियामा रहेको लिखित रूपमा जानकारी भएको भए सोको विवरण पेस गर्नुपर्नेछ ।
यसैगरी अदालत वा अधिकारप्राप्त अधिकारीको फैसला वा आदेशबमोजिम तिर्नु, बुझाउनु पर्ने राजस्व, सरकारी बाँकी बक्यौता रहे वा नरहेको विवरण, नेपाल वा विदेशमा कर्जासम्बन्धी कालोसूचीमा परे वा नपरेको विवरण, नेपाल र विदेशमा स्वार्थको द्वन्द्व हुन सक्ने अवस्था विद्यमान रहे वा नरहेको विवरण र सम्बन्धित व्यक्ति नेपाली नागरिक भए निजको नेपाल बाहिर कुनै सम्पत्ति रहे वा नरहेको वा कुनै सम्पत्तिमा वास्तविक धनी वा हिताधिकारी भए वा नभएको घोषणासहितका सबै विवरण भरेर राष्ट्र बैंकमा पठाउनुपर्नेछ।
चुक्ता पुँजीको पाँच प्रतिशत वा ५० लाख रुपैयाँभन्दा बढीको सेयर वा पुँजी लगानी वा खरिद गर्दा, सूचक संस्थाको सञ्चालक वा उच्च व्यवस्थापकीय पद वा तहमा नियुक्ति वा मनोनयन गर्दा र पाँच प्रतिशत वा २५ लाख रुपैयाँभन्दा बढीको सेयर वा पुँजीमा वास्तविक धनी वा हिताधिकारी रहँदा त्यसको जानकारी समेत नियमनकारी निकायमा पठाउनुपर्नेछ ।
यसैगरी विगतमा संलग्न भएको कार्य, संस्था, प्राप्त भएको जिम्मेदारी, पुरस्कार, सजायको अवस्था, कार्य सफलताको उदाहरणलगायतका विषय खुल्ने सम्बन्धित क्षेत्रको कार्य अनुभवसम्बन्धी विवरण, वित्तीय आचरण (फाइनान्सियल साउन्डनेससम्बन्धी विवरण समेत पठाउनुपर्नेछ । राष्ट्र बैंकका अनुसार यो मापदण्ड प्रारम्भ हुँदाका बखत कायम रहेको व्यक्तिको हकमा समेत यी सबै विवरण पठाउनुपर्नेछ ।
Shares

प्रतिक्रिया