नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र शिर काटेर टेबलमा राखे पार्टी राम्ररी चल्छ भन्ने मानसिकता रहेको बताएका छन्।
उनले अहिलेको परिस्थितिमा पार्टीभित्र मजबुत एकता आवश्यक रहेको बताएका छन्।
पार्टीको संगठन विभागले बुधबार काठमाडौँमा आयोजना गरेको सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कतिपय नेताले शिर काटेर टेबलमा राखिदिने हो भने पार्टी सुध्रिन्छ भन्ने अभिव्यक्ति दिएको बताए।
‘शिर काटेर टेबलमा राखिदिने हो भने जिउले मात्र पार्टी एकता हुन्छ भन्ने मानसिकता पार्टी हितमा छैन’, अध्यक्ष ओलीले भने।
‘विरोधीहरूबाट हमला भइरहेको बेला पार्टीका केही साथीहरू र कतिपय मिडियाले समेत पार्टीकै विरोध गरे’, उनले भने, ‘पार्टीमा कोही यता फर्केर बोल्ने, कोही उता फर्केर बोल्ने। पार्टीविरुद्ध भ्रम फिँजाउने। समिक्षा गर्नुपर्छ भन्ने तर समीक्षा नै नभई कोही हस्ताक्षर गर्न कुद्ने, कोही अनेक भ्रम फैलाउदै कुद्ने। यस्तो प्रवृतिले पार्टी एकताबद्ध हुन सक्दैन।’
अध्यक्ष ओलीले पार्टीभित्र अहिले व्यापक एकता चाहिएको बताए।
एमाले ३६ वर्षदेखि जनताको बहुदलीय जनवादमा एकताबद्ध भएको बताउँदै उनले सबै नेता-कार्यकर्ता त्यसकै आधारमा चल्नुपर्ने बताए।
Shares

प्रतिक्रिया