सरकारले पूर्वाधार विकास आयोजनालाई तीव्र गतिमा कार्यान्वयन गर्ने उद्देश्यसहित ‘सनसेट ल’ तयार गरेको छ।
यो कानुन बनाउने समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाका अनुसार वन ऐन, वातावरण संरक्षण ऐन, जग्गा प्राप्ति ऐनलगायत विभिन्न कानुनमा रहेका प्रक्रियागत तथा कानुनी जटिलता हटाउने गरी ‘सनसेट ल’ तयार गरिएको छ। समितिले विद्यमान कानुनहरूमा रहेका विकास निर्माणका अवरोधकारी प्रावधानहरूको समीक्षा गरी सुधारका प्रस्ताव तयार गरेको थापाले बताए।
कानुन जटिलताका कारण विकास आयोजना वर्षौंसम्म रोकिने अवस्था अन्त्य गर्न ‘सनसेट ल’ मार्फत आवश्यक संशोधन प्रस्ताव गरिएको थापाले बताए।
न्युज एजेन्सी नेपालले आयोजना गरेको कार्यक्रममा थापाले कानुनी सुधारसँगै कार्यान्वयनका क्रममा देखिने अवरोधहरू समाधान गर्ने उद्देश्य प्रस्तावमा समेटिएको थापाले बताए। ‘सनसेट ल’मा कुनै आयोजनाको स्वीकृत ईआईएमा निर्माण सामग्रीको स्रोत र परिमाण स्पष्ट उल्लेख भएको अवस्थामा फेरि छुट्टै आईईई गर्न नपर्ने व्यवस्था गर्न लागिएको छ।
वन क्षेत्र उपयोग तथा रुख कटानसम्बन्धी प्रक्रिया वर्षौंसम्म लम्बिने अवस्थालाई अन्त्य गर्न सम्बन्धित निकायले तीन महिनाभित्र निर्णय दिनुपर्ने प्रस्ताव पनि उक्त कानुनमा गरिएको छ। यदि तोकिएको अवधिभित्र निर्णय नभए प्रधानमन्त्रीको अध्यक्षतामा रहने निर्देशक समितिले आवश्यक निर्णय गरी प्रक्रिया अगाडि बढाउनसक्ने व्यवस्था गर्न लागिएको थापाले बताए।
त्यसैगरी, कानुनसम्मत रूपमा अघि बढेका आयोजनाहरू अनावश्यक रूपमा रोक्ने प्रवृत्ति अन्त्यको लागि आवश्यक प्रस्ताव पनि उक्त ऐनमा गरिएको उनले बताए। ‘नवीकरणीय ऊर्जा तथा राष्ट्रिय निकुञ्ज वा संरक्षण क्षेत्रभित्र सञ्चालन हुने जलविद्युत तथा अन्य पूर्वाधार परियोजनाका लागि पनि विशेष व्यवस्थाको प्रश्ताव गरिएको छ,’ थापाले भने, ‘नेपाल सरकारले रूपान्तरणकारी आयोजना घोषणा गरेका परियोजनाका सम्बन्धमा सम्बन्धित निकायले तीन महिनाभित्र निर्णय दिनुपर्ने व्यवस्थाको प्रस्ताव गरिएको छ।’
निर्धारित अवधिमा निर्णय नगर्ने जिम्मेवार अधिकारीमाथि कारबाही हुने व्यवस्था सहितको कानुन तयार गरिएको छ। जिम्मेवार अधिकारीले निर्णय नगरेर काम अघि नबढेको अवस्थामा निर्देशक समितिले प्रक्रिया अगाडि बढाउन सक्ने व्यवस्था पनि मस्यौदामा समेटिएको छ।
त्यसैगरी, गुठी ऐन, जग्गा प्राप्ति ऐन, विद्युत ऐन, सार्वजनिक खरिद ऐनलगायतका कानूनमा आवश्यक संशोधनको प्रस्ताव गरिएको थापाले बताए।
सार्वजनिक खरिद प्रक्रियामा सहजीकरण गर्दै सडक विस्तारका क्रममा सार्नुपर्ने विद्युत लाइन जस्ता कार्यका लागि लामो खरिद प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता हटाई छोटो प्रक्रियाबाट गर्न सकिने व्यवस्था कानुनमा आउन लागेको छ।
समितिले तयार गरेको प्रारम्भिक मस्यौदा यसै साता नेपाल सरकारलाई बुझाउने तयारी गरिएको थापाले बताए। त्यसपछि अर्थ मन्त्रालय, कानुन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, ऊर्जा मन्त्रालय तथा भौतिक पूर्वाधार मन्त्रालयलगायत सरोकारवाला निकायसँग छलफल गरी सुझाव समेटिने र मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि संसदमा प्रस्तुत हुने उनले बताए।
Shares

प्रतिक्रिया