कारोबार


स्थानीय तहबाटै घरजग्गा कारोबार र बैंकबाट धितोबन्धकमा देखिएको समस्या चिर्न विभागको पत्राचार

स्थानीय तहबाटै घरजग्गा कारोबार र बैंकबाट धितोबन्धकमा देखिएको समस्या चिर्न विभागको पत्राचार

नेपालखबर
जेठ १०, २०८३ आइतबार १४:२, काठमाडौँ

स्थानीय तहबाट घरजग्गा कारोबार गराउने र बैंक तथा वित्तीय संस्थाबाट गर्ने भनिएको धितोबन्धकी रोक्का फुकुवासम्बन्धी अनलाइन कारोबारको विषयमा समस्या देखिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले सहजीकरण गरेको छ।

नयाँ व्यवस्था कार्यान्वयनमा लैजाँदा स्थानीय तह र बैंक तथा वित्तीय संस्थामा समस्या देखिएपछि विभागले त्यसलाई समाधान गर्न आग्रसरता लिएको हो। 

विभागले नयाँ प्रावधानका कारण घरजग्गा कारोबारमा अन्योलता देखिएपछि आवश्यक निर्णय गर्दै स्थानीय तह र नेपाल बैंकर्स संघलाई पत्राचार गरेको छ। स्थानीय तहबाट घरजग्गा कारोबार सम्बन्धी सेवा प्रवाह गर्न आवश्यक पूर्वाधार तयार नहुँदा समस्या आएपछि भूमि व्यवस्थापन तथा अभिलेख विभागले न्यूनतम पूर्वाधारको सूची निकालेको छ। 

हालसम्म २२५ वटा स्थानीय तहले विभागलाई भूमि व्यवस्थापनको सेवा प्रवाह गर्न पत्र पठाएका थिए। त्यसमध्ये पहिलो चरणमा विभिन्न ३५ वटा स्थानीय तह छनोट गरी काम सुरु गर्न खोजिए पनि आवश्यक पूर्वाधारको जोहो हुन नसक्दा सेवा दिन कठिनाई उत्पन्न भएपछि विभागले सहजीकरण गरेको हो।

विभागले मानव स्रोत, कम्प्युटर तथा अन्य विद्युतीय सामग्री, कनेक्टिभिटी, दर्ता किताब तथा अन्य कागजात, कार्यकक्ष तर्फ आवश्यक पूर्वाधारको सूची बनाएर स्थानीय तहलाई सहजीकरण गरेको छ। कारोबार र कर्मचारीको संख्याको आधारमा तोकिएका उपकरणको संख्या थप हुन सक्ने विभागले जनाएको छ। विभागले स्थानीय तहहरुलाई कम्प्युटर तथा अन्य विद्युतीय सामग्रीहरुको स्पेसिफिकेसन नै तयार गरिदिएको छ। दर्ता किताब तथा अन्य कागजातको स्पेसिफिकेसन पनि विभागले सार्वजनिक गरेको छ।

विभागले स्थानीय तहमार्फत घरजग्गासम्बन्धी काम अघि बढाउन भूमि व्यवस्थापन शाखाको प्रस्तावित संगठन संरचना तयार गरेको छ। जसअन्तर्गत पालिकाको भूमि व्यवस्थापन शाखाअन्तर्गत भू-सेवा केन्द्र तथा कागजात परीक्षण फाँट, लिखत रजिष्ट्रेसन तथा जग्गा प्रशासन फाँट, नक्सा अद्यावधिक फाँट र तामेली फाँट छन्। 

त्यसैगरी, विभागले बैंक तथा वित्तीय संस्थाबाट हुने धितो बन्धकी रोक्का फुकुवासम्बन्धी कारोबार अनलाइन मार्फत गराउन नेपाल बैंकर्स संघबाट आवश्यक सहजीकरण गरिदिन पत्राचार भएपछि समस्या समाधान गर्न समेत आवश्यक निर्णय गरेको छ। 

विभागले थप/पुन: धितो बन्धक पारित, आंशिक फुकुवा, धितो सम्पत्तिको मूल्यांकन रकमभन्दा बढीमा धितोबन्धक पास गर्ने वा राजीनामा थैली रकमभन्दा बढी रकममा धितोबन्धक पारित, रोक्का रहेको जग्गामा घर कायम गर्ने, रोक्का रहेको धितो सम्पत्ति फुकुवा, बैंक तथा वित्तीय संस्थाले धितोबन्धकीको सम्बन्धमा पेस गरेको लिखतको ढाँचा सम्बन्धमा सहजीकरण गरिदिएको छ। 

यसका साथै धितोबन्धक रोक्का फुकुवाको जानकारीमा भएको ढिला सुस्ती, अनलाइन/एबीबीएसबाट भएको दस्तुर शुल्क भुक्तानीको विषयमा बैंक तथा वित्तीय संस्थामा अन्योल र समस्या देखिएपछि समाधान गर्न विभागलाई पत्राचार गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad