पश्चिम एसिया तनावको असर नेपालको वैदेशिक व्यापारमा देखिएको छ। त्योसँगै इन्धनमा भएको मूल्यवृद्धि र आकाशिँदो अमेरिकी डलरले व्यापारमा प्रत्यक्ष असर पारेको हो।
चालू आर्थिक वर्षको १० महिनामा नेपालले डिजेल र पेट्रोल आयातमा मात्रै गत वर्षको सोही अवधिको तुलनामा ३४ अर्ब ३ करोड बढी रकम खर्च गर्नुपरेको तथ्यांकले देखाएको छ।
भन्सार विभागले शुक्रबार प्रकाशन गरेको वैदेशिक व्यापारको तथ्यांकअनुसार, डिजेलको आयात परिमाणमा घटेको छ तर मूल्य भने निकै महंगो परेको छ।
तथ्यांकअनुसार, २०८२ वैशाखसम्ममा नेपालले ११ लाख ४७ हजार ६ सय ५७ किलोलिटर डिजेल आयात गरेको थियो। यस वर्ष गत वैशाखसम्ममा ११ लाख ४४ हजार ३ सय ४६ किलोलिटर मात्रै डिजेल आयात भएको छ।
गत साउनदेखि वैशाखसम्म डिजेल आयात गर्नको लागि एक खर्ब ३० अर्ब ९३ करोड खर्च भएको छ। गत वर्षमा दश महिनामा डिजेल किन्दा एक खर्ब २ अर्ब ३८ करोड रुपैयाँ मात्रै विदेशिएको थियो। यस वर्ष डिजेलकै लागि मात्र करिब २८ अर्ब ५५ करोड रुपैयाँ बढी भुक्तानी गर्नुपरेको हो।
त्यसैगरी, नेपालले गर्ने आयातमध्येको तेस्रो स्थानमा रहेको पेट्रोलका लागि पनि धेरै रकम भुक्तानी गर्नुपरेको छ। यस वर्ष पेट्रोलका लागि ५८ अर्ब ६३ करोड रुपैयाँ विदेशिएको छ। गत आवको सोही अवधिमा ५३ अर्ब ५ करोड रुपैयाँ विदेशिएको थियो। अर्थात् १० महिनाको अवधिमा पेट्रोलका लागि पाँच अर्ब ४८ करोड रुपैयाँ बढी रकम तिर्नुपरेको छ।
विभागको तथ्यांकअनुसार, यस अवधिमा आयात भएकोमध्ये दोस्रो स्थानमा कच्चा सोयाबिन तेल छ। सोयाबिनको तेल आयातको लागि एक खर्ब ६ अर्ब रुपैयाँ विदेशिएको छ। गत आव सोही अवधिमा कच्चा सोयाबिन तेल खरिदमा ८१ अर्ब ८९ करोडमात्र विदेशिएको थियो।
त्यस्तै खाना पकाउने एलपी ग्यास आयातमा ४६ अर्ब १३ करोड विदेशिएको छ। गत वर्ष सोही अवधिमा ५१ अर्ब ८१ करोडको ग्यास आयात भएको थियो।
के–के छन् मुख्य आयात?
यस वर्ष १० महिनामा ३९ अर्ब ३९ करोडको स्मार्ट फोन र २५ अर्ब ७८ करोडको सुन आयात भएको छ।
गत आव सोही अवधिमा स्मार्टफोन २८ अर्ब ७६ करोड र सुन १७ अर्ब १२ करोडको भित्रिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।
साढे दुई खर्बको निर्यात
नेपालले १० महिनाको अवधिमा साढे २ खर्ब हाराहारीको वस्तु निर्यात गरेको छ। जसमा अन्तिम उपभोग्य वस्तुको बाहुल्य देखिन्छ। वैशाखसम्म सोयाबिन तेल निर्यात १ खर्ब १ अर्ब हाराहारी भएको छ।
निर्यात हुनेमध्ये, दोस्रो स्थानमा अलैँची छ। जुन ११ अर्ब ४२ करोड बराबरको निर्यात भएको छ। कार्पेट निर्यात ८ अर्ब ४८ करोड, सूर्यमुखी तेल ७ अर्ब ४१ करोड र पाम तेल निर्यात पाँच अर्ब ५६ करोडको भएको छ।
गत आव सोही अवधिमा सोयाबिन तेल ७८ अर्ब ७५ करोड, सूर्यमुखी तेल १० अर्ब ९ करोड, कार्पेट आठ अर्ब ८४ करोड र अलैँची आयात ६ अर्ब ६७ करोडको मात्र भएको थियो।
दश महिनाको अवधिमा १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ बराबरको बस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस अवधिमा आयात १४.८२ प्रतिशतले बढेको छ।
त्यसैगरी, वैशाखसम्ममा दुई खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ बराबरको बस्तु नेपालबाट निर्यात भएको भन्सार विभागको तथ्यांक छ। नेपालबाट हुने निर्यात पनि १४.२५ प्रतिशतले नै बढेको हो।
Shares

प्रतिक्रिया