बुधबार एकैदिन सगरमाथा चुचुरोमा २७० जनाभन्दा बढी आरोही पुगेका छन्। यतिबेला सगरमाथासहितका हिमालमा वसन्त ऋतुको आरोहण जारी छ।
पर्वतारोहण सञ्चालक संघका अनुसार बुधबार सगरमाथामा पुग्नेको संख्या नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकैदिन भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो।
संघका महासचिव ऋषि राम भण्डारीले विज्ञप्ति जारी गरेर एकैदिन ठूलो संख्यामा आरोही सगरमाथा चुचुरोमा पुग्नुलाई ठूलो उपलब्धि र नेपालको पर्यटन र साहसिक क्षेत्रका लागि अत्यन्त गौरवपूर्ण क्षण भएका बताएका छन्।
यो सिजनमा आरोहीले सगरमाथा आरोहणका क्रममा विभिन्न कीर्तिमानहरु पनि कायम गरेका छन्।
विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाको ३२औँ पटक सगरमाथा आरोहण गरेका छन् भने महिला तर्फ संखुवासभाकी लाक्पा शेर्पाको ११औँ पटक सगरमाथाको सफल आरोहण गरेकी छन्।
अर्का प्रख्यात आरोही सोलुखुम्बुका ४९ वर्षीय पासाङदावा (पादावा) शेर्पा ३० औँ पटक सर्वोच्च शिखरमा पुगेका छन्।
चालु सिजनमा नेपालतर्फबाट सगरमाथा आरोहणका लागि ९९४ आरोहीहरूले अनुमति पत्र (पर्मिट) लिएका सगरमाथा आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयले जनाएको छ
वैशाख ३१ गते चुचुरोसम्मको बाटो खुलेयता आरोही र सहयोगी शेर्पासमेतको सगरमाथामा घुइरो लागेको छ। सबै आरोही आरोहण पूरा गरी सकुशल आधार शिविर फर्किएका छन्।
यो सिजनको सगरमाथा आरोहणको समय अब १० दिन मात्र बाँकी छ। आरोहण अवधिभर मौसम अनुकूल रहे यस वर्ष इतिहासकै सर्वाधिक आरोही चुचुरोमा पुग्ने अपेक्षा पर्यटन विभागको छ।
पर्यटन विभागका अनुसार यस वर्षको वसन्त ऋतुमा सगरमाथासहित ३० वटा हिमाल आरोहणका लागि एक हजार १८१ आरोहीले अनुमति लिएका छन्। जसमध्ये सगरमाथा आरोहण गर्न मात्रै ४९४ जनाले अनुमति पाएका छन् ।
विभागका सूचना अधिकारी हिमाल गौतमका अनुसार सगरमाथा आरोहणका लागि नेपालसहित ५५ देशका ४९४ आरोहीले अनुमति लिएका छन्।
विभागले यस वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरेबापत एक अर्ब २५ करोड ८४ लाख ६० हजार ५५४ रुपियाँ राजस्व सङ्कलन गरेको छ। जसमध्ये सगरमाथाबाट मात्रै एक अर्ब सात करोड ८६ लाख ९१ हजार ४७५ रुपियाँ राजस्व सङ्कलन भएको छ।
Shares

प्रतिक्रिया