मधेस


जनकपुरमा विनयतारा क्यान्सर अस्पताल बनाउन वातावरणीय मूल्यांकन पास, चाँडै काम थालिने

जनकपुरमा विनयतारा क्यान्सर अस्पताल बनाउन वातावरणीय मूल्यांकन पास, चाँडै काम थालिने

नेपालखबर
जेठ ७, २०८३ बिहिबार ११:२, काठमाडौँ

मधेस प्रदेशको जनकपुरमा बनाउन लागिएको २०० शय्याको विनयतारा क्यान्सर अस्पतालका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत भएको छ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण तथा जैविक विविधता महाशाखाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई पत्र पठाई ईआईए प्रतिवेदन स्वीकृत गरिएको जानकारी दिएको हो।

धनुषाको जनकपुर उपमहानगरपालिका-२५ मा निर्माण तथा सञ्चालन हुने प्रस्तावित अस्पतालको ईआईए प्रतिवेदन स्वीकृत भएसँगै अब निर्माण प्रक्रिया अघि बढ्ने भएको छ।

विनयताराका संस्थापक डा. विनय शाहले सरकारी स्तरबाट वातावरणीय प्रभाव मूल्यांकन स्वीकृति प्राप्त हुनु परियोजनाका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए।

उनले भने, 'जनकपुरस्थित विनयतारा क्यान्सर अस्पताल परियोजनाले नेपाल सरकारबाट वातावरणीय प्रभाव मूल्यांकन स्वीकृति पाएको घोषणा गर्न पाउँदा अत्यन्त उत्साहित छु। यसले २०० शय्याको अत्याधुनिक अस्पताल निर्माण सुरु गर्ने दिशामा महत्त्वपूर्ण बाटो खोलेको छ।'

उनका अनुसार अस्पताल बनेपछि मधेस प्रदेश र आसपासका नागरिकले आफ्नै क्षेत्रमा विश्वस्तरीय तथा सहज क्यान्सर उपचार सेवा पाउनेछन्।

सन् २०२४ देखि निर्माण सुरु गर्ने लक्ष्य राखिएको भए पनि वातावरणीय प्रभाव मूल्यांकनलगायत विभिन्न सरकारी स्वीकृतिमा समय लाग्दा परियोजना केही ढिला भएको डा. शाहले बताए।

उच्च शिक्षा अध्ययनका लागि सन् २००३ मा अमेरिका पुगेका डा. शाहले आफू भौतिक रूपमा अमेरिकामा रहे पनि मन सधैँ नेपालमै रहेको बताएका छन्।

नेपालमै विश्वस्तरीय क्यान्सर उपचार केन्द्र स्थापना गर्ने सपना बोकेको उल्लेख गर्दै उनले भने, 'म आज जे छु, त्यो नेपालले बनाएको हो। सरकारी विद्यालयमा पढेँ, सरकारी कोटामै एमबीबीएस गरेँ। अब यही देशको क्यान्सर उपचार क्षेत्रमा केही योगदान दिन चाहन्छु।'

उनका अनुसार अस्पताललाई अत्याधुनिक प्रविधिसहित दक्ष चिकित्सकीय सेवायुक्त बनाइनेछ। करिब ४ बिघा क्षेत्रफलमा निर्माण हुने अस्पताललाई पूर्ण रूपमा ‘पेपरलेस’ बनाउने योजना रहेको पनि उनले बताए।

विनयतारा फाउन्डेसनले हरेक वर्ष विश्वका चर्चित चिकित्सकलाई जनकपुर ल्याएर ‘क्यान्सर कंग्रेस’ आयोजना गर्ने गरेको छ। यसपल्ट आगामी सेप्टेम्बरमा गर्ने तयारी गरिएको छ।

अमेरिकामा दर्ता भएको गैरनाफामुखी संस्था विनयतारा फाउन्डेसनले क्यान्सरसँग सम्बन्धित सम्मेलन, सीएमई कार्यक्रम तथा दातृ सहयोगमार्फत संकलित कोषलाई नेपाल तथा दक्षिण एसियामा क्यान्सर उपचार र जनचेतनाका क्षेत्रमा परिचालन गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad