नेपाली प्रहरीको केनद्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली एनसेलको कार्यालयमा पुगेको छ।
स्मार्ट टेलिकमको उपकरण खरिदबारे अनुसन्धान गरिरहेको सीआईबीले एनसेल पुगेर छापा मारेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ।
ललितपुरको नक्खुस्थित कार्यालयमा पुगेको टोलीले सचिनलाल श्रेष्ठ र भावना श्रेष्ठको बारेमा सोधखोज गरेको छ।
‘अनुसन्धानकै क्रममा भएकाले अहिले धेरै बोल्न मिलेन। तर छापा मारिएको र केही कागजात नियन्त्रणमा लिइएको हो। हामीले जुन विषयमा अनुसन्धान गरिरहेका छौँ कुरा त्यही हो। अरु कुरा हामी हेर्दै छौँ’, सीआईबी स्रोतले भन्यो।
यता, एनसेलले पनि सीआईबीले दूरसञ्चार कम्पनी स्मार्ट टेलिकमका उपकरण तथा टावरहरु लिलामसम्बन्धी केही कागजातहरू पत्रमार्फत मागेको र सोहीबमोजिम उपलब्ध गराइएको स्वीकार गरेको छ।
‘एक जिम्मेवार कर्पोरेट संस्थाको रूपमा सदाझैँ कम्पनी सरकारी निकायहरूका काम कारबाहीमा आवश्यक सहयोग पुर्याउन पूर्ण रूपमा प्रतिबद्ध छ’, एनसेलका एक अधिकारीले नेपालखबरसँग भने।
यसअघि यही प्रकरणमा सीआईबीले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेसहित पलिना श्रेष्ठ र नरेन्द्र उलकलाई पक्राउ गरेको थियो।
बैंकले स्मार्ट टेलिकमका तत्कालीन प्रबन्धनिर्देशक सर्वेश जोशीसँग असुल गर्नुपर्ने कर्जाको धितो सकार्न बोलपत्र आह्वान गरेको थियो। त्यसमा स्मार्ट टेलिकमको सम्पत्ति सकार्न तीनवटा संस्थाहरूले सिलबन्दी बोलपत्र पेस गरेका थिए।
जसमा ट्रान्सगेट टेक प्रालिले ४४ करोड ५० लाख, प्रोफेसनल बिजनेस नेटवर्क प्रालिले ४२ करोड ५० लाख र एनसेल आजियाटा लिमिटेडले चार अर्ब ६० करोड रुपैयाँको बोलपत्र पेस गरेका थिए।
एनसेलको बोलपत्र बैंकले असुल गर्नुपर्ने तीन अर्ब ९५ करोड रुपैयाँभन्दा बढी भएकाले बैंकले उक्त बोलपत्र स्वीकृत गरेको थियो।
त्यसपछि बैंकले उक्त टेलिकमका उपकरण एनसेललाई ४ अर्ब ६० करोडमा बिक्री गरेको थियो। उक्त टेलिकम समयमै नवीकरण नगरेपछि सरकारको मातहतमा आएको थियो। सीआईबीले अहिले सरकारको सम्पत्ति बिक्री गरेको भन्दै खरिदकर्ता र बिक्रीकर्ताविरुद्ध अनुसन्धानलाई तीव्रता दिइरहेको छ।
Shares

प्रतिक्रिया