नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे भाग्दाभाग्दै सिन्धुलीबाट पक्राउ परेको पाइएको छ।
मोबाइल स्विचअफ गरेर भाग्दै गर्दा सिन्धुलीको कमलामाई नगरपालिका ६ बसपार्कबाट उनलाई पक्राउ गरेको थियो।
‘मदन भण्डारी राजमार्गबाट सवारीजाँचका क्रममा गएराति ८ बजे पाण्डेलाई पक्राउ गरिएको हो’, सीआईबी प्रमुख मनोज केसीले भने।
पाण्डे स्मार्ट टेलिकम प्रालिको सम्पत्ति खरिदबिक्री प्रकरणमा पक्राउ परेका हुन्। २०७० वैशाख २ मा दूर सञ्चार सेवा सञ्चालनका लागि आधारभूत टेलिफोन सेवाको अनुमति पाएको स्मार्ट टेलिकमले नियमानुसार अनुमतिपत्र नवीकरण गरेको थिएन। सोही कारण दूरसञ्चार ऐन २०५३ को दफा २५ को उपदफा ५ अनुसार २०८० वैशाख ३ गतेदेखि कम्पनीको अनुमतिपत्र स्वतः रद्द भएको थियो।
त्यसपछि दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली २०७९ को नियम १८ अनुसार सबै सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ
तर नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले आफ्नो ऋण सकार्ने नाउँमा स्मार्ट टेलिकमको सम्पत्ति अर्को कम्पनीलाई बिक्री गरेको थियो।
नेपाल सरकारको सम्पत्ति बेइमानीपूर्वक नेपाल सरकारको हक टुटाउने उद्देश्यले काम गरी मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघात कसुरमा लोन रिकभरी कमिटिीको अध्यक्ष समेतको हैसियतमा पाण्डे संलग्न भएको सीआईबीको आरोप छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २०८२ असोज ३ गते लिलामीको सूचना निकालेको थियो। जसमा कम्पनीका दूरसञ्चार सामग्री जडान भएका घरजग्गाधनीलाई कम्पनीले बुझाउनुपर्ने बाँकी घरबहाल र विद्युत् महशुल समेत ४० करोड उल्लेख भए पनि बैंकले घरधनीलाई त्यो रकम नदिएकाले पाण्डेविरुद्ध मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगी तथा आपराधिक विश्वासघात गरेको कसुरमा समेत सीआईबीले अनुसन्धान गरिरहेको छ।
Shares

प्रतिक्रिया