प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन सभामुखसँग रुलिङ गर्न आग्रह गरेको छ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री सदनमा अनुपस्थित रहेको भन्दै आपत्ति जनाए। प्रधानमन्त्री आफैले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन सदनमा उपस्थित हुनुपर्ने राईको भनाइ थियो।
‘हिजो हामीले प्रधानमन्त्रीको सदमा उपस्थिति खोजेका थियौँ, आज पनि अवस्था उस्तै छ। सदनमा मैले प्रधानमन्त्री देखिरहेको छैन, उहाँ आफैले बनाएको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची आज देखिएको छ, तर सदनमा प्रधानमन्त्रीज्यूलाई हामीले देख्न सकेनौँ,’ राईले भने।
संसद्को गरिमा जोगाउने जिम्मेवारी सभामुखको भएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई रुलिङ गरेर संसद्मा बोलाउन आग्रह गरे।
‘सदनको गरिमा बढाउने र ईज्जत राख्ने भुमिका सभामुखको हो। हजुर हाम्रो नायक पनि हो। तपाईंले सदनको ईज्जत राख्नुभएन भने कसैले पनि सदनको गरिमा बढाउन र ईज्जत राख्न सक्दैन,’ राईले थपे, ‘त्यसैले सभामुख मार्फत सम्माननीय प्रधानमन्त्रीज्यूलाई रुलिङ गरेर सभामा बोलाउन अनुरोध गर्दछु।’
उनले महाभियोगबाहेक अरु अवस्थामा संसदमा न्यायधीश र न्यायालयबारे बहस गर्न नपाईने उल्लेख गरे। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीले मंगलबार संसद्को रोस्टम प्रयोग गरेर न्यायधीशको आलोचना गरेको भन्दै उनले असन्तुष्टी जनाए। उनले सभामुखलाई असंवैधानिक गतिविधि रोक्न ध्यानाकर्षण गराए।
Shares

प्रतिक्रिया