कारोबार


मार्चमा भित्रिए १ लाख २० हजार पर्यटक, अमेरिकी र युरोपेली पर्यटकमा पश्चिम एसिया तनावको असर

मार्चमा भित्रिए १ लाख २० हजार पर्यटक, अमेरिकी र युरोपेली पर्यटकमा पश्चिम एसिया तनावको असर

नेपालखबर
चैत १८, २०८२ बुधबार १६:१, काठमाडौँ

सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। 

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार मार्च महिनामा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्यामा उल्लेख्य रूपमा वृद्धि देखिएको छ।

तथ्यांकअनुसार, मार्च २०२६ मा दक्षिण एसियाली (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन्। जुन कुल आगमनको करिब ३५.४ प्रतिशत हो। यसमध्ये भारतबाट सबैभन्दा धेरै २५ हजार ७२८ पर्यटक आएका छन् । श्रीलंकाबाट १० हजार ७५९ र बंगलादेशबाट ४ हजार ६७६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । 

भारतबाट आउने पर्यटकको उच्च संख्याले धार्मिक, सांस्कृतिक तथा छोटो अवधिको भ्रमण प्रवृत्ति अझै बलियो रहेको देखाउँछ।

त्यस्तै, अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्या पनि उत्साहजनक देखिएको छ। चीनबाट ११ हजार २२०, म्यानमारबाट ६ हजार २० र थाइल्याण्डबाट ३ हजार ८९७ पर्यटक नेपाल आएका छन् । जापान, मलेसिया र दक्षिण कोरियाबाट समेत उल्लेख्य आगमन भएको छ। 

समग्रमा ‘अन्य एसिया’ क्षेत्रबाट ३३ हजार ४३६ पर्यटक भित्रिएका छन्, जुन कुल आगमनको करिब २७.७ प्रतिशत हो।

युरोपेली र अमेरिकी बजारबाट आउने पर्यटकको संख्यामा उल्लेखय वृद्धि नभए पनि स्थिर देखिएको छ । पश्‍चिम एसियामा जारी युद्धको प्रभावका कारण युरोप र अमेरिकाबाट पर्यटक आगमन वृद्धिमा असर परेको बोर्डले जनाएको छ। 

यद्यपि एसियाली बजारको तुलनामा युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्या कम भए पनि उच्च खर्च गर्ने पर्यटकको रूपमा उनीहरुको योगदान महत्वपूर्ण मानिन्छ।

सन् २०२५ को मार्चमा एक लाख २१ हजार ६८७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए  भने कोभिड-१९ सुरु हुनुअघि भने सोही महिनामा १ लाख २७ हजार ३५१ आगमन भएको देखिन्छ । सन् २०२६ को फेब्रुअरीमा एक लाख ५ हजार ४४१ पर्यटक भित्रिएका थिए।

मार्च-अप्रिललाई मौसम, ट्रेकिङ सिजनलगायतका कुराले आगमन वृद्धि हुने महिनाको रुपमा हेरिन्छ । तर, यस वर्षको मुख्य सिजनमा नै पश्‍चिम एसियामा चर्किँदो युद्धले अन्तर्राष्ट्रिय उडान प्रभावित हुनुका साथै सम्बन्धित मुलुकहरुले जारी गरेको ‘ट्राभल एड्‌भाइजरी’ ले गर्दा उल्लेख्य वृद्धि हुन सकेको छैन । 

विशेषगरी यो सिजनमा अरु महिनाको तुलनामा हिमाल आरोहण, ट्रेकिङ, साहसिक पर्यटन र सांस्कृतिक भ्रमणका लागि नेपाल आउने पर्यटकको संख्या बढ्ने गर्दछ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपकराज जोशीले वैश्विक द्वन्द्व र अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा पनि आगमन तथ्यांक निराशाजनक नभएको बताएका छन् । 

उनले भने, “युरोप र अमेरिकाबाट हुने आगमन केही घटे पनि भारतलगायत छिमेकी मुलुकबाट पर्यटक आगमन बढ्नु सकारात्मक संकेत हो । हामीले पनि छिमेकी बजारलाई क्यास गर्ने गरी प्रवर्द्धनात्मक कार्यक्राहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं । यसका साथै युरोप र अमेरिकाजस्ता उच्च खर्च गर्ने पर्यटक लक्षित बजारमा पनि हाम्रो उपस्थिति अन्तर्राष्ट्रिय मार्टमार्फत सशक्त बनाउँदै लगेका छौँ।

सीईओ जोशीले हालको तथ्यांक हेर्दा आत्तिनुपर्ने अवस्था नभए पनि ढुक्क भएर बस्ने स्थिति पनि नभएको बताएका छन् । उनले भने, “विशेषगरी पश्चिम एसियामा विकसित परिस्थिति अनिश्चित बन्दै जाँदा आगामी दिनमा विश्व पर्यटन बजारलाई नै असर पार्न सक्छ । त्यसैले, नेपाल पर्यटन बोर्डले सन्तुलित र दिगो रणनीतिसहित वैकल्पिक बजार विस्तारका रणनीति बनाएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad