नेपाली कांग्रेसले अनुशासन उल्लंघनको आरोप लागेका ५०७ जनालाई ७ दिनभित्र स्पष्टीकरण सोधेको छ।
बुधबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको अनुशासन आयोगको बैठकले ७ दिनभित्र स्पष्टीकरण र सफाइ माग गर्ने निर्णय गरेको हो। कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस उम्मेदवारको विपक्षमा उभिएका पार्टीका ५०७ जनाविरुद्ध उजुरी परेको बताए।
यसमा निर्वाचनमा बागी उम्मेदवारी दिनेका साथै समर्थन र प्रस्तावक बसेका नाममा कारबाहीका लागि उजुरी परेको उनको भनाइ छ। उनका अनुसार निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध पक्ष प्रचार प्रसारमा लागेका र पार्टीका उम्मेदवारको विरुद्धमा लागेर विपक्षीलाई टेवा पुर्याएकाहरूमाथि पनि उजुरी आएका छन्।
निर्वाचनमा कांग्रेसलाई मत नमागी ‘साइलेन्स किलिङ’को काम गरेकालाई पनि कांग्रेसले ‘नोटिस’मा राखेको उनको भनाइ छ। कांग्रेसबाट जनप्रतिनिधि भइ निर्वाचनमा विपक्षीलाई सहयोग गरेकाहरूसँग पनि सात दिनभित्र स्पष्टीकरण माग गरिएको गुरुङले बताए।
‘छनबिनबाट वर्गीकरण गरिएको उजुरीको हकमा अनुशासन उल्लंघन गरिएको भनी आरोप लागेको व्यक्तिहरूबाट सात दिनभित्र स्पष्टीकरण माग गर्ने निर्णय भएको छ,’ उनले भने।
निर्वाचनमा अनुशासन उल्लंघन गरेको भए चैत मसान्तसम्म उजुरी केन्द्रीय अनुशासन समितिमा पठाउन उनको निर्देशन छ। ‘चैत मसान्तपछि आएका उजुरीमाथि कुनै कारबाही गरिने छैन,’ गुरुङले भने।
Shares

प्रतिक्रिया