नेपालको कोशी प्रदेश अन्तर्गत सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि आज काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंह र दुहवी नगरपालिकाका मेयर बेद नारायण गच्छदारले संयुक्त रुपमा शिलान्यास गरेका छन्।
भारत सरकारको आर्थिक सहयोग करिब १६ करोड ४० लाख रुपैयाँमा यस फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण हुनलागेको हो।
यो उच्च प्रभाव सामुदायिक विकास परियोजना सुनसरीको दुहवी नगरपालिकामार्फत कार्यान्वयन गरिने भारतीय दूतावासले जनाएको छ।
दुहवी नगरपालिकाका मेयर तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिएको विकास सहयोगको प्रशंसा गरेका थिए। यो नयाँ संरचनाले दुहवी नगरपालिकामा दिगो फोहोरमैला व्यवस्थापनलाई प्रवद्र्धन गर्न मद्दत पुग्नेमा विश्वास व्यक्त गरे।
नजिकका छिमेकीको रुपमा भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिविम्बित गर्दछ।
Shares

प्रतिक्रिया