नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले महासंघका पदाधिकारीहरू कुनैपनि राजनीतिक दलमा आबद्ध हुन नदिने व्यवस्था विधानमै समावेश गर्ने घोषणा गरेका छन्।
सोमबार काठमाडौँमा आयोजित आसन्न ६०औँ वार्षिक साधारण सभाका लागि प्यानल घोषणा कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो घोषणा गरेका हुन्। उनले महासंघका पदाधिकारीहरू राजनीतिक दलसँग आवद्ध भएकै कारण निजी क्षेत्र कमजोर भएको जिकिर गरे।
श्रेष्ठले भने, ‘निजी क्षेत्रको एकताको लागि हामी सबै उद्योगी व्यवसायीहरु एक हुनुपर्छ। विगतमा हामी उद्योगीहरू राजनीतिक दलको सदस्य भएकै कारण हामी कमजोर भयौँ। अब हामीले यो सबै कार्य रोक्नुपर्छ। अब कुनैपनि महासंघका पदाधिकारी वा वस्तुगतका पदाधिकारीहरू कुनैपनि राजनीतिक दलमा आवद्ध नहुनेगरी विधानमा व्यवस्था गर्छु। यति गर्न सकियो भने मात्र हामी आफ्नो बल देखाउन सक्छौँ।’
उनले अगामी कार्यकालमा निजी क्षेत्रलाई सशक्त बनाउन महासंघको नेतृत्वले उद्योगी व्यवसायीका गुनासा सुन्ने प्रभावकारी संयन्त्र निर्माण गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। उनले आफ्नो अध्यक्षको कार्यकालमा डेटा र अनुसन्धानमा आधारित नीति निर्माणतर्फ अघि बढ्ने स्पष्ट पारे।
उनले उद्योगीका समस्या पहिचान गरी सरकारसँग सहकार्य गरेर समाधान निकाल्ने भन्दै अब उद्योगी व्यवसायीले आफ्ना कुरा सुनेन भन्ने अवस्था अन्त्य गर्ने प्रतिवद्धता समेत जनाए।
श्रेष्ठले गुनासा संकलन, विश्लेषण र नतिजामुखी समाधानका लागि संस्थागत संयन्त्र विकास गर्ने योजना समेत सुनाए। उनले ऐन तथा नियम संशोधनका लागि सरकारलाई मात्र दबाब दिने परम्परागत अभ्यास अन्त्य गर्दै सार्वजनिक सरोकारका विधेयकहरू स्वयं संसदमा लैजाने रणनीति अघिका साथ काम गर्ने वचन पनि दिए।
उनले जिल्ला उद्योग वाणिज्य संघ तथा वस्तुगत समितिहरूमा देखिएको स्रोत अभाव समाधानका लागि स्थानीय तथा प्रदेश सरकारसँग संघीय तहबाट समन्वय गरिने समेत बताए। महासंघको विधानअनुसार ६०औँ साधारणसभाबाट श्रेष्ठ स्वतः अध्यक्ष हुनेछन्।
Shares

प्रतिक्रिया