अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका– इजरायल र इरानबीच जारी युद्ध अन्त्य हुनसक्ने संकेत गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ।
मूल्य घटे पनि, फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्नुअघि भन्दा तेलको मूल्य अझै एक तिहाइभन्दा बढी उच्च रहेको छ। ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै भनेका छन, 'अमेरिका र इरानबीच पछिल्ला दुई दिनमा निकै राम्रो र फलदायी वार्ता भएको छ, जसले मध्यपूर्वमा हाम्रो द्वन्द्वको पूर्ण समाधानतर्फ लैजान सक्छ।'
उनले वार्ता हप्ताभरि जारी रहने पनि बताएका छन्। यसअघि ट्रम्पले ४८ घण्टाभित्र स्ट्रेट अफ हर्मुज खुला नगरे इरानको उर्जा पूर्वाधारमा आक्रमण गर्नसक्ने बताएका थिए । त्यसलगत्तै इरानले पनि आफ्नो उर्जा केन्द्रमा हमला गरिएका खाडी राष्ट्रहरूका सम्पूर्ण पूर्वाधार तथा अन्तर्राष्ट्रिय सञ्चारका लागि बिच्छ्याईएका अप्टिकल फाईबर केबलहरूमा आक्रमण गर्ने चेतावनी दिएको थियो ।
इरान युद्ध अन्त्य गर्न टर्की र पाकिस्तानले मध्यस्तकर्ताको भूमिका निर्वाह गरिरहेको बताइएको छ । तर इरानले वासिङ्टनसँग कुनै संवाद नभएको बताउँदै ट्रम्पको दाबीलाई ऊर्जा मूल्य घटाउने र समय किन्ने प्रयास मात्र भएको जनाएको छ।
१९७० को दशकभन्दा ठूलो संकट
युद्ध चौथो हप्तामा प्रवेश गर्दा अन्तर्राष्ट्रिय उर्जा एजेन्सि( आईइए) ले हर्मुज मार्ग बन्द हुँदा विश्वव्यापी तेल आपूर्तिमा आएको कमी १९७० को दशकका तेल संकटभन्दा ठूलो भएको जनाएको छ।
स्ट्रेट अफ हर्मुजबाट विश्वको करिब एक चाैथाइ तेल आपूर्ति हुने भएकाले यसको अवरोधले विश्व बजारमा ठूलो असर परेको छ। आईइएका कार्यकारी निर्देशक फेइथ विरोलका अनुसार हर्मुज नाका बन्द हुँदा ९ देशका कम्तीमा ४४ ऊर्जा पूर्वाधार गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् ।
उनले भने, 'तेल र ग्यास मात्र होइन, पेट्रोकेमिकल, मल, सल्फर र हिलियम जस्ता क्षेत्रको व्यापार पनि अवरुद्ध भएको छ, जसले विश्व अर्थतन्त्रमा गम्भीर असर पार्नेछ।'
9
Shares

प्रतिक्रिया