उपभोक्ताहरूले आधार सिलिन्डर एलपी (खाना पकाउने) ग्यास बिक्रीवितरण गर्दा आफूहरूले राहत पाएको बताएका छन्।
मंगलबार काठमाडौँको टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा ग्यास लिन पुगेका उपभोक्ताहरूले संकटमा राहत पाएको भन्दै आयल निगमप्रति आभार समेत व्यक्त गरेका छन्। गाह्रो भइरहेको बेला आधा सिलिन्डर भएपनि ग्यास पाउँदा खुशी लागेको उनीहरूको प्रतिक्रिया थियो।
एक उपभोक्ताले भने, ‘ग्यासहरू कतै नपाएर यहाँ त्रिपुरेश्वरतिर लिन आएको छु। अब यहाँ पनि आधी नै पाइराखेको छ। ९५५ प्राईज भईहाल्यो। यस्तै हो। गाह्रो भईराखेको छ सबैलाई। त्यही भएर आधी पाए पनि खुशी नै हो। काम चलाउन पुगिराखेको छ। पछि के हुन्छ। सबैले मिलेर समस्या समाधान गरौँला। समय अनुसार सबै कुरा ठिकै हुन्छ भनेर भन्छु।’
उपभोक्ताहरूले ग्यासको अभावमा आफूहरू भोकभोकै बस्नुपर्ने अवस्था आएको गुनासो पनि गरेका छन्।
नजिकको ग्यास डिपोमा १० दिन कुर्दा पनि ग्यास नपाएपछि हैरानी व्यहोरेकी अर्की उपभोक्ताले आधि सिलिन्डर भएपनि उपलब्ध गराएको भन्दै नेपाल आयल निगमप्रति आभार व्यक्त गरिन्।
उनले भनिन्, ‘म कलंकी बस्छु। मैले १० दिन भयो खशी बजारमा नाम लेखाएको। तर मेरो चाहीँ कहिल्यै पनि पालो आएन। आज त मेरो तल बस्ने भाइहरुको ग्यासै सकियो। खाना पाकेन उनीहरूको। आज चाहिँ अति भयो भनेर धेरै ठाउँमा फोन गर्दा बल्ल थाहा भयो यहाँ दिइराखेको भनेर। आधा सिलिन्डर भएपनि लिइयो। थ्यांकक्यू उहाँहरूलाई।’
यता, आयल निगमले भने उपभोक्ताहरूको अभाव पूर्ति हुनेगरी वितरणको काम भइरहेको दाबी गरेको छ। निगमका प्रतिनिधि विनोदकुमार वैद्यले उपभोक्ताले रित्तो हात फर्कन नपर्ने गरी वितरणको व्यवस्था मिलाइएको बताए।
Shares

प्रतिक्रिया