कारोबार


निर्माण सामग्री अभाव र मूल्यवृद्धिले निर्माण क्षेत्र संकटमा, ‘निर्माण होलिडे’ घोषणा गर्न माग

निर्माण सामग्री अभाव र मूल्यवृद्धिले निर्माण क्षेत्र संकटमा, ‘निर्माण होलिडे’ घोषणा गर्न माग

नेपालखबर
चैत ३, २०८२ मंगलबार १६:५६, काठमाडौँ

निर्माण सामग्री, इन्धन र ग्यासको अभाव तथा अत्यधिक मूल्यवृद्धिले निर्माण क्षेत्र गम्भीर रूपमा प्रभावित भएको छ। 

पछिल्लो दुई महिनादेखि देशभित्र भएको निर्वाचन र अन्तर्राष्ट्रिय स्तरमा बढेको द्वन्द्वका कारण महँगी बढेको र काम समेत प्रभावित बनेको निर्माण व्यवसायीहरूको बुझाइ छ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पछिल्लो समय आन्तरिक र वाह्य कारण निर्माण क्षेत्र प्रभावित बन्दै गएको बताए।

उनकाअनुसार सरकारले आफ्नो ध्यान निर्वाचनमा केन्द्रित गर्दा निर्माण क्षेत्रमा ध्यान दिएन। सरकारले सामान्य खर्च धान्नसमेत कठिनाइ भोगिरहेको र जसको प्रत्यक्ष असर पुँजीगत खर्चमा परेको उनको भनाइ।  

उनकाअनुसार हालसम्म करिव १९ प्रतिशत मात्रै विकास खर्च भएको छ र निकट भविष्यमा पनि पुँजीगत खर्च बढ्ने सम्भावना न्युन देखिएको छ। अर्थ मन्त्रालयले न्युन बजेटमै सरकार सञ्चालन गर्न खोजिरहेको र विकासे मन्त्रालयहरूमा छुट्याइएको बजेट कटौती गर्ने प्रयास भइरहेको अनुभूति आफूहरूले गरिरहेको उनको भनाइ छ।

यस्तै, खाडी क्षेत्रमा पछिल्लो समय भएको युद्धका कारण इरान, अमेरिका लगायतका देशहरू प्रभावित हुँदा नेपालमा इन्धन आपूर्तिमा समस्या आएको सिंहले बताए। विगत १४ दिनदेखि इन्धन र अन्य आवश्यक सामग्रीको आपूर्ति अवरुद्ध जस्तै बनेको छ, जसले बजारलाई झन् संवेदनशील बनाएको उनको भनाइ छ।

अध्यक्ष सिंहले भने, ‘हालै बजारमा भएको निर्माण सामाग्री, इन्धन लगायतको अभाव र अत्याधिक रुपमा भएको मूल्यवृद्धिले निर्माण क्षेत्रलाई प्रभावित गरेको छ। विगत २ महिनादेखि नेपालमा भएको निर्वाचन र अन्तर्राष्ट्रिय रुपमा देखिएको द्वन्द्वका कारणले चाहेजस्तो निर्माणको गति अघि बढाउन सकिएको छैन। एकातिर सरकारले आफ्नो ध्यान निर्वाचनतिर केन्द्रित गर्‍यो भने वर्तमान अर्थतन्त्रले आफ्नो साधारण खर्च पनि धान्न नसक्ने अवस्था छ।

उनले थपे, ‘मुलुकमा साधारण खर्च धान्न पनि हम्मेहम्मे परिरहेको अवस्थामा त्यसको असर पुँजीगत खर्चमा पर्न गएको छ र त्यसले गर्दा विकास खर्च पनि न्युन हुन गइरहेको छ। अहिलेसम्म १९ प्रतिशतको हाराहारीमा विकास खर्च भएको छ। आगामी दिनमा पनि पुँजीगत खर्च बढ्ने सम्भावना देखिँदैन। अर्थ मन्त्रालयले कसरी हुन्छ, न्युन बजेटले सरकार चलाइरहेको छ र विकासे मन्त्रालयमा छुट्टाएको बजेट कटौती गर्न सकिन्छ भनेर प्रयास गरेको निर्माण व्यवसायीले अनुभूति गरिरहेको अवस्था छ।’

अहिले अनपेक्षित रुपमा खाडीमा भएको युद्धले इरान, अमेरिकालगायतका देशहरूमा आक्रमण हुँदा नेपालमा आउने इन्धनलगायतका सामाग्री विगत १४ दिनदेखि समान आपूर्तिमा समस्या भइरहेको छ। यसले बजार संवेदनशील भएको उनले बताए।

अध्यक्ष सिंहले निर्माण क्षेत्रमा प्रयोग हुने बिटुमिन लगायतका सामग्रीमा कृत्रिम अभाव सिर्जना गरिएको र केही व्यवसायीले सस्तोमा खरिद गरेर महँगोमा बेच्ने काम गरिरहेको आरोप पनि लगाउनु भयो। अन्तर्राष्ट्रिय बजारमा आपूर्ति अनिश्चित भएपछि स्थानीय स्तरमा मूल्य वृद्धि चुलिएको उनको भनाइ छ।

सिंहकाअनुसार विगत २–३ महिनादेखि ग्यास अभाव हुँदा निर्माण कार्य थप प्रभावित भएको छ। मजदुरहरूलाई नियमित रूपमा काममा लगाउन नसकिएको अवस्था रहेको उनको भनाइ छ।

सिंहकाअनुसार प्रशासनले बोतलमा इन्धन बिक्रीमा प्रतिबन्ध लगाएपछि पनि निर्माण कार्यमा थप समस्या सिर्जना भएको छ। इन्धन, बिटुमिन र डण्डीको मूल्य शतप्रतिशतसम्म वृद्धि भएको छ।

यस्तो जटिल परिस्थितिमा सरकारले निर्माण क्षेत्रलाई राहत दिन ‘निर्माण होलिडे’ घोषणा गर्नुपर्ने उनले माग समेत गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad