यो वर्ष पर्याप्त वर्षा नहुँदा देशभर हालसम्म २३ प्रतिशत मात्रै धान रोपाइँ भएको छ। कृषि विभागका अनुसार रोपाइँयोग्य १३ लाख ७१ हजार हेक्टर क्षेत्रफलमा असार २३ गतेसम्म तीन लाख २५ हजार हेक्टरमा मात्रै रोपाइँ भएको हो।
गतवर्ष यसै समयमा ५२ दशमलव ९५ प्रतिशत रोपाइँ भएको थियो। गत वर्षको भन्दा २९ प्रतिशत कम रोपाईं भएको छ। पर्याप्त वर्षा नहुँदा रोपाईं हुन नसकेको विभागले जनाएकाे छ।
नेपालमा जेठ अन्तिमदेखि भदौ पहिलो हप्तासम्म समेत रोपाइँ हुने गरेको तथ्याङ्क छ।
प्रदेशगत रुपमा हेर्दा सबै भन्दा कम प्रदेश २ मा १० प्रतिशत मात्रै रोपाइँ भएको छ। कम धान उत्पादन हुने कर्णाली प्रददेशमा ५१ प्रतिशत रोपाइँ सकिएको छ। त्यस्तै उच्च पहाडमा ३४, मध्यपहाडमा ३१ र तराईमा २० प्रतिशत रोपाइँ भएको छ।
प्रदेश १ मा १८ प्रतिशत रोपाइँ भएको छ भने प्रदेश ३ मा २० प्रतिशत, गण्डकी प्रदेशमा २८ प्रतिशत, प्रदेश ५ मा २९ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ४४ प्रतिशत धान रोपाइँ भएको विभाको तथ्यांकमा उल्लेख छ। अझै पनि मनसुन सक्रिय नहुँदा तराईका अधिकांश जिल्लामा रोपाइँ हुन नसकेको विभागले जनाएको छ। नेपालको अधिकांश रोपाईं मनसुनमा आधारित छ।
अहिले धान रोपाइँ हुने जमिनमध्ये ६० प्रतिशत क्षेत्रमा सिचाईं सुविधा पुगेको छैन। ४० प्रतिशतमा मात्रै यस्तो सुविधा रहेको विभागले जानकारी दिएको छ।

प्रतिक्रिया